आफू र आफ्नो परिवारको जीवन निर्वाहका लागि संसारका प्रत्येक व्यक्ति कुनै न कुनै पेसा वा व्यवसायमा संलग्न हुने गर्दछ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न र पेसागत वा व्यावसायिक रूपले सफलता हासिल गर्नका लागि पेसागत दक्षता‚ प्रतिस्पर्धात्मक व्यावसायिक क्षमता तथा गुणस्तरीय सेवा अनिवार्य सर्तहरू हुन्, जुन सीप विकासबाट मात्र सम्भव हुन्छ । व्यावसायिक तथा सीप विकास तालिमले कुनै पनि व्यक्तिले गर्नुपर्ने विशिष्ट कामलाई प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक पर्ने ज्ञान, क्षमता र व्यावहारिक अभ्यासबाट सुसज्जित वा निपुण बनाउन सहजीकरण गर्ने कार्य गर्दछ । अतः प्रत्येक व्यक्तिको जीवनमा व्यावसायिक तथा सीप विकासले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ ।
सूचना तथा प्रविधिको क्षेत्रमा भएको विकास तथा तीव्र औद्योगीकरणका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा सीपयुक्त तथा दक्ष जनशक्तिको माग उच्च रहँदै आएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण हाल विश्व अर्थतन्त्रमा देखिएको शिथिलताले गर्दा केही मात्रामा रोजगारीका अवसरहरू घट्न गए पनि कालान्तरमा सीपयुक्त जनशक्तिको माग बढ्ने निश्चित छ । वल्र्ड इकोनोमिक फोरमद्वारा सन् २०२३ मा प्रकाशित अध्ययन प्रतिवेदन ‘फ्युचर अफ जब रिपोर्टस’ ले अन्तर्राष्ट्रिय श्रम बजारको अवस्था, रोजगारीको अवसर, सीपयुक्त जनशक्तिको भावी मागलगायत विषयमा गहन अध्ययन तथा विश्लेषण गरेको छ । खासगरी सूचना तथा प्रविधिको क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको विकासका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा व्यावसायिक सीप तथा रोजगारीको क्षेत्रमा सन् २०२७ सम्ममा पर्न सक्ने प्रभाव एवं परिवर्तनका बारेमा प्रक्षेपणसमेत गरिएको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार सन् २०२७ सम्ममा विश्व बजारमा क्लर्क, बैंक टेलर, क्यासियर, डाटा इन्ट्री क्लर्क, टिकेटिङ, एकाउन्टिङ आदि जस्ता रोजगारीमा व्यापक कटौती हुने र शिक्षा, कृषि, डिजिटल व्यवसाय जस्ता क्षेत्रमा रोजगारीको अवसरमा व्यापक वृद्धि हुने छ । उक्त प्रतिवेदनमा उल्लेख भए अनुसार आउँदो पाँच वर्षभित्रमा शिक्षा क्षेत्रमा थप १० प्रतिशत सीपयुक्त श्रमशक्तिको माग बढ्ने, जसअन्तर्गत व्यावसायिक सीप, उच्च शिक्षा, विश्वविद्यालयहरूमा मात्र थप ३० लाख प्रशिक्षक लगायत जनशक्तिको माग बढ्ने प्रक्षेपण गरिएको छ भने कृषि प्राविधिक, कृषियन्त्र तथा औजार अपरेटरजस्ता जनशक्तिको मागसमेत ३० प्रतिशतले थप हुने प्रक्षेपण गरेको छ ।
यस्तैगरी ई–कमर्स, डिजटल मार्केटिङ, डेटा व्यवस्थापन जस्ता क्षेत्रमा थप ४० लाख जनशक्तिको माग हुने उल्लेख गरिएको छ । यसका साथै अन्तर्राष्ट्रिय बजारमा निर्माण, बालबालिका तथा वृद्धवृद्धा हेरचाह, खाद्य प्रशोधन, सञ्चार, इन्धन प्रशोधन, इलेक्ट्रोनिक्स लगायत क्षेत्रमा समेत दक्ष एवं सीपयुक्त जनशक्तिको माग वृद्धि हुने प्रक्षेपण गरिएको छ । सन् २०२७ सम्ममा १० मध्ये ६ जनालाई अनिवार्य रूपमा व्यावसायिक तथा सीप विकास तालिम आवश्यक पर्ने समेत उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण, २०७४/७५ अनुसार नेपालको जनसंख्याको बनोटमा उत्पादनशील उमेर (१५–६४) समूहको जनसंख्या ७१.५ प्रतिशत रहेको छ भने बेरोजगारी दर ११.४ प्रतिशत (१०.३ प्रतिशत पुरुष र १३.१ प्रतिशत महिला) देखिन्छ । श्रम शक्तिको ३६.५ प्रतिशत औपचारिक क्षेत्रमा संलग्न रहेका छन् भने श्रम शक्ति सहभागिता दर ३८.५ प्रतिशत रहेको छ । नेपालको आन्तरिक श्रम बजारमा माग भए बमोजिमका सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रहरूबाट इन्जिनियरिङ, कृषि, सेवा, पर्यटन, खाद्य प्रशोधन, निर्माण, होजियरी तथा तयारी पोसाक लगायत क्षेत्रहरूमा आधारभूत तहदेखि सीप अभिवृद्धि तहका तालिमहरूका साथै प्रि–डिप्लोमा तथा डिप्लोमा तहको प्राविधिक शिक्षाका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
