साफ यू–१७ च्याम्पियनसिप आजदेखि

भरपर्दो आम्दानीको स्रोत बन्दै सुपारीखेती

भद्रपुर (झापा) । झापामा नगदेबालीका रूपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै  गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । 

 झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गर्नुभएको छ । “व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु. ५ लाखभन्दा बढी आम्दानी भइरहेको छ । गोडमेलसहित थप मेहनत गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ”, उहाँले भन्नुभयो । 

सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउनुहुन्छ । “मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारीभित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै  खेती गर्ने गरेको छु । सुपारीबाट मात्रै वार्षिक रु. ३ लाखभन्दा बढी आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।

अरू खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार सुपारीका दानासँगै यसको पत्ताबाट दुनाटपरी बनाउन सकिन्छ । सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउनुहुन्छ । 

“बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन सुरु गर्छ । त्यसपछि निरन्तर यसबाट वार्षिक रूपमा आम्दानी भइरहन्छ”, उहाँले भन्नुभयो । 

राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राई बताउनुहुन्छ । “पहिले घरआँगन सजाउनका लागि सुपारीका बिरुवा रोप्ने गरिन्थ्यो । पछिल्लो समय सुपारीखेती व्यावसायिक रूपमा गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  १० : ०६ बजे