‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्री ओलीलाई रेकर्डिङ स्टुडियोमा देखिँदा….

काठमाडौँ । सधैँ व्यस्त हुनु हुने प्रधानमन्त्री केपी शर्मा ओलीको तालिका शनिबार पनि उस्तै रह्यो । बैठक तथा कार्यक्रम व्यस्त तालिका । यहीबीच अनामनगरको एक रेकर्डिङ स्टुडियोका लागि छोटो समय पनि निस्कियो । 

करिब ५० सेकेन्डको डबिङका लागि केही बेर स्टुडियो समय निकाल्नुभएका प्रधानमन्त्री ओलीले छोटो समयमा आफ्नो काम सकिहाल्नुभयो । प्राविधिकले केही समय आवाजको लागि पिचिङ, कम्प्रेसनको पाटो मिलाउन थोरै समय लगाए पनि प्रधानमन्त्री ओलीले आफ्नो स्क्रिप्टअनुसारको डबिङ पूरा गर्नुभयो । 

अनामनगरस्थित द म्युजिक एरा स्टुडियोमा उहाँले डबिङ गर्नुभएको हो । करिब ५० सेकेन्डको उक्त डबिङमा उहाँले एसिड पीडितलाई न्याय दिलाउने आश्वासन दिनुभएको विषयमा डबिङ गर्नुभएको हो । डबिङको एक अंशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, "एसिड पीडितहरूले अब न्याय पाउनेछन् र पीडकहरूले दण्ड पाउनेछन् । तपाईंहरूको समस्याको समाधान र तपाईंहरूलाई म न्याय दिन्छु।"

प्रधानमन्त्री ओलीले एसिड पीडितको पक्षमा सधैँ काम गर्दै आउनुभएको छ । जो कोहीले सहजै एसिड खरिद गर्न पाउने व्यवस्था हुन नहुनेबारे उहाँले सार्वजनिक मञ्चमा आफ्नो भनाइ राख्नुभएको छ । उहाँ प्रधानमन्त्री हुँदा समेत एसिड आक्रमण विरुद्धको कडा कानुन अद्यादेशमार्फत ल्याउनु भएको थियो ।

उक्त कानुनमा एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेलसजाय र १० लाख जरिवाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका प्रावधानहरू राखिएको थियो। तर, त्यतिबेलाको राजनीतिक अवस्थाका कारण संसद्‍मा सो अध्यादेश पेस हुन पाएको थिएन । 

अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र 'नमेटिने घाउ' मा प्रधानमन्त्री ओलीले अतिथिको भूमिका निर्वाह गर्नुभएको छ । ३३ जना एसिड आक्रमणमा परेकाहरूको वास्तवविक जीवनमा आधारित कथामा सो चलचित्र तयार पारिएको हो । 

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटालगायतले अभिनयसमेत गर्नुभएको छ । 
 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : ४७ बजे