को हुन् बंगलादेशमा हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ?

काठमाडौँ । बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ । सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना हेलिकप्टरमा भारत पुग्नुभएकाे छ । उहाँ  भारतबाट अन्य देशमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने पछाडि तीनवटा महत्त्वपूर्ण पात्र रहेका छन् । जसले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन सुरु गरी १५ वर्षदेखि सत्तामा रहेको शेख हसिनाको सरकारलाई ढालेका छन् ।

नाहिद इस्लाम:  इस्लाम अहिले बंगलादेशमा जारी विद्यार्थी आन्दोलनको सबैभन्दा ठुलो चेहेरा हुनुहुन्हुछ । उहाँले आइतबार भन्नुभएकाे थियाे, ‘आज हामीले लाठी उठाएका छौँ, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ । प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन् । अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने या पदमा रहन रक्तपातको सहारा लिने।'

इस्लाम ढाका विश्वविद्यालयका विद्यार्थी हुनुहुन्छ । उहाँलाई प्रहरीले जुलाई २० मा पक्राउ गरेको आरोप छ । तर, प्रहरीले यसलाई अस्वीकार गरेको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा युनिफर्म लगाएका केही व्यक्तिले इस्लामलाई कारमा बसाउन लगाएका थिए । इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि बेहोस अवस्थामा फेला पर्नुभएकाे थियाे  । बेहोस नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उहाँले दाबी गर्नुभयाे । २६ जुलाईमा डिटेक्टिभ ब्रान्चले इस्लामलाई उपचारको क्रममा अस्पतालबाट फेरि उठायो । यस पटक, डिटेक्टिव ब्रान्चले सुरक्षाको कारणले इस्लाम र उहाँका सहयोगीलाई हिरासतमा राख्न आग्रह गरेको थियो । फेरि हिरासतमा पर्नु अघि इस्लामले जुलाई २० मा बिहान २ बजे करिब २५ देखि ३० जनाले आफूलाई जानकारी नदिई जबरजस्ती लगेका थिए । पुलिसको कुटाइबाट घाइते इस्लामको अनुहारले प्रदर्शनकारीलाई थप आक्रोशित बनाएको थियो । त्यसपछि उनीहरू झनै हिंसात्मक बने र सडकमा उत्रिए । इस्लामले सरकारले हिंसा जारी राखे संसद कब्जा गर्ने बताउनुभएकाे थियाे । 

आसिफ महमूदः  महमूद ढाका विश्वविद्यालयमा भाषा अध्ययन गरिरहेका विद्यार्थी हुनुहुन्छ । उहाँ जूनमा सुरु भएको आरक्षण विरुद्धको राष्ट्रव्यापी आन्दोलनको हिस्सा बन्नुभयाे । महमूदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गर्नुभएकाे थियाे । अन्यजस्तै उहाँलाई पनि उपचारका क्रममा अस्पतालबाटै हिरासतमा राखिएको थियो । महमूदलाई हिरासतमा राख्नुको पछाडि सुरक्षा कारण पनि बताइयो ।

जुलाई २७ मा डिटेक्टिभ ब्रान्चले थप दुई विद्यार्थी नेतालाई पक्राउ गरेको थियो । उहाँहरूको नाम सर्जिस आलम र हसनत अब्दुल्ला थियो । उनीहरुलाई डिटेक्टिभ ब्रान्चको कार्यालयमा राखिएको थियो । जुन २८ गते उहाँका परिवारका सदस्यले उाँलाई भेट्न अनुमति माग्नुभएकाे थियाे तर भेट्न दिइएन । तर यसअघि इस्लाम, महमुद र उनीहरूका सहकर्मीहरूले एउटा भिडियो सार्वजनिक गर्दै आन्दोलन फिर्ता लिन आह्वान गरेका थिए । रिपोर्टका अनुसार प्रहरीले जबरजस्ती कुटपिट गरी भिडियो बनाएको थियो । महमूदलाई इन्जेक्सन दिइएको थियो जसका कारण उहाँ धेरै दिनसम्म बेहोस रहेको बताइएको थियो ।

विद्यार्थीको गिरफ्तारीको विरोधमा उत्रिएपछि अगस्त १ मा उहाँ हिरासतबाट रिहा हुनुभएको थियो । अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपिल गर्नुभयो । हसिनाले बंगलादेश छोडेपछि आसिफ महमूदले फेरि एकपटक बयान दिनुभएको छ । उहाँले देशमा सैनिक शासन अर्थात सैन्य शासन स्वीकार नगर्ने बताउनुभएको छ । 

अबुबकर मजुमदार :  अबु बकरले शेख हसिनालाई सत्ताबाट हटाउनमा पनि भूमिका खेल्नुभएको छ । उहाँ ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुनुहुन्छ । फ्रन्ट लाइन डिफेन्डरका अनुसार उहाँ नागरिक अधिकार र मानव अधिकारमा पनि काम गर्नुहुन्छ । ५ जुनमा आरक्षणमा उच्च अदालतको निर्णय पछि, बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभाव विरुद्ध विद्यार्थी आन्दोलन सुरु गर्नुभएको थियो । उहाँले 'स्वतन्त्रता सेनानी' का आफन्तहरूलाई सरकारी जागिरमा दिइने आरक्षणको कडा विरोध गर्नुभयो ।

जुलाई १९ को साँझ धानमण्डी इलाकाबाट केही व्यक्तिले अबुलाई लिएर गएका थिए । त्यसपछि धेरै दिनसम्म उहाँको कुरा सुनिएन । दुई दिनपछि उहाँलाई उठाइएका ठाउँकै सडकमा छाडियो । पछि अबुले मिडियालाई प्रहरीले उहाँलाई कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब दिएको बताउनुभयो । उहाँले आन्दोलन फिर्ता लिन अस्वीकार गर्दा प्रहरीले कुटपिट गरेको र घाइते भएपछि नगर अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि जुलाई २६ मा प्रहरीले उहाँलाई फेरि हिरासतमा लिएको थियो ।

यसपटक उहाँसँगै आएका मानिसहरूले आफूलाई ढाका महानगरीय प्रहरीको डिटेक्टिभ विंगका अफिसर भएको परिचय दिए । त्यहाँ उपस्थित मानिसहरूले उहाँलाई शान्ति भंग गरेको आरोपमा पक्राउ गरिएको बताएका थिए ।

तिनै विद्यार्थी नेताहरूले अब हसिनाले राजीनामा दिएर देश नै छोडेपछि सेनाको सत्ता स्वीकार नहुने भन्दै नयाँ सरकार गठनको माग गरेका छन् । स्थानीय मिडियाका अनुसार उनीहरूले नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको माग गरेका छन् । यूनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाउनुभएको थियो । 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १२ : ५९ बजे