‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लोकतान्त्रिक गणतन्त्र कसैको निगाहमा पाएको होइन: पूर्वराष्ट्रपति भण्डारी (भिडियोसहित)

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र सामवेशिता कसैको निगाहबाट नभई लामो त्याग र संघर्षबाट प्राप्त भएको बताउनुभएको छ । 

तुल्सीलाल अमात्यको २७औं स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

“२०६२/६३ सालमा भएको शान्तिपूर्ण जनआन्दोलनद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली अन्तर्गत आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहज रूपमा प्राप्त भएका होइनन्,” भण्डारीले भन्नुभयो । 

यस्तै उहाँले कम्युनिष्ट आन्दोलनका अग्रज महिला नेतृ सहाना प्रधानको अध्यक्षतामा गठन भएको संयुक्त वाम मोर्चामा तुल्सीलाल अमात्य मानार्थ अध्यक्ष रहनुभएको इतिहासको स्मरण समेत गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले पुरानो प्रसङ्ग जोड्दै भन्नुभयो, “यही वाममोर्चा र नेपाली कांग्रेसको संयुक्त पहलमा २०४६ साल फागुन ७ गतेदेखि सञ्चालन भएको ऐतिहासिक जनआन्दोलनको सिलसिलामा ७३ वर्षे वयोवृद्ध उमेरमा पनि त्यस बखत प्रतिबन्धित रहेको कम्युनिष्ट पार्टीको हँसिया हथौडा अंकित रातो झन्डा हातमा लिएर पञ्चायती शासकलाई चुनौती दिँदै खुला रूपले सडकमा आउने उहाँ पहिलो कम्युनिष्ट नेता हुनुहुन्थ्यो।” 

नेकपाको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएका तुल्सीलाल अमात्य वि.सं. १०१९ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव निर्वाचित हुनुभएको थियो । वि.स‌ं. २००९ सालतिर तुल्सीलालको अगुवाइमा बारा, रौतहट र सर्लाही जिल्लामा ऐतिहासिक किसान आन्दोलन भएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लाखौँ किसानको सहभागिता रहेको उक्त आन्दोलनको सिलसिलामा करोडौँ रुपैयाँ बराबरका जाली तमसुक च्यात्ने कामसमेत अमात्यको नेतृत्वमा भएको स्मरण गर्नुभयो । 

२०१५ सालमा सम्पन्न पहिलो ऐतिहासिक आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले कुल चार स्थानमा जितेको थियो । त्यसमध्ये तुलसीलाल अमात्य ललितपुरबाट संसद् सदस्यमा निर्वाचत हुनुभएको थियो। नेकपाको संसदीय दलको नेताका रूपमा समेत अमात्यले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको भण्डारीले बताउनुभयो । 

डा. केशरजंग रायमाझीसहितका नेताले २०१७ सालमा निर्दलीय तानाशाही पञ्चायती व्यवस्था लादिएको शाही कदमलाई समर्थन गरेको तितो क्षणबारे चर्चा गर्दै पूर्वराष्ट्रपति भण्डारीले २०१९ सालमा बनारसमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनबाट तुल्सीलाल अमात्य पार्टीको महासचिवमा निर्वाचित हुनुभएको इतिहासको सान्दर्भिक वर्णन गर्नुभयो ।  

तुल्सीलालको साहसिक कदमको सराहना गर्दै उहाँले भन्नुभयो, “पार्टीलाई दरबारमा बुझाउने र कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने षड्यन्त्रलाई परास्त गर्दै पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको महत्त्वपूर्ण योगदान रहेको छ ।” 

२०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था पुनः स्थापना गर्न वामपन्थी र नेपाली कांग्रेस मिलेर संयुक्त जनआन्दोलन गर्ने उद्देश्यका साथ विभिन्न सातवटा कम्युनिष्ट घटकहरू सम्मिलित संयुक्त वाममोर्चाको निर्माणमा समेत तुल्सीलालको सक्रिय योगदान रहेको उहाँले बताउनुभयो । 

नेपालमा जहानियाँ राणा शासन तथा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्रको स्थापनाका लागि भएका हरेक आन्दोलनहरूमा सहभागी हुने सिलसिलामा तुल्सीलाल अमात्यले कयौँ पटक गिरफ्तारीमा परेको स्मरण गर्दै भण्डारीले तत्कालीन शासकले उहाँको सर्वस्वहरण गरेको तितो विगतको प्रसङ्ग समेत जोड्नुभयो ।  

कम्युनिष्ट आदर्शबाट कहिल्यै विचलित नभएको स्मरण गर्दै पूर्वराष्ट्रपति भण्डारीले अमात्य निःस्वार्थ त्याग र समर्पणका साथै स्वच्छ राजनीतिक मूल्य र मान्यताका साथ निरन्तर रूपमा आन्दोलनमा लागि रहने प्रेरक व्यक्तित्व भएको बताउनुभयो । 

उहाँको यस उच्च क्रान्तिकारी नैतिकता र चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने उल्लेख गर्दै भण्डारीले सरल जीवन र उच्च विचारका धनी गाउँका निमुखा गरिब किसान, मजदुर एवं आम श्रमजीवी वर्गप्रति देखाउनुभएको वर्ग पक्षधरता, सद्भाव र समर्पण भावलाई एक कम्युनिष्ट नेतामा हुनैपर्ने अपरिहार्य गुणका रूपमा लिन सकिने बताउनुभयो । 

अमात्यले आफ्नो राजनीतिक जीवन सुरु गरे यताका सात दशकको अवधिमा नेपाली समाज र राजनीतिमा युगान्तकारी परिवर्तनहरू भएको र यी परिवर्तन र उपलब्धिहरूमा तुल्सीलाल अमात्य लगायत हजारौँ नेता कार्यकर्ताको अटूट संघर्ष, त्याग र बलिदानको लामो संघर्ष रहेको कुरालाई वर्तमान पुस्ताले बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपाली राजनीतिमा हाल देखापरेको वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा आएको क्षयीकरणको सन्दर्भमा अमात्यले जीवनपर्यन्त सिद्धान्त र आन्दोलनप्रति दर्साउनुभएको प्रतिबद्धता, समर्पण, त्याग, आदर्श, आचरण, सादा जीवनशैली र अध्यनशीलताबाट वर्तमान युवा पुस्ताले प्रेरणा लिनुपर्दछ ।”
 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ६ : ५० बजे