“इतिहासबाट पाठ सिक्नुपर्छ तर इतिहासको भारी बोकेर हिँड्नु हुन्न ।”
प्रचण्डलाई थाहा थियो, विश्वासको मतमा म पराजित हुन्छु । तैपनि उनले मत विभाजन खोजे किनभने केपी ओलीलाई ७६ (२) अन्तर्गत प्रधानमन्त्री बन्न नदिने उनको नियत थियो । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रभावमा पार्न नखोजेका पनि होइनन् तर राजनीतिक माहोल ७६ (२) को पक्षमा देखिएपछि प्रचण्ड बालुवाटारबाट बिदा भएर शितल निवास हुँदै सिधै खुमलटार पुगेका थिए ।
प्रधानमन्त्री पदबाट मुक्त भएपछि प्रचण्ड माओवादी केन्द्रका अध्यक्षका रूपमा सीमित भएका छन् । यति बेला प्रचण्डले पार्टीबाहिर मात्र होइन, पार्टीभित्रै पनि विश्वास र प्रभाव गुमाइसकेका छन् । यस्तो अवस्थामा आफ्ना दायाँबायाँ बसेकाहरूलाई जुधाउने र आफू माओवादी केन्द्रको अध्यक्ष भइरहने उनको उपयोगितावादी रणनीतिले अब काम गर्नेवाला छैन । तथापि यो त्रिशंकु संसद\ कायम भएसम्म प्रचण्डले केही समय रवि लामिछानेसँग मिलेर सदन र सडकमा हल्ला गर्न सक्छन् । तर, पनि त्यसले प्रचण्डको विश्वसनीयता बढ्नेवाला छैन ।
धेरै अगाडिको होइन २०७९ मंसिरमा भएको आमनिर्वाचनपछिको राजनीतिक माहोल र गतिविधिहरूको विश्लेषण गर्ने हो भने मात्रै पनि हामीले प्रचण्डको नियत बुझ्न सक्छौँ । त्यति बेला १० पुस २०७९ मा प्रधानमन्त्री बन्दै गर्दा प्रचण्डले भनेका थिए, “मेरा लागि यो अन्तिम अवसर हुन सक्छ, सिंहदरबारमा फोटो झुन्ड्याउन मात्रै म प्रधानमन्त्री भएको होइन ।” तर त्यस्तै भयो, उनले गएको १९ महिना नेपाली कांग्रेस र नेकपा (एमाले) लाई झुक्याउँदै देशको महत्त्वपूर्ण समय बर्बाद बनाए ।
प्रचण्डले प्रधानमन्त्री हुन र पदमा टिकिरहन रूपमा एउटा कुरा गरिरहे तर सारमा अर्कै व्यवहार गरेर कहिले नेकालाई त कहिले एमालेलाई झुक्याउँदै उपयोग गरेका थिए । प्रचण्डको वास्तविकता बुझिसकेपछि भने नेका र एमालेले निश्चित मुद्दा र लक्ष्यका साथ संसदको बाँकी कार्यकालभरि सत्ता सहकार्य गर्ने सहमति गरेपछि प्रचण्ड प्रधानमन्त्री पदबाट मुक्त भएका हुन् । मतलव नेका र एमालेलाई सत्ता सहकार्य गर्न प्रचण्डको उपयोगितावादी रणनीतिले प्रत्यक्ष भूमिका खेलेको हामीले बुझ्नुपर्छ ।
१० पुस २०७९ मा प्रधानमन्त्री भएपछि प्रचण्डले विश्वास मत लिँदा २६८ सांसदको समर्थन थियो भने २८ असार २०८१ मा आइपुग्दा विश्वास घटेर ६३ हुन पुग्यो । यसबाट स्पष्ट हुन्छ, प्रचण्ड आफ्नै बोली र व्यवहारका कारणले हिजोभन्दा आज कमजोर भएका हुन् । अहिले उनी कुण्ठावादी माधव नेपाल र भ्रमपूर्ण लोकरिझ्याइँवादी रवि लामिछानेलाई साथ लिएर हिँड्न खोजेका छन् । जबकि रवि लामिछाने दुई वर्षअघि प्रचण्डको विरोध गरेर राजनीतिमा आएका थिए । बाढीमा बगेको मान्छेले ज्यान जोगाउन सर्पको पनि साहारा लिन्छ भने झैँ प्रचण्ड र रवि अहिले एकसाथ देखिएका छन् ।
