‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काठमाडौं उपत्यकालाई जीवन्त राख्न पूर्वप्रधानमन्त्री भट्टराईको चार बुँदे सुझाव 

काठमाडौं । सांस्कृतिक सहर काठमाडौंको अस्तित्व वर्षौंपछिसम्म दिगो राख्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चार बुँदे सुझाव दिनुभएको छ । 

सामाजिक सञ्जालमार्फत सरकार र सरोकारवालाहरूलाई चारबुँदे सुझाव दिनुभएको छ ।  

संघीय राजधानी काठमाडौं ठूलो वर्षासँगै डुबानमा पर्नु राष्ट्रिय चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसलाई तीव्र जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण र सम्पूर्ण उपत्यका कङक्रिट जङ्गलमा परिणत हुँदै जानुको दुष्परिणाम भएको बताउनुभएको छ ।  

पूर्वप्रधानमन्त्री भट्टराईले यही प्रवृत्ति कायम रहे कुनै बेला समग्र हिमाली सभ्यताको केन्द्र रहेको काठमाडौं उपत्यका केही दशकभित्र गम्भीर प्राकृतिक र मानवीय संकटमा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले सञ्जालमा लेख्नुभएको छ, “सहरी तथा क्षेत्रीय विकास योजनको विद्यार्थीको नाताले यसको गम्भीरतालाई बुझेर आफ्नो प्रम कालमा मैले छुट्टै सहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरणको गठन, काठमाडौं–मधेस जोड्ने फास्ट ट्र्याक र निजगढ  अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो प्राथमिकताको राष्ट्रिय गौरवको योजना घोषणा लगायतका दूरदृष्टियुक्त पहल गरेको हुँ ।”

भट्टराईले देश अब संघीयतामा गइसकेको अवस्थामा भविष्यमुखी भएर चारबुँदे सुझाव दिनुभएको छ—

–छुट्टै ऐन बनाएर सबै पालिकाहरूको प्रतिनिधित्व हुने गरी अधिकारसम्पन्न काठमाडौं उपत्यका एकीकृत विकास प्राधिकरण गठन गरौँ र बृहत् गुरुयोजना बमोजिम मात्र विकास निर्माण सम्पन्न गरौँ ।

– फाष्ट ट्र्याक र निजगढ विमानस्थल छिटो निर्माण गरेर काठमाडौंको जनसांख्यिक चाप न्यूनीकरण र विविधीकरण गरौँ ।

– सङ्घीय राजधानी र औद्योगिक क्षेत्रहरू काठमाडौं उपत्यकाबाहिर स्थानान्तरण गरौँ । उपत्यका बाहिर छेउछाउमा योजनाबद्ध स्याटलाइट सिटीहरूको निर्माण गरौँ । काठमाडौं उपत्यकालाई सांस्कृतिक, पर्यटकीय, शैक्षिक र सेवामुखी गतिविधि र नयाँ हिमाली सभ्यताको केन्द्र बनाऊँ ।

– अहिलेको अपूर्ण सङ्घीय संरचनालाई पूर्णता दिएर र प्रदेश तथा स्थानीय तहहरूलाई बढी अधिकार सम्पन्न बनाएर सम्पूर्ण  देशको एकीकृत र दिगो विकास गरौँ ।

उहाँले चेतावनी दिँदै लेख्नुभएको छ, “भोलि धेरै ढिलो हुनसक्छ ! अब आँखा खोलौँ !!”

 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  २ : ०१ बजे