देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बैरागीको गुमनाम बहिर्गमनमा सिंहदरबार बेखबर 

काठमाडौं । शक्तिशाली राष्ट्रको राजदूत पद उछिट्याउन खोजेका सरकारका सुरक्षा सल्लाहकार शंकरदास बैरागीले त्यो नपाएपछि राजीनामा दिएको बुझिएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएपछि बैरागीले भारतको राजदूत हुने मनसुवा राखेर दौडधुप गर्नुभएको थियो । बैरागीको दौडधुपमा प्रधानमन्त्री ओलीले हरियो संकेत नदेखाउनुभएपछि राजीनामा दिएको स्रोतले बताएको छ । 

परराष्ट्र सेवामा प्रवेश गरे पछि कुनै समय भारतमै कूटनीतिक मामिलासम्बन्धी ज्ञान लिनुभएका बैरागीले सोही कारण आफूले भारतको राजदूत पाउनुपर्ने दलिल गर्दै आउनुभएको थियो । त्यसो त शंकर बैरागी सुरक्षा सल्लाहकारको पदमा नियुक्त हुनुलाई नै प्रशासन संयन्त्रमा स्वाभाविक मानिएको थिएन । 

जीवनभरि परराष्ट्र सेवामा काम गरेका बैरागीलाई सुरक्षाको ‘स’ पनि थाहा नभएको ठाउँमा गएर पदलोलुपता प्रदर्शन गरेको आरोप लागिरहेको थियो । त्यसमाथि समय अगावै बैरागीले पद छोड्न तयार हुँदा निजामती प्रशासनमा अस्थिरता भित्रिएको र राजनीतिक नेतृत्वले खेल्ने अवसर पाएको व्याख्या भइरहेको छ । 

त्यसो त बैरागीलाई यसअघि ओली नेतृत्वको सरकारले मुख्य सचिव बनाएको थियो । त्यतिबेला परराष्ट्र सेवाका बैरागीलाई मुख्य सचिव बनाउन नहुने भन्दै प्रशासन सेवाका कर्मचारीले ठुलै आवाज उठाए पनि अघिल्लो पटक प्रधानमन्त्री ओलीले त्यसलाई चिरेर मुख्य सचिव बनाउनुभएको थियो । 

स्रोतका अनुसार आफूले विश्वास गरे अनुरूप कार्यसम्पादनमा नगरी बीचमै पद छोडेर हिँडेका कारण हुन सक्छ, यसपालि प्रधानमन्त्री ओलीले पत्याउनु भएन वा थप जिम्मेवारी दिन चाहनुभएन । 

‘परिणम यस्तो भयो कि पराराष्ट्र सेवामा रहेर देश–विदेश चहारेका र धेरैलाई पछारेर मुख्य सचिव भएका बैरागीले  सिंहदरबारबाट बिदा लिएको हामी सचिवले पनि थाहा पाएनौँ,’ एक सचिवले भने । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा सुरक्षा सल्लाहकार नियुक्त बैरागीलाई त्यति बेलै कुनै शक्तिशाली मुलुक (भारत, अमेरिका वा बेलायत) को राजदूत दिने सर्तमा मुख्यसचिवबाट राजीनामा गराइएको थियो । 

मुख्य सचिवको तीनवर्षे कार्यकाल तीन महिना बाँकी हुँदै बैरागीले राजीनामा दिनुलाई सकारात्मक मानिएको थिएन । बैरागीले राजीनामा दिँदा सूर्य गौतमको गाँसमा आएको मुख्य सचिव दुई दिनपछि अवकाश हुने डा. वैकुण्ठ अर्यालको भागमा घोप्टिएको थियो । 

अर्याल अहिले टेरामक्स घोटला काण्ड लागेर निलम्बनमा परेका छन् । ३८ करोड बिगोको मुद्दा लागेका अर्याललाई विशेष अदालतले ५० हजार धरौटी जमानत लिएर मुद्दा लड्ने सुविधा दिएको छ । 

अवकाश पाउन तीन महिना बाँकी हुँदा बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको थियो । मुख्य सचिवमा अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकारमा वैरागीको नियुक्त एकैदिन भएको थियो । पछिल्लो पटक भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : २७ बजे