आमरूपमा आजको सचेत मानिस राजनीतिकसत्ताको नजिकै रहेको हुन्छ । दलीय आस्थाका हिसावले मानिसहरु कांग्रेस, कम्युनिष्ट, माओवादी, राप्ररा, रास्वपा आदि बनिरहेका हुन्छन् । किन हामीहरु यसरी दलीयरुपमा विभाजित छौं ? हामी कुन अर्थमा र किन फरक छौँ भन्ने कुराको जवाफ दलीयकर्मीले नै दिन सक्नुपर्छ । दलीय आस्था र सम्बद्धतानुसार कुनै पनि दलकर्मीले परस्परमाझ आफूलाई अलग्गै उभ्याउन सक्नुपर्छ । उभिन सक्दैन र उस्तैउस्तै मात्र भए किन फलानो दलसम्बद्ध नेता वा कार्यकर्ता भए बन्ने कुराको बोध र जावाफ दुबै दिने पर्ने हुन्छ । यस आलेखमा एमालेजनहरुले आफु एमाले किन बने र एमाले भएपछि गर्नुपर्ने न्यूनतम कार्यभार के–के हुनसक्छन् भन्ने विषयमा चासो र चर्चा गर्ने जर्मको गरिएको छ ।
प्रतिनिधिपात्र
नेपाली समाजको विकसित ढाँचा, यहाँको मौलिक विशेषता र आवश्यकतालाई सामाजिक मनोविज्ञानका दृष्टिकोणले बुझ्न सक्ने शक्ति एमाले । किटानीका साथ जनताको बहुदलीय जनवादमार्फत आफ्नो राजनीतिक–वैचारिक प्रस्थान, सामाजिक–आर्थिक वर्गाश्रित मुद्दाको पहिचान र यसको सहीपनका साथ सर्वत्र कसिलो पकड राख्ने एमाले । आफ्नो जीवनमा प्रयोगसिद्ध रहँदै आएको जनताको बहुदलीय जनवादको सैद्धान्तिक आलोकमा उभिएको प्रतिनिधिमूलक संगठनात्मक संरचना र तदनुरूप निर्दिष्ट विराट सञ्जाल सक्रिय भएको शक्ति एमाले । अर्थात् राजनीतिक सत्ताका हिसाबले नेपाली समाजको मेरुदण्ड शक्ति नेकपा (एमाले) ।
पछिल्लो ऐतिहासिक राजनीतिक लडाइँको वैचारिक नेतृत्व गर्ने पार्टी नेकपा (एमाले) । लोकप्रिय जनमतका हिसाबले देशको सर्वाधिक ठूलो पार्टी एमाले । समाजवाद उन्मुख विद्यमान संविधान निर्माण गर्ने र यसलाई अक्षरशः कार्यान्वयनमा ल्याउने तागत भएको पहिलो र गर्विलो शक्ति एमाले । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय जनविश्वाससहित शासनाधिकारको बागडोर सम्हालेको पार्टी एमाले । संघीयसत्ताको नेतृत्व गर्ने पार्टी एमाले । प्रादेशिक संरचनाअन्तर्गत बहुमत प्रदेशको नेतृत्व गर्ने एमाले । देशभरिका अधिकांश पालिका चलाउने एमाले । कयौँ विषयोपर सुझबुझ सम्पन्न र जनअनुमोदित शक्ति एमाले । अर्थात् राजकीय सत्ताका हिसाबले देशको मियो शक्ति एमाले ।