प्रचण्डको अवस्थालाई लिएर सेतोपाटीमा ‘सत्ता गयो, अब जोगाउन सक्लान् आफ्नो पार्टी’ शीर्षकमा बिनु सुवेदी लेख्छिन्, “प्रचण्डले पार्टीबाहिर मात्र होइन पार्टीभित्रै पनि विश्वास गुमाइसकेका छन् । हिजोको जस्तो प्रभाव पार्टीभित्र र बाहिर देखिँदैन ।” यतिन्जेल सत्ताशक्तिको बलमा पार्टीमा हैकम कायम राखेका प्रचण्ड सत्ताशक्ति गुमाउँदा विक्षिप्त बनेर प्रस्तुत हुने प्रबल सम्भावना छ । त्यसैले हिजो राजनीतिको एक दशक गोली बारूदमा रमाएका प्रचण्ड अब देउवालाई फकाउने र केपी ओलीलाई तर्साउने राजनीतिमा सक्रिय हुनेछन् किनभने प्रचण्डको बुझाइमा ओलीका कारणले सत्ताशक्ति गुम्यो भन्ने छ ।
संसदमा प्रचण्डको हाउभाउ सत्ता शक्तिबाट टाढा हुँदाको पीडा देखिन्थ्यो । रवि लामिछानेको बोलीमा आफूले विगतमा गरेका अक्षम्य गल्तीबाट जोगिन्न भन्ने भाव झल्किन्थ्यो । माधव नेपालमा भने सत्ता नहुँदा आफूहरूको अस्तित्व सकिने चिन्ता भेटिन्थ्यो । त्यसैले त अहिले प्रचण्ड, रवि र माधवहरू एकै ठाउँमा उभिन पुगेका छन् । २८ असार २०७८ मा परमादेशले प्रधानमन्त्री पद शेरबहादुर देउवालाई बुझाउन बाध्य भएका केपी ओली २८ असार २०८१ मा आइपुग्दा उनै देउवाको समर्थनमा प्रधानमन्त्री बनेपछि ओलीप्रति प्रचण्डको दृष्टिकोण अत्यन्त नकारात्मक बनेको उनको अभिव्यक्तिमा देखिन्छ । प्रचण्डले बुझ्नुपथ्र्यो– हिजो गोली छोडेर हैसियत प्राप्त भएको हो भने आज ओलीले छाड्दा हैसियत गुम्दै छ । त्यसैले प्रचण्डले घमण्ड गर्नुको कुनै अर्थ छैन ।
तैपनि प्रचण्ड घमण्डका साथ बोल्दै छन् र भन्दै छन्, “विजयी भएर सत्ताबाट बाहिर निस्किएँ ।” जबकि वास्तविक रूपमा उपयोगितावादी रणनीतिले उनको हैसियत दिनानुदिन खस्किँदै छ । यति बेला प्रचण्ड सत्तामा नहुँदा पानीबिनाको माछा जस्तो भएका छन् । त्यसको भाव उनको घमण्डपूर्ण अभिव्यक्ति र माओवादी केन्द्रमा बढ्दो अन्तरसंघर्षमा देखिँदै छ । त्यसैले त उनले पार्टीको नेतृत्वमा ‘प्रचण्डको विकल्प’ छैन भन्न कार्यकर्ताहरूलाई लगाएका छन् । प्रधानमन्त्री बन्न र भइरहन नेका र एमालेलाई उपयोग गरे झैं पार्टी अध्यक्ष भइरहन प्रचण्डले पार्टीभित्रका प्रतिस्पर्धीहरूलाई उपयोग गर्ने रणनीति कायम राखेका छन् । अब उनको रणनीतिले कति र कसरी काम गर्छ यसै भन्न सकिन्न ।
माओवादी केन्द्रमा एकल निर्णय गर्दै पार्टी र राज्य सत्ताको नेतृत्वमा पुगेका प्रचण्डका लागि अबका दिन त्यति सहज हुने छैनन् भन्ने कुरा त्यस पार्टीका नेताहरूको बोलीमा देखिन्छ । अनौपचारिक कुराकानीमा उनीहरू भन्ने गर्छन्, “प्रचण्डका कारणले पार्टीलाई लाभभन्दा क्षति बढी भएको छ । शान्ति प्रक्रियामा आएदेखि नै हेर्ने हो भने प्रचण्डले गरेका निर्णयले पार्टीलाई ओरालो यात्रमा हिँडायो । प्रचण्डका कारणले माओवादी केन्द्रमा सामूहिकता हरायो र आजको हालतमा पार्टीलाई पु¥यायो ।”
