‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पटकपटक किन पस्छ एमाले कार्यालयमै बाढी ? 

काठमाडौं ।  यो साता दुई पटक सत्तारूढ एमाले मुख्यालय  च्यासलमा मनोहराको खोलको बाढी  पस्यो । गएको बुधबार मनोहरामा उर्लिएको बाढीले एमाले मुख्यालय जलमग्न भएको तस्बिर एकाबिहानै पार्टीका उपमहासचिव तथा प्रधानमन्त्रीका सल्लाहकार रहनुभएका विष्णु रिमालले पोस्ट्याएपछि जनताले थाहा पाए ।

त्यसपछि प्रधामनन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा पार्टी कार्यालय डुबानमा परेका कारण पार्टी सचिवालय बैठक अन्यत्रै गर्ने निर्देशन दिनुभयो । किनभने प्रधानमन्त्री ओलीले त्यसको केही दिनअघि  जनताका सुझावलाई मध्यनजर गर्दै स्वस्थ्यले साथ दिएसम्म पार्टीबैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा सामाजिक सञ्जालमार्फत गर्नुभएको थियो । 

बाढी पसेपछि एमाले कार्यालय डुबानमा प-यो । कार्यालय डुबानमा परेपछि सचिवालयको बैठक अनामनगरको एक होटलमा बसेर  पार्टी जीवनमा महत्त्वपूर्ण प्रभाव पार्ने केही निर्णयहरू पनि ग-यो ।  एमालेका निर्णयहरूले थुप्रै समाचार निर्माण भए । 

यता सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मंगलबार बिहान फेरि एमाले मुख्यालय जलमग्न भयो । एक साता पनि नपुग्दै पार्टी कार्यालय दुईपटक डुबानमा पर्दा काठमाडौं उपत्यकाका थुप्रै ठाउँ जलमग्न भए ।  जलमग्न हुनुको कारण खोज्न अब ढिलाइ गर्नु हुँदैन । संयोग पनि कस्तो परेको छ भने एमाले कार्यालय पटकपटक  डुबानमा परिरहँदा सोही पार्टीका अध्यक्ष  केपी शर्मा ओली देशकै नेतृत्वमा हुनुहुन्छ । तसर्थ उहाँलाई अहिले देशको विकास पूर्वाधार निर्माणमा ठिक छ कि छैन भनेर परख गर्ने सुवर्ण अवसर प्राप्त भएको छ ।  

एमाले कार्यालय डुबान हुनुमा मनोहरामा आउने बाढीभन्दा कोटेश्वरबाट एमाले मुख्यालयमा पुग्ने पुल कारक  देखिएको छ । किनभने मनोहरामा उर्लिएको बाढीको बेगलाई पुलले रोक्छ अनि त्यो बेग एमाले कार्यालयतिर सोझिन्छ । पुललाई एक मिटर मात्र माथि उचाल्ने हो भने पनि त्यहाँको समस्या समाधान हुने विज्ञहरूले यसअघि नै बताइसकेका छन् । त्यति मात्र होइन उपत्यकाका  नदी आसपास हुने धेरैजसो डुबानमा अन्धाधुन्ध बनाइएका पुलेसा मुख्य जिम्मेवार छन् । 

अविरल वर्षालाई वास्ता नगरी टोलटोललाई रिझाउन बनाइएका संरचना (पुल) घरघरमा बाढी पस्ने मुख्य कारक हुन् । कुनै प्राविधक अध्ययनबिना लहड र भनसुनका आधारमा चोकचोक र घुम्तीघुम्तीमा बनाइएका पुल नै उपत्यका डुबानका मुख्य प्रमुख औजार हुन् भन्ने नबुझेसम्म यो समस्या बर्सेनि भोगिरहनुपर्छ । नेपालीमा उखानै छ— ‘बाह्र वर्षमा खोलो फर्कन्छ’ तर उपत्यका किन बर्सेनि डुब्छ भनेर कारण खोज्न ढिला भयो कि ? 

एउटा उदाहारण हेर्ने हो भने यो कुरा छर्लङ्ग हुन्छ । काठमाडौंको मैतीदेवी र बिजुली बजारमा दुई ठुला पुल छन् । करिब एक किलोमिटरको यो दूरीमा मात्रै साना चारवटा पुल बनाइएका छन् । एक अर्काबीच दुई सय मिटरभन्दा कम दूरीमा बनाइएका ती अव्यवस्थित पुलहरू बस्तीमा बाढी पसाल्ने उद्देश्यले बनाइएको भन्ने आरोप सत्य हो कि ? त्यहाँ त्यसरी ती पुल निर्माण गर्नु  आवश्यक थियो कि थिएन भनेर कुनै अध्ययन र विश्लेषण भएको पाइँदैन ।

पुल निर्माण यसरी गरिएको छ कि पुलेको तल्लो भाग खोला भित्र छ । त्यहाँ पुल अत्यावश्यक नै थियो भने ‘आर्क ब्रिज’ शैलीमा बनाएको भए अनामनगर आसपास डुबान नै हुँदैनथ्यो । किनभने त्यहाँ बाढीको बेग पुलले रोक्छ अनि बस्ती डुबान हुन्छ । बाढी आएको बेला त्यो दृश्य सहजै हेर्न सकिन्छ । तसर्थ उपत्यकाका डुबान समस्या समाधान गर्ने हो भने निर्माण भएका पुलहरूको पुनः संरचना आवश्यक   छ । बस्तीमा पानी पस्ने ठाउँका पुलहरूलाई आर्क  शैलीमा पुनः निर्माण गरिनु आवश्यक  छ । 

त्यस्तै आगामी दिनमा अध्ययनबिना देशैभरि कुनै पनि पुल निर्माण गरिनु हुन्न । नेताको पहुँच र कर्मचारीको स्वार्थका आधारमा देशैभरि बिनाअध्ययन पूर्वाधार निर्माण गरिएका छन् । त्रिशूली र सुनकोशी नदीमा पनि अध्ययनबिना पुलहरू बनाइएका छन् । सुनकोशी नदीमा सिन्धुली, रामेछाप र ओखलढुंगा जोड्ने एक किलोमिटरभित्र दुईवटा पुल बनाएर जात्रा देखाइएको  छ । जब कि त्यही पुल एउटा सुनकोशी र एउटा लिखुमा बनाइएको भए राज्यको आधा पैसा जोगिन्थ्यो । कतिपयले ती दुईवटा पुललाई एउटा कांग्रेस पुल र अर्कोलाई एमाले पुल भनेर नामकरण समेत गरेका छन् ।  

पार्टी कार्यालय डुबानमा परेको विषय प्रधानमन्त्री केपी शर्मा ओली अनविज्ञ रहने कुरै थिएन । आफ्नै पार्टी कार्यालय सातामा दुई दुईपटक डुबानमा परेपछि देशको पूर्वाधार विकासको स्तर   कस्तो छ भन्ने प्रस्ट पारेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा गएराति र परेको पानीका कारण डुबानमा परेको हो । एक साताको बीचमा पार्टी कार्यालय डुबानमा परेको यो दोस्रो पटक हो । 

छ दिन पहिला पनि यो कार्यालय डुबानमा परेको हो । वाग्मतीमा आएको बाढीका कारण डुबानमा परेको थियो । बुधबार बिहान परेको वर्षका कारण मनोहरामा आएको बाढी एमाले केन्द्रीय कार्यालयमा पसेको थियो । पार्टी केन्द्रीय कार्यालय डुबानमा  भोलिपल्ट बस्ने भएको सचिवालय बैठकसमेत अन्यत्रै  सार्नुपरेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : ५१ बजे