देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सेनाको कमाण्ड सम्हाल्दै बलाधिकृत रथी सिग्देल

काठमाडौँ । मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोक्नुभएसँगै सङ्गठनको नेतृत्व गर्ने बाटो खुलेको हो ।

यही साउन १० गतेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताका आधारमा रथी सिग्देललाई कामु भई प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । प्रधानसेनापति अवकाश हुनु एक महिनाअघि घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाउनुभएको हो ।

बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गर्नुभएको छ । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उहाँले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गर्नुभएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिनुभएका बलाधिकृत रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।
 
३८ वर्षको सैन्य जीवनमा उहाँसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गर्नुभएको थियो ।
 
कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उहाँले काम गर्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्नुहुने रथी सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाउनुभएको छ । उहाँले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसक्नुभएको छ ।

सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उहाँ सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित हुनुहुन्छ । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान ​​​​पु-याएबापत उहाँले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाउनुभएको छ ।
 
नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी तोकेको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ ।

नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पु-याउँदै आएको छ । नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानव अधिकार प्रवर्द्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा महिलासहित ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पु-याइसकेका छन्भने हाल विभिन्न ११ मिसनमा ५ हजार ९ सय १६ सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।
 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : ४५ बजे