प्रधानमन्त्री पद गुमेपछि पार्टीको नेतृत्वमा कायम रहने रणनीतिका साथ प्रचण्डले फेरि समाजवादी मोर्चा ब्युँत्याउने प्रयास गर्दै छन् । यसका लागि प्रचण्डले विप्लव र माधव नेपाललाई दायाँबायाँ राखेर समाजवादी मोर्चामा सक्रिय बनाउँदै छन् र उपेन्द्र यादवलाई पनि मोर्चामा संलग्न हुन आह्वान गरिरहेका छन् । यो लेखकको विचारमा अब प्रचण्डको उपयोगितावादी रणनीतिले काम गर्ने अवस्था छैन किनभने नेपालको राजनीतिमा प्रचण्डबाट धोका पाएकाहरू ब्युँझिएको अवस्था देखिएको छ ।
प्रचण्डले २०५२ सालदेखि सुरु गरेको अतिवादी राजनीति न हिजो माओवादबाट प्रेरित थियो, न त आज नै । तैपनि देशले ठूलो जनधनको क्षति मात्र व्यहोर्नु परेन नेपालको राजनीतिमा दक्षिणको चलखेल पनि बढाएको थियो । तर, शान्तिका नाममा प्रचण्डलाई विधिसम्मत दण्डित गर्न नसक्दा आज देशमा जबरजस्ती र हिंसाको राजनीतिले अझै प्रश्रय पाइरहेको छ । जसले गर्दा प्रचण्डको घमण्ड घटाउन सकेको छैन । यसबाट प्रेरित भएर अहिले बहर (बालेन+हर्क+रवि) हरूले भ्रमपूर्ण भाष्यको जगमा लोकरिझ्याइँवादी राजनीति गर्न खोजिरहेका छन् । त्यसैले भन्न सकिन्छ– उपयोगितावादको सहउत्पादनका रूपमा बहरहरू देखिएका छन् ।
यसले राजनीतिमा विचार, त्याग र योगदान होइन भ्रमपूर्ण भाष्य अनि अराजकता र स्वछन्दता आवश्यक हुन्छ भन्ने खराब प्रवृत्तिले प्राथमिकता पाएको छ । यसका साथै राजनीतिक तथा संवैधानिक अस्थिरता सिर्जना गर्ने आधार पनि बनाउँदै छ । तैपनि प्रचण्ड घमण्डका साथ मेरो उपयोगितावादी रणनीति ठिक छ भन्दै पार्टीका आन्तरिक बैठकहरूमा प्रस्तुत भइरहेका छन् । तर, प्रचण्डले बुझेनन्, शान्ति प्रक्रियापछि बढेको उनको राजनीतिक कद नेकपा (एमाले) अर्थात् ओलीलाई तर्साउन खोज्दा घट्न थालेको थियो । तापनि प्रचण्डले ओलीलाई कमजोर बनाउन माधव र झलनाथहरूलाई प्रयोग गरिरहेका छन् । नेकपा एस र समाजवादी मोर्चा त्यसको उदाहरण हो । अहिले प्रचण्डले बहरहरूलाई पनि उपयोग गर्ने रणनीतिबमोजिम गतिविधिहरू गरिरहेका छन् ।
अन्तमा प्रचण्डको उपयोगितावादी रणनीतिका कारणले आज माओवादी पार्टी क्षतविक्षत भएको छ । २०६३ सालमा शान्ति प्रक्रियामा आउँदा प्रचण्ड आमजनताका लागि हिरो बनेका थिए । उनीमाथि जनताको अपार अपेक्षा थियो । तर, प्रचण्डले अपनाएको रणनीतिका कारणले माओवादी पार्टी त सकियो, यसका साथै नेपालको कम्युनिष्ट राजनीतिप्रति पनि वितृष्णा पैदा गराए । आज जनतालाई प्रचण्डको बदमासी बुझाउनुका साथै परिपूर्ण लोकतन्त्र बलियो बनाउन कम्युनिष्ट राजनीति बलियो बनाउनुपर्छ भन्ने कुरा बुझाउँदै प्रचण्डको घमण्ड चकनाचुर बनाउन सक्नुपर्छ ।
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार ९ : ०८ बजे
प्रतिक्रिया