साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वीरगंज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो

पर्सा । मुलुकको प्रमुख व्यापारिक नाका वीरगंज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगंज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।

आव २०७९/८० मा वीरगंज नाका प्रयोग गरी रु. ३३ अर्ब १३ करोड बराबरको २ लाख ९० हजार २८७ टन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा रु. ३० अर्बको २ लाख ६७ हजार ४८ टन ग्यास आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार ११ हजार २३८ टन कम ग्यास अयात भएको हो ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार अघिल्लो आवमा वीरगंज नाकाबाट रु. १७ अर्ब ३१ करोडको ५ लाख ९७ हजार १४४ किलो लिटर (केल) हवाई इन्धन आयात भएकामा गत आवमा रु. १८ अर्ब २१ करोडको १ लाख ७३ हजार ४८४ केल आयात भएको छ । 

सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा संकुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रूपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताउनुभयो । वीरगंज नाकाबाट आव २०७९/८० को तुलनामा गत आवमा डिजल ४ प्रतिशत र पेट्रोलको आयात २ प्रतिशतले बढेको उहाँले जानकारी दिनुभयो । 

आव २०७९/८० मा रु. १ खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार ५०६ केल डिजल र रु. ३८ अर्ब २४ करोडको ३ लाख ८९ हजार ७११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा रु. १ खर्ब ९ अर्ब २९ करोडको १० लाख ८३ हजार ५२० केल डिजल र रु. ३९ अर्ब २ करोडको ३ लाख ९४ हजार ७२३ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगंज नाकाबाट हुने गरेको छ । 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : १८ बजे