यसका अलावा प्रशिक्षक प्रशिक्षण, उद्यमशीलता विकास लगायत व्यक्तिगत क्षमता विकाससम्बन्धी विविध तालिमहरू समेत सञ्चालन हुने गरेका छन् । अर्कोतर्फ वैदेशिक रोजगार लक्षित विभिन्न प्रकारका आधारभूत सीप तालिमहरू समेत सञ्चालन हुँदै आएको पाइन्छ । यद्यपि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय र नतिजामुखी तालिमका सम्बन्धमा भने विभिन्न सरोकारवालाहरूबाट विविध सवालहरू उठान हुँदै आएको देखिन्छ भने अर्कोतर्फ नेपालको आन्तरिक श्रम बजारमा माग भए बमोजिमका सीपयुक्त जनशक्ति पाउन मुस्किल भएको गुनासो उद्योगी व्यवसायीहरूको रहेको छ ।
खासगरी सुनचाँदी तथा गरगहना बनाउने व्यवसाय, निर्माण क्षेत्रमा यान्त्रिक औजार चलाउने, इलेक्ट्रिसियन, प्लम्बिङ, टायल–मार्बल फिक्सिङ, स्टिल तथा ग्रिल उद्योग, इँटाभट्टा, फर्निचर, टेलरिङ, कवाडी व्यवस्थापन, केशकर्तन आदि कार्यहरू, जहाँ मासिक २५ हजारदेखि १ लाखसम्म कमाउने यी क्षेत्रमा सीपयुक्त जनशक्तिको अभाव रहेको पाइएको छ । रोजगारदाताहरूले उल्लिखित कामका लागि आवश्यक पर्ने अधिकांश श्रमिकहरू छिमेकी राष्ट्रहरूबाट आपूर्ति गरेको पाइएको छ । कोर्सेरा नामक एक अन्तर्राष्ट्रिय संस्थाद्वारा प्रकाशित ग्लोबल स्किल प्रतिवेदन, २०२४ अनुसार सीपका हिसाबले विश्वमा नेपाल १०८ औँ स्थानमा स्थानमा रहेको देखियो । दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान–८४, श्रीलंका–८६, भारत–८७, भुटान–८९, बगलादेश–९४औं स्थानमा रहेका छन् । सबैभन्दा पुछार १०९ औँ स्थानमा सुडान रहेको छ ।
यसरी एकातर्फ स्वदेशभित्र आवश्यक सीपयुक्त तथा दक्ष कामदारको अभाव रहेको गुनासो सुनिन्छ भने अर्कोतर्फ आन्तरिक श्रम बजारमा रोजगारीको अवसर नभएको भन्दै युवा जनशक्ति वैदेशिक रोजगारमा जाने प्रवृत्ति बढ्दै गएको पाइन्छ । यी जनशक्तिलाई सीप सिकाएर दक्ष बनाई पठाउन नसक्दा अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरूले अत्यन्त सस्तोमा श्रम बेचिरहेको अवस्था पनि रहेको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार गत तीन आर्थिक वर्षभित्र वैदेशिक रोजगारीमा गएका कुल २१ लाख ८२ हजार श्रमिकहरूमध्ये सीप नसिकेका अदक्ष मात्रै ६ लाख ३० हजार ६८९ जना, सामान्य सीप सिकेका १३ लाख ३० हजार ७५८ जना रहेका थिए भने अर्धदक्ष १ लाख ७५ हजार, व्यावसायिक सीपयुक्त ४ हजार ६०५ जना र उच्च दक्ष १ हजार ११४ मात्र रहेका थिए । वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउन सकिएमा प्रतिवर्ष प्राप्त हुँदै आएको १४ खर्ब हाराहारीको विप्रेषण रकममा उल्लेखनीय वृद्धि हुन सक्थ्यो । यस हिसाबले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यक पर्ने सीपयुक्त जनशक्तिको उत्पादन गरी राष्ट्रले प्रचुर मात्रामा लाभ लिने अवसर पनि रहेको छ ।
