‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रज्ञा प्रतिष्ठानबाट राई भाषाको ‘खुवालुङ’ पत्रिका प्रकाशन सुरु

काठमाडौं । ‘सबै भाषा, सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारालाई आत्मसात गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले ‘खुवालुङ’ पत्रिका प्रकाशन सुरु गरेको छ । प्रतिष्ठानले राई जातिमा बोलिने भाषाहरूको साझा पत्रिका  खुवालुङ प्रकाशन सुरु गरेको हो ।

राई समुदायमा बोलिने २६ भन्दा बढी भाषालाई समेट्ने गरी खुवालुङ प्रकाशन सुरु गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले बताउनुभयो । यसअघि थारु भाषाको लवाङगी, मगर भाषाको मिक, भोजपुरी भाषाको मुहुवालगायत पत्रिका प्रकाशन सुरु गरिसकेको प्रतिष्ठानले जनाएको छ ।

खुवालुङको पहिलो अंकमा बान्तावा, चाम्लिङ, दुमी, नाछिरिङ, कोयी, बायुङ, वाम्बुले, पुमा, खालिङ, दुङ्माली, जेरो, लोहोरुङ, छुलुङ, पिल्मो र साम्पाङ गरी १५ भाषाका लेख रचनाहरू प्रकाशित छन् । प्राज्ञ राजन मुकारुङ प्रधान सम्पादक रहेको खुवालुङ पत्रिकाका कार्यकारी सम्पादक तिलक चाम्लिङ रहनुभएको छ । सम्पादक मण्डलमा निराजन बतास, तेजमायाँ दुमी, कुम्भराज राई र दिवस लोहोरुङ रहनुभएको छ ।

कार्यकारी सम्पादक चाम्लिङका अनुसार खुवा भनेको चाम्लिङ राई भाषामा नदीको पानी र लुङ भनेको ढुंगा हुन्छ । यसको अर्थ पानीको ढुंगा हुन्छ । खुवालुङ किराती संस्कृतिको प्रतीक हो । भोटेकोशी, तामाकोशी, लिखु, दूधकोशी, अरुण, तमोर लगायत नदीहरू मिसिएर बनेको सप्तकोशीको बीचमा विशाल सांस्कृतिक ढुंगो रहेको छ ।

उदयपुर, भोजपुर र धनकुटाको संगमस्थलमा रहेको त्यही ढुंगालाई खुवालुङ भनिन्छ । किराती धामीहरू मुन्दुमी यात्रा गर्दा खुवालुङ पुग्छन् । यसबारे किराती समुदायमा थुप्रै मिथकहरू छन् । मुन्दुमी व्याख्या अनुसार खुवालुङ एउटा शक्तिढुंगो हो, जसलाई प्राचीन बसाइँसराइको क्रममा पहाड र तराईको भूभाग छुट्याउने सिमाना मानिन्छ । खुवालुङलाई थारू, धिमाल तथा राई, लिम्बू, सुनुवारका पुर्खा छुट्टिएको जलभूमि पनि मानिन्छ ।

प्रतिष्ठानको सामाजिक शाखा विभागका प्रमुख डा. कौशिला रिसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, लेखक तारालाल श्रेष्ठ, गुरुङ सुशान्त, नारायणी देवकोटा लगायतले शुभकामना दिनुभएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ६ : ४७ बजे