यो गर्विलो पृष्ठभूमिमा उभिएका र उभिन पाउने अवसर आर्जन गरेका हामी एमालेजन, कयौँ नेता र कार्यकर्ताहरूले राजनीतिक लडाइँको विद्यमान चरित्र, संस्थागत र व्यक्तिगत रूपमा बढ्दो अन्तरविरोध, समाजको वस्तुगत अवस्था, आवश्यकता र आफ्नो भूमिकालाई सहीपनका साथ ठम्याउन, उभ्याउन र परिचालन गर्न नसक्दा वैकल्पिक शक्तिका नाउँमा कुनै तेस्रो अनुहार आकर्षित हुनु र क्रमशः सल्याङबल्याङ सल्बलाहट सुरु हुनुलाई स्वाभाविक ठान्नुपर्छ । समाजमा कुनै पनि शर्त र अर्थमा हाम्रो आकर्षण घट्यो र अयोग्यता देखिने तहमा अकर्मण्यता बढ्यो भने अर्कोले स्पेस पाउने हो भन्ने सच्चाइलाई आत्मसात् गर्नुपर्छ । एकको ठाउँमा अर्कोको आगमन र प्रतिस्थापन अथवा उदय र अस्त कसरी भएको छ ? विगतका कतिपय सामाजिक र राजनीतिक घटनाक्रमले सचित्र पुष्टि गरेको छ । यो नै प्रयोगमा आधारित एक मात्र विज्ञान हो, मनोविज्ञान हो । यसको सूक्ष्म अध्ययन हुन जरुरी छ ।
प्रतिनिधि प्रवृत्ति
जिम्मेवारीबोधको तहमा ओर्लने हो एमाले नाउँको जहाजमा सवार हामी अधिकांश नेता कार्यकर्ताको दैनन्दिन देखिने वा भेटिने जीवन, जीवन व्यवस्थापन, जीवनशैली, सभ्याचरण, आचरण विकास आदिको पक्ष समाजले पछ्याउने, साथीभाइले अनुसरण गर्ने, सर्वसाधारणले प्रशंसा गर्न सक्ने बन्न सकेको छैन । सार्वजनिक महत्त्वका साथ निर्वाध उभिन सक्ने बनेको छैन ।
यदाकदा राजनीतिक उपस्थितिलाई परस्पर प्रतिशोध, आग्रह, डाहा, कुण्ठा आदिमा प्रस्तुत गर्नेदेखि लिएर व्यक्तिगत जीवनमा प्रयुक्त हुने लाभ–हानिको गणितमा गणना गर्ने प्रवृत्ति मौलाएको छ । वडाध्यक्षदेखि संघीय माननीयसम्मको दौडको कुरा होस् वा माननीयका स्वकीय नियुक्तिदेखि राजदूतसम्म ! अनुचित ढंगले प्रभावमा ल्याउने पात्रविशेष प्रवृत्ति आमचलनजस्तै भएको छ, कतिपय सन्दर्भमा ह्वात्तै मौलाएको पनि आभास हुन्छ ।
राजनीतिक जीवनमा रहेको योगदानका अतिरिक्त चाहिने विषयगत ज्ञान र आवश्यकताका हिसाबले निजको योग्यता–अयोग्यता, उचित–अनुचित आदि पक्ष गौण बनिदिँदा पहलमान शैलीमा देब्रे–दाइने कुहुनाको बलमा राजकीय सत्ता आर्जन गर्ने, रणनीतिक महत्त्वका साथ केही नवीन कार्यसम्पादन गर्नेभन्दा पनि सेवा सुविधातर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने र प्राप्त हैसियतको आडमा सोझा, निमुखा र इमानदार कार्यकर्ताको पंक्तिलाई धम्क्याउने, थर्काउने र हप्कीदप्कीसम्म गर्ने गरेका दृश्यहरू घरिघरि आँखैअघि नाच्ने गर्छन् । यो राजकीय सत्ताको दोहन हो । शान, मान र स्वाभिमानका लागि राजकीय सत्ता प्राप्तिका लागि उद्यत पंक्तिले गर्ने यस्तै यस्तै हो । हामीले आफूलाई स्वाभाविक र सहज बनाउन जरुरी छ । राजकीय सत्तामा रहँदा वा नरहँदा अर्थात् जस्तोसुकै अवस्थामा पनि समाजले पत्याइदिओस् ! पत्यारिलो हुन जरुरी छ ।
