‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काभा नेसन्स लिग : नेपाल र भारत भिड्दै

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र भारत भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् । यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ । नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो । लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।

पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो । जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ ।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो । त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो तापनि नेपाल सागमा भारतसँग पराजित भएको थियो ।

त्यस्तै, आज हुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्ने छन् । सोही कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ८ : २९ बजे