हसिनाले देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उहाँकी बहिनी शेख रेहाना पनि साथमा हुनुहुन्थ्याे । हसिना हेलिकप्टरमा भारतीय सहर अगरतला पुग्नुभएकाे छ ।

प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताउनुभएकाे छ । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको मिडिया रिपोर्टमा बताइएको छ । 

बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौँ प्रदर्शनकारीले आक्रमण गरेका थिए । बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।

विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् ।

गत महिनादेखि जारी रहेको सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा झन्डै ३०० जनाको मृत्यु भएको छ । आइतबार मात्र कम्तीमा ९० जनाको मृत्यु भएको छ ।
 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ४८ बजे