साफ यू–१७ च्याम्पियनसिप आजदेखि

९५ अर्ब ७३ करोडको सेयर कारोबार, नेप्सेमा चामत्कारिक उछाल जारी 

काठमाडौं । यो साता सेयर बजारमा रु. ९५ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत साता रु. ७३ अर्ब २३ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबार रकम बढेसँगै नेप्से परिसूचक पनि १८७ अंकले बढेको छ । नयाँ सरकार गठन र नयाँ मौद्रिक नीति आएसँगै पुँजी बजारमा उछाल आएको हो ।

यो साता प्रतिदिन औसतमा १९ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ । गत साता औसतमा रु. १४ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको पहिलो दिन आइतबार रु. १५ अर्ब ६९ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । सोमबार करिब ४ अर्ब रुपैयाँले बढेर रु. १९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो । मंगलबार कारोबार रकम घटेर रु. १७ अर्ब १९ करोडमा खुम्चिएको थियो ।

बुधबार भने अहिलेसम्मकै उच्च २१ अर्ब ९१ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो । साताको अन्तिम दिन बिहीबार २१ अर्ब ४८ करोड ५२ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । 

साताको नेप्सेलाई हेर्दा आइतबार कारोबार सुरु हुँदा नेप्से परिसूचक २५६८ अंकमा थियो । आइतबारको कारोबारपछि २६८१ अंकमा पुगेको हो । सोमबार २६६१ अंकमा, मंगलबार २६९६, बुधबार २७६० र बिहीबार २७५५ अंकमा नेप्से पुगेको छ । 

नयाँ सरकार गठनपछि सेयर बजार २२ प्रतिशतले वृद्धि भएको छ । बजार बढेसँगै करोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । लगातार पाँच सातादेखि बजार बढ्ने क्रम रोकिएको छैन ।

छोटो समयमा नेप्से धेरै बढेकोले अब बजारमा करेक्सन आउने सम्भावना बढेको छ । मौद्रिक नीति आएसँगै सेयर बजारतर्फ लगानीकर्ता आकर्षित भएका हुन् । लगानीकर्ताको मनोबल बढ्दा अहिले बजारमा कारोबार रकम पनि उच्च भएको हो ।

इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बैंकमा लगानीयोग्य रकम पर्याप्त भएको र कर्जा लिनका लागि सहज भएकाले पनि सेयर कारोबार बढेको बताएका छन् ।

विगतमा घटेर न्यून बिन्दुमा पुगेको सेयर बजारमा अहिले राष्ट्र बैंकले लचक नीति लिँदा लगानीकर्ताको मनोबल बढेको छ । स्थिर सरकार बनेकाले पनि लगानीको वातावरण सिर्जना भएको, नीतिगत स्पष्टता भएको लगायत कारण लगानीकर्ता उत्साहित भएको आकलन गरिएको छ ।

मौद्रिक नीतिमा लचकता आएपछि त्यसबाट सहज भएको लगानीकर्ताहरूले बताउने गरेका छन् । गत आइतबार रु. ४२ खर्ब ५४ अर्ब ८६ करोड रुपैयाँ रहेको सेयर बजारको कुल पुँजीकरण बिहीबारसम्ममा रु. ४३ खर्ब ७२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

नेप्सेको कारोबारको प्रकृतिलाई हेर्दा यसमा उतारचढाव आउनुलाई स्वाभाविक मान्ने गरिन्छ । तर मुलुकको अर्थतन्त्रको सूचकांकमा भने कुनै परिवर्तन आएको छैन ।

यसले अहिले भइरहेको सेयर कारोबार र नेप्सेको वृद्धिलाई निरन्तरता दिन सक्ने सम्भावानलाई देखाउँदैन । त्यसैले यसतर्फ पनि लगानीकर्ताले बेलैमा सोच्नुपर्ने समय आएको छ । 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ११ : १२ बजे