डोटी । डोटीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा दिपायल सिलगढी नगरपालिका-८ लडागडाका ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्लीबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
धानबारीमा लुकेको अवस्थामा राति करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट उनीहरूलाई पक्रन प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताउनुभयो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको र विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।
शुक्रबार बिहान करिब ११ बजेतिर जंगली बँदेल मार्ने क्रममा पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापालाई गोली लागेर घटना स्थलमै ज्यान गएको थियो ।
स्थानीय घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्ने क्रममा थापालाई गोली लागेको थियो ।
मृतक थापा पनि सोही समूहमा सिकार खेल्न गएको बुझिएको र बाँकी जानकारी अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ । घटनामा संलग्नहरूलाई कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार १० : १५ बजे
प्रतिक्रिया