दलगत प्रवृत्ति
यसै पनि संघीयता कार्यान्वयनको अभ्यासमा छौँ, अभ्यस्त हुने क्रममा छौँ । दलीय व्यवस्थाका पाइलटहरू राजनीतिक दलहरू नै हुन् । हिजोको एउटा परिवेश र सोहीअनुसार बनेको मेकानिजमबाट चलेका राजनीतिक दलको आन्तरिक जीवनमा समेत सुधार जरुरी देखिन्छ । सुधारको प्रयासअन्तर्गत आवश्यक मात्रामा विषयवस्तुको अध्ययन, मनन र कार्यान्वयन जरुरी छ ।
दलीय जीवनमा आन्तरिक लोकतन्त्रको अभ्यास आरम्भ गर्ने र यसको सैद्धान्तिक मानक निर्माण गर्ने पार्टी नै एमाले हो । नेतृत्वकारी पद आर्जनका लागि निर्वाचन, निर्वाचनको खुला बहस, नेतृत्व विकास प्रक्रियाको प्रोत्साहन, यसमा सदस्यहरूको अनिवार्य सहभागिताको पक्षसँगको यो अभ्यास र अभ्यासले दिने नतिजाका बीचमा बेमेलको अवस्था विकास भएको छ । नेतृत्वको जीवनशैलीको पारदर्शिता र जवाफदेहिताको पक्ष धुमिल बन्दै गएको छ । यसकारण पनि पार्टी सदस्य र जनताबीच विश्वासको खाडल पुरिनु र भरिनुको सट्टा फराकिलो हुँदै गएको छ ।
समग्र जनसंख्याको प्रतिनिधिमूलक सहभागिता र समावेशितालाई मूर्त तुल्याउन समाज विकासक्रममा पछाडि पारिएको तप्का महिला, युवा र सीमान्तकृत समुदाय लगायत विविध समूहको सहभागितालाई प्रोत्साहित गर्नु जरुरी छ । संविधानतः नागरिकको नैसर्गिक हकअधिकारको प्रत्याभूतिका लागि किटान गरिएको शिक्षा र स्वास्थ्य उपलब्ध हुने सामुदायिक शिक्षा, सामुदायिक स्वास्थ्य आदिको क्षेत्रमा सहज पहुँच विकास गर्नु जरुरी छ । विकासको प्रक्रिया र गतिबाट टाढिएका नागरिकको चासो र आवश्यकतालाई सम्बोधन गर्ने सुस्पष्ट र सुसंगतयुक्त नीतिको विकासमा ध्यान केन्द्रित गर्नु जरुरी छ । राजनीतिक वैचारिक हिसाबले संगठित रहनुपर्ने यो पंक्तिलाई सूसुचित र प्रशिक्षित तुल्याउन सके कार्यकर्ताको क्षमता विकासमार्फत पार्टी निर्माणमा ठोस योगदान पुग्छ । सीप र ज्ञान बढाउन प्रशिक्षण र क्षमता निर्माणका कार्यक्रमहरू आयोजन गर्नु जरुरी छ । यसमार्फत पार्टी कामको प्रभावकारितामा सुधार ल्याउन सकिन्छ ।
अहिले छाएको निराशा र बजार चुलिने गरेको चर्चा भनेको कानूनी सर्वोच्चता, संवैधानिक आचरण र परिपालनाको अभाव हो । कानूनी र संवैधानिक प्रावधानहरू मातहतका गतिविधिलाई पार्टी कामले प्रश्रय दिनुपर्छ । सार्वजनिक संलग्नतामा जनचासो, जनसरोकार, आवश्यकता र चिन्ताका विषयहरू हामीले प्रायः बुझ्न छाड्यौं । हाम्रा गतिविधिहरू पनि चुनावदेखि चुनावसम्म भए । नियमित रूपमा हुने जनमतसँगको सम्बन्ध टुट्यो । खण्डित भयो । सार्वजनिक सरोकारका मुद्दामाथि सार्वजनिक महत्त्वका साथ बैठकहरू, बहस–पैरवी, खबरदारी सभाहरू आदि हुन छाडे । सार्वजनिक महत्त्वका साथ विकसित सामाजिक मिडिया र यसका प्लेटफर्महरू पनि आत्मरति, आत्मप्रशस्ति, आत्मसम्मान, आत्मगायन, आपत्ति, डाहा, कुण्ठा आदि पोख्ने ठाउँ मात्र बने ।
