‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पेशागत महासंघको घरसमेत एमालेकै पोल्टामा पर्ने भएपछि थप संकटमा माधव नेपाल

काठमाडौं । नेकपा एमाले चोइटाएर तामझामका साथ गठन गरिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एस धमाधम संकटमा पर्दै गइरहेको छ । 

एक महिनाअघि प्रज्ञा भवन कमलादीमा पार्टीको महाधिवेशन गरिएको भए पनि ९९ जनाको केन्द्रीय समिति घोषणा गरिएपछि पाटीभित्र चरम विवाद सुरु भएको छ । पार्टीको केन्द्रीय नेतृत्वमा नपरेका नेताहरूले मीनभवनको वाग्मती किनारमा रहेको पार्टी कार्यालयमा मुठी बर्जान थालेपछि अध्यक्ष माधव नेपालदेखि महासचिव धनश्याम भुसालसम्मलाई कार्यालयमा जानै समस्यामा पर्न थालेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । 

नेकपा एस गठन गर्न राष्ट्रिय पार्टी नभए पनि त्यसलाई टिकाइरहन भूमिका निर्वाह गरिरहेको पेशागत महासंघसमेत पछिल्ला दिनमा संकटमा परेको उहाँले बताउनुभयो । पार्टी विभाजन हुँदा नेकपा एसतिर लागेका नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष भोलानाथ पोखरेल एमालेमै फर्किएपछि माधव नेपालको कोटरीमा रहेको पेशागत महासंघ संकटमा परेको हो । 
माधव नेपालले पार्टी चोइट्याउँदा लैनचौरमा रहेको पेशागत महासंघको कार्यालयबाट विभाजनसम्बन्धी थुप्रै कागजपत्रहरू तयार पारिएको थियो । त्यतिबेला एमालेका सबैजसो कमिटीहरूले विभाजनमा साथ नदिए पनि पेशागत महासंघले माधव नेपाललाई बोकेका कारण नै काठमाडौंमा एसको चमकधमक देखिएको थियो । 

एमालेमा १५ वर्ष एकछत्र शासन गरेका माधव नेपालको लिगेसी र भावनामा जोडिएर राज्य सञ्चालनको महत्त्वपूर्ण जिम्मवारी संहाल्न पुगेका पेशाकर्मीहरूले त्यतिबेला एसलाई साथ दिएका थिए । सोही कारण एमालेसँग रहेको सम्पूर्ण चलअचल सम्पत्ति एमालेकै भए पनि काठमाडौंको लैनचौरमा रहेको करिब सात आनामा बनेको घर एस समर्थकको कब्जामा थियो । 

पेशाकर्मीहरूको लेवी र चन्दाबाट रु. ३ करोडभन्दा बढी मूल्यमा खरिद गरिएको सो घरसमेत अब नेकपा एसको कब्जाबाट फुत्किएर एमालेकै सम्पत्ति हुने अवस्था सिर्जना भएको छ । यस घटनाले माधव नेपालसमेत तिरमिराइरहेको उनै केन्द्रीय सदस्यले जानकारी दिए । “आफ्नो हातमा रहेको एउटा घरसमेत फुत्किने स्थिति बनेपछि एस समर्थक पेशागत महासंघका अगुवाहरू अदालत गुहार्न पुगेका छन्,” उनले भने, “तर पेशागत महासंघमा आबद्ध धेरैजसो घटकहरूले एमाले समर्थक महासंघलाई समर्थन गरिसकेका कारण त्यो घर जोगाउन माधव नेपाललाई सहज छैन ।” 

स्मरणीय कुरा त के छ भने चोइटिनुअघि पेशागत महासंघको एमालेमा कतिसम्म बिगबिगी थियो भने बुटवलमा सम्पन्न एमाले महाधिवेशनमा यही संगठनका कारण केपी शर्मा ओली एमाले अध्यक्षमा पराजित हुनुपरेको थियो । पाल्पामा सम्पन्न एमालेको राष्ट्रिय परिषद् बैठकले ट्रेड युनियन आन्दोलनलाई व्यवस्थित गर्नुपर्ने निष्कर्ष निकाल्दै पेशागत क्षेत्रलाई पार्टीले सोझो हस्तक्षेप नगर्ने नीति लिँदै यसलाई हेर्न विशेष अधिकारसहितको पेशागत महासंघ बनाउने निर्णय गरेको थियो ।  

यतिखेर भने अवस्था फेरिएको छ । कुनै समय माधवलाई बोक्नेहरू यतिखेर ‘यस्ताबाट के पार्टी चल्ला र !’ भन्दै धमाधम एमालेमै फर्किन थालेका छन् । परिणामत शिक्षक, कर्मचारी, रेन्जर, नर्सिङ, इन्जिनियर, स्वास्थ्यकर्मी, अडिटर्स लगायत दुई दर्जनभन्दा बढी संघसंस्था बिस्तारै एमाले समर्थक पेशागत महासंघमा फर्किइरहेका छन् ।
 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : २५ बजे