‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

उच्च बार ललितपुरको चुनावमा एमाले र माओवादीबीच तालमेल 

ललितपुर । उच्च अदालत बार एसोसिएसन पाटनको नयाँ नेतृत्वका लागि नेकपा एसले ठुलो भाग खोज्दा सबै पदबाट हात धुनुपर्ने भएको छ।   वामपन्थीहरू मिलेर जानका लागि भएको पहल एस समर्थक कानुन व्यवसायीका कारण भाँडिएको छ। उच्च अदालतको बारमा  एक्लै जित्दै आएको एमाले निकट कानुन व्यवसायीहरूको संगठन पीपीएलएले एसलाई पनि समेट्ने प्रयास गरेको थियो। तर एसले पदाधिकारीसहित पाँच सिटमा दाबी नछोडेपछि अन्ततः एमाले निकट कानुन व्यवसायी र माओवादी निकट कानुन व्यवसायीहरूबीच  तालमेल भएको छ। 

उच्चमा एमाले र माओवादीनिकट वकिलहरूबीच गठबन्धन भएको छ । उक्त गठबन्धनविरुद्ध कांग्रेस र नेकपा एसनिकट वकिल मिलेर प्यानल घोषणा गरेका छन् । स्रोतका अनुसार एमाले र माओवादीबीच ललितपुर जिल्ला बारमा समेत तालमेल भएको छ। 

उच्चमा आगामी भदौ १ गते हुने निर्वाचनको लागि मंगलवार दुवै प्यानलको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

एमालेनिकट प्रगतिशील कानुन व्यवसायी स‌गठनका तर्फबाट अध्यक्षमा विदुर प्रसाद ढुंगानाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै कांग्रेसनिकट डिएलएबाट गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

उच्च अदालत बार पाटनमा सधैँ एमालेनिकट कानुन व्यवसायीले जित्दै आएका छन् । हाल उच्च बारको अध्यक्ष शान्तिराम खतिवडा छन् । उच्च बारमा एमाले निकट करिब दुई हजारभन्दा बढी कानुन व्यवसायी  छन् । त्यसै गरी कांग्रेस निकट करिब १ सय ५०  र माओवादी निकट १ सय जति कानुन व्यवसयी रहेको बताइएको छ। 

एमालेले यस पटक माओवादीनिकट सुशीला चौधरीलाई सहसचिव र तिलकबहादुर पाण्डेलाई एक सदस्य दिएर आफ्ना प्यानलमा समेटेको छ । बाँकी सबै पदमा एमालेनिकट वकिलहरूको उम्मेदवारी दर्ता भएको छ ।

एमालेनिकटबाट उपाध्यक्षमा विष्णु ऋषि कोइराला,सचिवमा प्रबल शर्मा र कोषाध्यक्षमा भूपाल बस्नेतको उम्मेदवारी परेको छ ।

त्यस्तै कांग्रेस र समाजवादीबाट उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया र सचिवमा देवीप्रसाद शर्मा तथा लक्ष्मी रेग्मीको उम्मेदवारी परेको छ । 

उच्चमा एक पदाधिकारी र एक सदस्य माओवादीलाई दिने सहमतिसँगै माओवादीको बाहुल्य रहेको ललितपुर बारमा पनि सहमति भएको छ। उच्चमा जस्तै ललितपुर बारमा एमालेले एक पदाधिकारी र एक सदस्य पाउने सहमति भएको उच्च बारका पार्षद उम्मेदवार कुमार घिमिरेले जानकारी दिए। ललितपुर बारमा करिब ७००  कानुन व्यवसायी मतदाता रहेका छन् । 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ११ : ०० बजे