समृद्ध नेपाल र सुखी नेपालीको यात्रा जारी छ । समृद्धि र सुखी नेपालीको सपना बाँडेर समग्र नेपाली समाजलाई अगाडि बढाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभए सँगै यो यात्राले तीव्रता पाउनेमा अब कुनै शंका छैन । निराशाको कुहिरोभित्र छट्पटिइरहेका नेपालीहरूलाई आशाको झिनो किरणसम्म देखाउन सक्ने नेताको खडेरी परेको अवस्थामा उहाँले समृद्ध नेपाल र सुखी नेपालीको सपना मात्र देखाउनु भएन बल्की यो सपनालाई साकार बनाउन विगतका दिनहरूमा उहाँको नेतृत्वको सरकारले इमान्दारीपूर्वक चालेका कदमहरूले नेपालीहरूमा नयाँ उत्साह र ऊर्जा प्रवाह गरेको छ । यसलाई मूर्त रूप दिन यो यात्रामा सहभागी हुनेको संख्या दिनप्रति दिन थपिँदै पनि गएको छ । समृद्धिका लागि सीप अनिवार्य सर्त हो । सीपले प्रत्येक व्यक्तिलाई आफ्नो कार्यमा दक्ष बनाउँछ र दक्ष व्यक्तिले छिट्टै जीवनमा सफलता पाउन सक्दछ । सफलता नै सुखको आधार हो । अतः समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सपनालाई सफलीभूत बनाउन प्रत्येक नेपालीलाई सीपयुक्त बनाउन महत्त्वपूर्ण कदमहरू चाल्नुपर्ने देखिन्छ ।
यसका लागि सुरुआती रूपमा सानो प्रयासमार्फत पनि परिवर्तनको सुरुआत गर्न सकिन्छ । उदाहरणका लागि विसं. २०४६ को जनआन्दोलन अगाडिसम्म माध्यमिक विद्यालयहरूमा पूर्व व्यावसायिक शिक्षाको पठनपाठन हुने गर्दथ्यो । तत्कालीन अवस्थामा आन्तरिक श्रम बजारमा प्रवेश गर्नुपूर्व विद्यार्थीहरूलाई व्यावसायिक सीप तथा उद्यमशीलता विकासतर्फ आकर्षित गर्ने र उत्प्रेरणा जगाउने उद्देश्यले व्यावहारिक अभ्याससहित यो विषयको पढाइ हुने गर्दथ्यो । यो विषयले निरन्तरता पाउन नसक्नुका कारणले पनि सीप तालिममा युवाहरूको आकर्षणमा कमी आएको हुन सक्छ । हाल माध्यमिक तहमा सामाजिक शिक्षा अन्तर्गत वैदेशिक रोजगारको विषयमा पठनपाठन हुने गरेको छ । यो सँगसँगै व्यावसायिक सीप तथा उद्यमशीलता विकासमा विद्यार्थीहरूलाई उत्प्रेरित हुने गरी छुट्टै पाठ्यक्रमको विकास गरी पढाइका साथसाथै सम्भव भएसम्म आर्थिक हिसाबले विपन्न परिवारको मागका आधारमा इच्छुक विद्यार्थीहरूलाई आधारभूत सीप तालिमको समेत व्यवस्था हुन सके कम्तीमा पनि खाडी मुलुकमा रोजगारीको लागि लाग्दै आएको लाइनमा केही मात्रामा भए पनि कमी ल्याउन सकिन्थ्यो होला ।
पछिल्ला वर्षहरूमा खाडी, मलेसिया, कोरिया, जापान, इजरायल लगायत मुलुकमा रोजगारीका लागि र विभिन्न मुलुकहरूमा उच्च शिक्षा अध्ययनका लागि लाइन लागेरै वार्षिक आठ लाखभन्दा बढी युवाहरू विदेसिएको समाचारहरू पढेको र सुनेकै हो । यस हिसाबले हाम्रा गाउँघरहरू रित्तिँदै छन् । नेपाल बसेरै केही गर्छु भन्ने युवाहरूमा व्यावसायिक सीप तथा उद्यमशीलतासम्बन्धी ज्ञान तथा अनुभवको कमी छ । व्यावसायिक सीपसहितको दक्ष युवाबिना समृद्ध नेपालको निर्माण सम्भव होला र ? यसबारेमा हामी सबै बेलैमा सचेत एवं संवेदनशील हुनु जरुरी छ । अतः विज्ञान तथा प्रविधिको पछिल्लो विकासका कारण अन्तर्राष्ट्रिय बजारमा सीपयुक्त जनशक्तिको प्रकृति र मागमा आउने परिवर्तनलाई मध्यनजर गरी र आन्तरिक श्रम बजारको हकमा सीप तालिमको आवश्यकता पहिचान गरी उच्च प्रविधियुक्त तथा गुणस्तरीय व्यावसायिक सीप तालिमलाई नतिजामुखी हुने गरी तत्कालै व्यवस्थापन गर्नु आवश्यक देखिएको छ । यसका लागि विद्यमान नीति तथा कानुनहरूमा समयसापेक्ष परिमार्जन, तालिम प्रदायक संस्थाहरूको क्षमता अभिवृद्धि र नतिजामुखी कार्यान्वयनतर्फ सम्बद्ध सबैको ध्यान जानु जरुरी देखिन्छ । यसो हुन सकेमा समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई विपनामा बदल्न धेरै समय कुर्नुपर्ने छैन ।
प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार २ : ०३ बजे
प्रतिक्रिया