काठमाडौं । सत्तारूढ नेकपा एमालेले पार्टीका वरिष्ठदेखि कनिष्ट नेताको कार्य विभाजन गरेपछि कुनै समय माधव नेपालको कोतपर्वमा परेर किनारा लगाईएका नेता गुरु बराल उपाध्यक्ष भएको विषय चर्चामा छ ।
नयाँ कार्यविभाजनमा पुराना, त्यागी तथा निष्ठावान् नेता गुरु बरालले उपाध्यक्षको जिम्मेवारी पाएको विषयले एमालेभित्रको राजनीति गर्माएको हाे । नेता कार्यकर्ताबीच फलानो फलानो उपाध्यक्ष हुने भन्ने चिया गफ चलिरहेका बेला नेता बरालले उपाध्यक्षमा बाजी मार्नुभएको हो । संविधान सभाका अध्यक्ष तथा सांसद सुवास नेम्बाङको निधन भएपछि एमालेको उपाध्यक्ष पद रिक्त थियो ।
सोही पदमा बरालले बाजी मार्दा पार्टीका पुराना नेता मुकुन्द न्यौपाने र पहाडी मूलका भए पनि मधेशमा स्थापित नेता लीलानाथ श्रेष्ठले स्थायी समितिको जिम्मेवारी पाउनुभएको छ । श्रेष्ठलाई संघीय निर्वाचनको प्रत्यक्षतर्फ ३२ सिट रहेको मधेश प्रदेशमा इन्चार्जसमेत बनाइएको छ ।
एमालेभित्र बराल अभागी नेताका रुपमा चिनिनुहुन्थ्यो । थोरै मतले निर्वाचनमा पराजित बराल राष्ट्रिय सभाको निर्वाचनमा मत बराबर भएपछि चिट्ठा टिप्दासमेत सफल हुनुभएन । पार्टीमा पनि उहाँबाट दीक्षित थुप्रै नेता उपल्लो तहमा पुग्दा पनि उहाँ निरन्तर सतहमै खटिनुभएको थियो ।
यही विषय बुझेका पार्टीका केन्द्रीय सदस्य दयालबहादुर शाहीले माधव नेपाल–झलनाथ खनाल कालीन एमालेमा गुरु बराललाई कार्यविभाजन नामको रक्तहीन कोतपर्व मच्चाएर पाखा लगाउने खेल गरिएको खुलासा गर्नुभएको छ ।
बरालको एमाले उपाध्यक्षमा भएको मनोनयन प्रति इस्पात झै उभिँदै शाहीले सामाजिक सञ्जालमा लेख्नुहुन्छ– आस्थाका बहुमूल्य इस्पात, ‘बाघको मुख खाए पनि रातै न खाए रातै’ भने झैं यातना र बन्चनामा हाँस्न सक्ने एक राजनीतिक अचानो, बहुदलीय जनवादीहरूका प्रेरणा स्रोत र महागुरु कमरेड गुरुप्रसाद बराल नेकपा एमालेको उपाघ्यक्ष जस्तो गरिमामय आसनमा पुग्नुभएकोमा हार्दिक बधाई छ ।
बरालको विगत कोट्याउँदै शाही अगाडि लेख्नुहुन्छ– २०५४ सालदेखि २०५७ सालसम्म एमालेलाई गाह्रो अफ्ठेरोको बेला कमरेड बरालले कोशी अन्चल इन्चार्जको कठिन कार्यभार कुशलतापूर्वक वहन गर्नुभएको थियो । मदन, मनमोहन र ओलीप्रतिको अटल निष्ठा माधव–झलनाथ राजमा ठूलो कमजोरी मानिन्थ्यो । कार्यविभाजन नामको रक्तहीन कोतपर्व मच्चाएर बराल कमरेडलाई पाखा लगाउने खेल भयो ।
माधवकालीन एमालेमा कसरी रक्तहीन कोत पर्व मच्याइन्थ्यो भन्ने विषयमा शाहीको विश्लेषण छ –
सातौँ महाधिवेशन २०५९ साल फागुनमा चल्दै थियो । मदन र मनमोहनको रिक्तता र सन्नाटामा सर्वसम्मतिले शीर्ष आसनमा पुगेका माधवले ‘चोरलाई चौतारो साघुलाई शुली’ गरेर गुरु बराललगायत कमरेडलाई अन्याय गरेका थिए । ओली कमरेडको आगमन रोक्न गरिएका यी सबै प्रपञ्च उदाङ्ग पारेर छापामा लेखेकामा मलाई गौरव छ ।
शाही इतिहास खोतल्दै अगाडी लेख्नुहुन्छ – सत्य बोल्दा सास्ती हात लाग्छ । तत्कालीन अनुशासन निरीक्षण कमिटीका अध्यक्ष नरबहादुर खाणले एक दिन मलाई स्नेहपूर्वक गाली गर्दै आफ्नो लाचारी यसरी प्रकट गर्दै भन्नुभयो, ‘तित्राको मुखै बैरी । चुप लागेको भए सेती अन्चल कमिटीलाई हराएर बाजुरा जिल्ला कमिटीको सचिवमा बहाल हुने पक्कापक्की थियो । बढ्ता लेख्नुभयो । पार्टीले सदस्यता खारेज गरेपछि मुद्दा नै डिसमिस भयो तपाईंको ।’
‘सुनारको सय चोट लोहारको एकै चोट’ आस्थाले अवसरमाथि, निष्ठाले कुण्ठामाथि र मिसनले कमिसनमाथि यसरी नै जवाफ दिन्छ । ‘एउटा मान्छेको मायाले गर्दा फरक पर्दछ जिन्दगीमा’ । संकटकालको कान्छो सचिव म निष्ठावान विरुद्धका चक्रब्यूहमा रमिते नहककुदाको फल आज तक भोगिरहेकै छु।फोटो खिचाएको भरमा नेता बनेकाहरुले तेरो धरातल खै भन्न र पोर्टफोलियो हेर्न लाजघिन मान्दैनन्।निष्ठा यो असली अवतरण र कमरेड गुरु बरालको उदयलाई अभिनन्दन छ।स्वागत छ र सलाम छ ।
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १२ : ५१ बजे
प्रतिक्रिया