साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वैदेशिक रोजगार बचतपत्रमा न्यून आकर्षण

काठमाडौं । वैदेशिक रोजगार बचतपत्रमा न्यून आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थादेखि गैरबैंकिङ क्षेत्रको  तुलनामा ब्याजदर उच्च भए पनि झन्झटिलो प्रक्रियाका कारण बचतपत्रको बिक्री लक्ष्यभन्दा धेरै कम भएको हो । 

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी १५ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र खरिद गर्न आह्वान भएकामा ७६ करोड २३ लाख रुपैयाँको मात्र बिक्री भएको छ । जुन लक्ष्यको ४ दशमलव ९ प्रतिशत मात्र हो । 

सरकारको आन्तरिक ऋण परिचालनमा योगदान पु-याउन  विगत १० वर्षदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री गरिँदै आइएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत शून्य दशमलव ०६ प्रतिशत मात्र रहेको केन्द्रीय बैंकले गरेको अध्ययनले देखाएको छ । सरकारले बिक्री गर्ने यस्तो ऋणपत्र नबिकेपछि यसको कारण खोज्न राष्ट्र बैंकले अध्ययन गरेको थियो । सो अध्ययनका क्रममा अधिकांशले यसबारे जानकारी नै नभएको तथा झन्झटिलो भएको उल्लेख गरेको प्रतिवेदनमा उल्लेख छ । 

राष्ट्र बैंकले गरेको अध्ययनअनुसार वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेन्टका १६ प्रतिनिधिहरूसँग गरिएको इमेल सर्वेक्षणअनुसार ६२ दशमलव ५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी राखे पनि  खरिदमा सक्रियता देखाउने गरेका छैनन् ।   

प्रतिवेदनका अनुसार काठमाडौंस्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसँग सम्पन्न टेलिफोन सर्वेक्षणअनुसार २४ दशमलव ३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएको र १२ दशमलव ८ प्रतिशतले सोधपुछ गर्ने गरेको देखाइएको छ । 

वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेन्टसँग इमेल सर्वेक्षण गरिएको पनि केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र १२ दशमलव ५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको बताएका छन् । जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद गरेको नदेखिएको सोही प्रतिवेदनमा उल्लेख छ । जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९ दशमलव ५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२ दशमलव ५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने कारण उल्लेख गरेको प्रतिवेदनले उजागर गरेको छ । 

बचतपत्रको बिक्री एजेन्टका १६ प्रतिनिधिहरूसँग गरिएको इमेल सर्वेक्षणअनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा चासो मात्रै राखेको उल्लेख छ । ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसँग गरिएको टेलिफोन सर्वेक्षणअनुसार २४ दशमलव ३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा थाहा पाएको बताएका थिए पनि  १२ दशमलव ८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका थिए । 

उक्त अध्ययन प्रतिवेदनले वैदेशिक रोजगार बचतपत्र प्रवर्द्धनका लागि नीतिगत तथा प्रक्रियागत सुधार र प्रचारप्रसारमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुका साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउन सके मात्रै यसमा आकषर्ण बढ्न सक्ने विषयलाई प्रतिवेदनले जोड दिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १ : ५० बजे