राजनीतिक दलको आन्तरिक जीवन–सुधारको प्रक्रिया एउटा चक्रवत् र निरन्तर प्रक्रिया हो । प्रक्रियामा सहभागी सदस्यदेखि नागरिकसम्मको अपेक्षा, प्रतिबद्धता र थप प्राप्तिको प्रयासको प्रतिफलस्वरूप विकसित दलीय अभ्यासलाई सुदृढ गर्दै लान आवश्यक छ । यो सार्थक बहस र विमर्शले दिने निष्कर्ष हो । यद्यपि, यसतर्फ धेरै ध्यान गएको पाइँदैन ।
नेता–कार्यकर्ता प्रवृत्ति
जनतामा आधारित कार्यकर्ताको पार्टी नेकपा (एमाले) मात्र हो । नेता–कार्यकर्ता र हामी सदस्यहरूले पार्टीको रणनीतिक र कार्यनीतिक पक्षलाई राम्रोसँग बुझ्न सकेका छैनौँ, बुझेका भए पनि कन्ज्युस्याइँ गर्दै बुझेका छौँ । दस्तावेजीय अध्ययन अभावको पराकाष्टा यत्रतत्र खड्कँदो मात्रामा पाइन्छ ।
पार्टी कमिटी र कमिटीको कामलाई अधिवेशनदेखि अधिवेशनसम्म बुझ्ने, यसबीचमा अमुक पद–मर्यादामा आउन मरिहत्ते गर्ने, कमिटीका नियमित बैठकमा बिनाकुनै तयारी सहभागिता जनाउने, कसको पक्षमा लबिङ गर्नुपर्ने हो जमेर गर्ने, परस्पर सहअस्तित्वको ख्यालै नगरी एकले अर्कालाई खुइल्याउनमा आफ्नो कद बढेको देखाउने, उपल्लो कमिटीको प्रतिनिधित्व गर्नुहुने अतिथिसँगै सहभागी हुने, अतिथिसँगै बिदा भएर कार्यक्षेत्र बाहिर हुइँकने, सामूहिक तस्बिरहरू लिने, आफू अनुकूल समाचार बन्न/बनाउन प्रेरित गर्ने, सामाजिक सञ्जाललगायत पेजहरूमार्फत सार्वजनिक गर्ने आदि पात्रविशेष प्रवृत्तिहरू बढेर गएका छन् । यो कायदा कदापि राम्रो होइन र राम्रो परिणाम ल्याउँदैन ।
कम्युनिष्ट आन्दोलनको एक्लो उत्तराधिकारी एमाले हो । राजनीतिमा चाहिने आवश्यक त्याग, साधना, लगन, इमान, निष्ठा, अध्ययन, आचरण आदि गुणसम्पन्न शक्ति एमालेसँग छ । राजनीतिक वैचारिक हिसाबले सुदृढ पंक्ति एमालेलाई एमालेबाहेक अरू कसैले हराउन, कमजोर तुल्याउन र समृद्ध राष्ट्रनिर्माणको भूमिकाबाट अलगथलग राख्न सक्दैन ।
विकल्पका नाउँमा नयाँ शक्तिको खोजी भन्दै यतिबेला समाजलाई भ्रमित पार्ने कर्मारम्भ गरिएको छ । राजनीतिक व्यवस्था राजनीतिक कामले सार्थक तुल्याउने व्यवस्था हो । यो व्यवस्थाको सुदृढीकरणसँग जोडिएको एमालेले उठाएको कदम, यसको वैचारिक पक्ष र आशातीत प्राप्त प्रशस्तै सफलताबारे सूसुचित हुन र गर्न जरुरी छ । पार्टीसम्बद्ध संगठनात्मक जीवनमा समुदाय आधारित सरोकार क्षेत्रका मुद्दामाथि सघन बहस, पैरवी र विमर्श आरम्भ गर्नुपर्छ । नत्र, नयाँ भनिएका शक्तिले यहीँनेर खेल्ने खतरा उत्तिकै टड्कारो छ ।
