‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चलचित्र ‘नमेटिने घाउ’ को फस्टलुक्स पोस्टर सार्वजनिक

काठमाडौँ । अभिनेता रमित ढुंगानाको  निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ' को फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।

भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र  ‘नमेटिने घाउ’को निर्देशक ढुंगानाले सोमबार पोस्टर सार्वजनिक गरेका हुन् ।

पोस्टरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ,प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत चलचित्रका मुख्य कलाकारहरूलाई देख्न सकिन्छ ।

अभिनेता रमित ढुंगानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका बाहेक पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गर्नुभएकाे छ ।

चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेख्नुभएकाे हाे ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।

चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाललगायत पुराना अनुहारसहित मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । चलचित्रमा नीरज कँडेलको छायांकन,बनिश शाहको सम्पादन ,ओम सुनारको संगीत र किरण ढकालको एक्सन रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १२ : ५७ बजे