साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काभ्रेमा उत्पादित आलुको ‘ब्रान्डिङ’

काभ्रेपलाञ्चोक ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्रान्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । 

‘आलु सुपरजोन’ का रूपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ ।

प्रारम्भिक चरणमा हाल दुई किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्रान्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो । 

भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपरजोन) को आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माणसहित प्याजिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताउनुभयो ।

“हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक वर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउने छौँ”, उहाँले भन्नुभयो । उद्योगलाई भण्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा रु. १४ लाख सहयोगमा गरेको थियो ।

 केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउनुहुन्छ । उद्योगले ‘काभ्रेको चिनारी : पोसिलो आलुको तरकारी’ को नारासहित हाललाई प्रतिकेजी रु. ८० का दरले प्याजिङ गरिएको आलु बजार पठाएको हो । “

आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ”, अधिकारीले भन्नुभयो । उहाँ अनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ । 

उपभोक्ताले आफूलाई मन पर्ने जातको आलु किनेर लैजान सक्ने गरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितिका प्रमुख सुमन नेपालले ढुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले बिनासंकोच किनेर खान सक्न्हुन्छ ।”

उहाँका अनुसार यस आलु ब्रान्डिङ कार्यक्रमले अन्य व्यावसायिक कृषकलाई उत्प्रेरण मिलेको पाइएको छ । आलु सुपरजोन कार्यलयले काभ्रेपलाञ्चोकमा आलुको उत्पादन तथा उत्पादनमा वद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ ।

आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगायत कार्यक्रम कार्यालयले सञ्चालन गर्दै आएको छ । कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्रान्डिङ विस्तार गर्न कार्यालयले सहजीकरण गर्ने बताउनुभयो । 

जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभ्रेको नौ हजार हेक्टर क्षेत्रफलमा वार्षिक करिब १ लाख ७५ हजार टन आलु उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : ०२ बजे