विद्यमान सामाजिक आर्थिक व्यवस्थाको सबलीकरण र सुदृढीकरणका लागि समाजको वस्तुगत आवश्यकता र अपेक्षाका आधारमा योजना बनाउँदै यसको अग्रसरता लिन ढिलो भइसकेको छ । यस निमित्त एमालेले सरकारमा रहँदा भए गरिएका प्रयासहरू र यसबाट निस्किएका सार्थक निष्कर्षहरू के–के हुन् ? तल्लो तहसम्म सूसुचित गर्न गराउन जरुरी छ ।
हामीलाई विश्वबजारमा चिनाउन, उभ्याउन र बनाउन सक्ने नेपालीपन र नेपालमनका सांस्कृतिक पक्षहरू के–के हुन् ? मानव जीवन दर्शन र दिग्दर्शनको सर्वाधिक पुरानो हिमवत् खण्डकालीन मूल्यमान्यतामा आधारित हाम्रो अवस्थितिविरुद्ध आयतित पश्चिमा जीवनशैली किन हामीमाथि हाबी भइरहेको छ ? रैथाने नेपाली संस्कार, संस्कृति र परम्परागत अभ्यासहरू किन टुक्रँदै गएका छन् ? जस्ता विषय उपर गौंडागौंडा बहस चलाउन जरुरी छ ।
एमालेको तर्फबाट सूर्य ध्वजावाहक उम्मेदवार भएर मैदानमा उत्रिएको अनुहारलाई जनमतले चुनेको छ । चुनिएपछि निजलाई सघाउन पार्टीले ध्यान नदिने वा निजले पनि पार्टीसँग साइनो सरोकार नराख्ने गरेको स्थिति यदाकदा देखिन्छ । यो दलविहीन उम्मेदवार उभिएको अवस्थाको परिकल्पना वा बागीविद्रोही उम्मेदवारले जिते जस्तो मात्र भयो । यो किमार्थ राम्रो होइन । पार्टीले केही संकल्प र केही प्रतिबद्धताका रूपमा घोषित केही मुद्दाहरूसहित उम्मेदवारको हैसियतमा उभ्याएर जनअपेक्षाअनुसार काम गर्न एकजना व्यक्तिलाई खटाएको पठाएको मात्र हो । चुनावमा जितको परिणाम ल्याउन जसरी सुमधुर सहकार्य रहेको थियो, त्यो यदावत् कायम रहन जरुरी छ । अहिले कुनै एकजनाको कार्यकाल सफल तुल्याए मात्र अर्को समय पनि पार्टीको जित सुनिश्चित र यसभित्र मेरा लागि पनि अवसर सुरक्षित रहन सक्छ भन्ने अर्थमा आकांक्षीले समेत बुझ्नुपर्छ ।
पछिल्लो केही समययता हाम्रा जनसंगठनहरू मुद्दामा आधारित, मुद्दाको उठानमा आधारित र मुद्दाको बहसमा आधारित छैनन् । जनसंगठनका अधिकांश नेताहरू माननीयका स्वकीय बस्न नजिकिने, राजनीतिक नियुक्ति खान नेताको घरद्वार धाउने र ठेक्कापट्टामा तल्लीन रहने गरेको देखिन्छ । यसले विषयलाई किनार लगाउन सकिँदैन । संस्था, यसको नेतृत्व र स्वयं व्यक्ति अलपत्र हुने र पहिचान झल्कने मुद्दाबाट विमुख हुने खतरा विकास हुँदै छ । समुदायमा आधारित जनसंगठनले जनसरोकारको क्षेत्रमा उडुस लुकेझैँ लुकेर बसेका मुद्दालाई नियमित रूपमा उठाइरहनुपर्छ । विकास र समृद्धिको अभियानसँग उर्लंदो जनअपेक्षालाई जोड्नुपर्छ । नत्र लक्षित समुदायका आधारभूत रूपमा जल्दाबल्दा मुद्दा ओझेलमा पर्ने र कागजी परियोजना, कागजी निकासी र कागजी उद्यमले हाम्रो समृद्धिको सपनालाई फगत सावित गरिदिने छ ।
हामीकहाँ केन्द्रीय, प्रदेश र स्थानीय तहका संघीय संरचनागत सरकार क्रियाशील छन् । एमालेले नेतृत्व गरेको वा नगरेको अवस्था जे पनि हुन सक्छ । एमाले पक्ष वा प्रतिपक्ष जहाँ पनि हुन सक्छ । जनअपेक्षित मुद्दाको पक्षमा एमालेको संगठनात्मक उपस्थिति देखिनुपर्छ । एमालकै नेतृत्वमा आवश्यकता अनुसार जनपरिचालन, जनदबाब र संघर्षका कार्यक्रमहरूलाई सञ्चालनमा ल्याइरहनुपर्छ ।
अहिले छाएको चरम निराशा भनेको समाजले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अनुभूति पाउने शासकीय क्षेत्रमा सुशासनको अभाव र राजनीतिक दलको आड र आवरणमा भ्रष्टचारविरुद्धको कारबाही प्रक्रिया अघि नबढ्नु पनि हो । यसविरुद्ध एमालेजन निर्मम हुनुपर्छ । राप्रपा नेता राजेन्द्र लिङदेनकै भाषा सही ! भ्रष्टाचार गर्नु भनेको आमाको रगत पिउनुसरह हो भन्न सक्नुपर्छ । भ्रष्ट आचरणविरुद्ध ओकल्न, बोल्न आफ्नो र पराइ भनेर कसैलाई छोप्न र कसैलाई बोक्न हुँदैन । एमालेको नेता कार्यकर्ताले प्रतिनिधित्व गरेको, एमालेको नाउँ र परिचय लिएको उभिएको ठाउँ बेदाग हुनुपर्छ । इमान र निष्ठाको ल्याबमा एकपटक मात्र होइन, पटकपटक परीक्षण र परीक्षित हुन तयार हुनुपर्छ ।
यसबाट एमाले कार्यकर्ता समाजको उम्दापात्रका रूपमा सामाजिक अगुवा बन्न सक्छ । राजनीतिक–वैचारिक र सामाजिक–सांस्कृतिक मूल्यका हिसाबले समेत स्वाभिमानी बन्न सक्छ । इमान र निष्ठाले भरिएको, सामाजिक आचरणले ओतप्रोत आत्मनिर्भर कार्यकर्ता निर्माण गर्न समाजले नै मद्दत गर्छ । आफू र आफ्नो व्यवस्थापन सहित घरपरिवारको व्यवस्थापनमा समाज सहयोगी बन्न सक्छ ।
हामी संलग्न यो राजनीतिक संस्थालाई आफ्नी आमा सम्झेर हामी प्रत्येकले यसको हितमा काम गर्दा आफ्नो दायित्व पूरा हुने मात्र होइन, संस्थाको मानसम्मान र इज्जत वृद्धि हुने पक्ष स्वाभाविक रूपमा विकास भएको देख्न पाइन्छ । संस्थाको मानसम्मान र इज्जत वृद्धि हुँदा मात्र आफ्नो पनि हित सुनिश्चित हुने निष्कर्षलाई आत्मसम्मानका साथ ग्रहण गर्नुपर्छ । व्यक्तिगत रूपमा प्राप्त हुने कुनै पनि खालको लाभ र चासोका कारणले हुने सम्भाव्य विकृतिलाई पन्छाउन सक्नुपर्छ । विषयवस्तुको गहिरो अध्ययनसहित अग्रसरता लिँदा संस्थागत हित नै सर्वोपरि हुन्छ । सकारात्मक र रचनात्मक परिणाम निकाल्न योगदान पुग्ने विषयलाई ध्यान दिनुपर्छ । मिश्रित प्रकृतिको उपस्थिति भए पनि एमाले नाउँको यो राजनीतिक संस्था आफैँमा एउटा सुन्दर घरपरिवार हो । यसभित्र हुर्कन सक्ने परिवारवाद, नातावाद र कृपावादलाई निरुत्साहित र परित्याग गर्नुपर्छ । प्राप्त जिम्मेवारीलाई निर्धारित र परिभाषित अर्थमा लिनुपर्छ । राजनीतिक–वैचारिक लडाइँको उत्कर्ष र यसको नेतृत्वका बारेमा समस्या छैन भने मातहतको कमिटी प्रणालीअन्तर्गत व्यक्तिगत फाइदाका लागि कुनै पनि किसिमको कित्ताबन्दी अर्थात् गुटबन्दी गर्नु गराउनु हुँदैन ।
राजनीति समाजमा प्रचलित बग्रेल्ती नीतिमध्येको प्रमुख नीति अर्थात् माउ नीति हो । यो नीतिले समाजलाई बुझेको र डोहो-याएको मात्र छैन, राजनीतिक लडाइँको उत्कर्षस्वरूप प्राप्त राजकीयसत्तामार्फत सम्बोधन र व्यवस्थापन गर्नेसमेत प्रयत्न गर्दै आएको छ । यस मानेमा प्रशस्तै विषयगत अध्ययन हुन जरुरी छ । अध्ययन भयो भने परस्पर द्वन्द्व हुँदैन, यसले ऐंजेरुको रूपमा स्पेस लिन पाउँदैन । यदाकदा आयो भने व्यवस्थापन गर्न सक्ने अध्ययन हामीसँग हुनुपर्छ ।
हामी एमालेजनले सामुदायिक, सामाजिक र सांस्कृतिक क्षेत्रका सुधारोन्मुख कार्यहरूमा अनिवार्य सहभागिता जनाउने गर्नुपर्छ । कतिपय कार्यस्थलहरूमा सामाजिक अडिटरको रूपमा प्रस्तुत हुनुपर्छ । हामी एमालेजन जे बोल्छौँ, त्यो मात्र गर्छौँ भन्ने मानक स्थापित गर्न जरुरी छ । सार्वजनिक महत्त्वका कार्यस्थलमा हाम्रो सहज उपलब्धता र सहज हुने सहयोगी भूमिकाले पनि पार्टी कामलाई प्रत्यक्ष र परोक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ, पार्टीको फहराउँदो झण्डातर्फ आममानिसको ध्यान, मन र आकर्षण बढाइरहेको हुन्छ ।
नेतृत्वले चाहेमा आफ्नो कार्यकालमा नवीनपन दिन सकिन्छ । नवीनताका कारण यसबापत कुरा उठ्ने गर्छन्, सार्वजनिक जीवन बाँचेको नेतृत्वमाथि नै प्रश्न उठ्न सक्छ र प्रहार पनि हुन सक्छ । कतिपय बेला र बखतमा उठ्ने यस्ता प्रश्नोत्तरमा निर्धक्क उभिन, सर्लक्क पेस हुन वा अनुचित भएको भए आलोचनात्मक चेतसँगै आत्मालोचित पनि हुन सक्नुपर्छ । यसले मात्र निर्णायक राष्ट्रिय शक्ति निर्माण उन्मुख एमालेको आजको राजनीतिक अभियानमा हामी नेता कार्यकर्ताबाट गर्विलो सहयोग पुग्न सक्छ ।
–पथरी, मोरङ
प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार २ : १२ बजे
प्रतिक्रिया