सुनको मूल्यमा नयाँ कीर्तिमान

जनताका समस्या समाधान गर्नु मेरो प्रमुख दायित्व हो : प्रधानमन्त्री

सिन्धुपाल्चोक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि राजनीतिभन्दा जनता प्यारो भएको बताउनुभएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले अहिले मुलुकको विषम परिस्थितिमा भए पनि जनताको समसया समाधान गर्नु आफ्ने प्रमुख दायित्व भएको बताउनुभयो । 

सिन्धुपाल्चोकका विभिन्न बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनपछि मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  भन्न्ुभयो, ‘तपाईंहरूलाई थाहा छदैछ अहिलेको राजनीतिक अवस्था तर मलाई त्यो भन्दा तपाईंहरूका पीडा र दुःख महत्वपूर्ण लाग्छ, त्यसकारण म यहाँ आँए,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘जनताका समस्या समाधान गर्नु मेरो प्रमुख दायित्व हो,त्यही भएर जनताको दुःख बुझ्न आफैँ आएको हुँ।’

 

मेलम्चीमा आयोजित चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढीबाट छेदविच्छ्द मेलम्ची र हेलम्बुको पुनर्निर्माण र पुनर्स्थापनाका लागि योजना बनाउन आफू स्थलगत निरीक्षणमा आएको बताउनुभयो । तत्कालीन र दीर्घकालीन रुपमा के र कसरी गर्न सकिन्छ भनेर आफू प्राविधिक टोलीसहित यहाँ आएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले पुनर्निर्माण ठिक ढङ्गले र शीघ्रभन्दा शीघ्र अगाडि बढाउन पनि निर्देशन दिनुभयो ।

हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्र पुग्नुभएका प्रधानमन्त्री ओलीले बाढी प्रभावितहरूको अवस्था बुझ्नुका साथै स्थानीय जनप्रतिनिधिहरूसँग पुनर्निर्माण र पुनर्स्थापना कसरी गर्ने भन्ने विषयमा समेत छलफल गर्नुभयो । 

प्रधानमन्त्री ओलीले बाढी पीडितलाई राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाउनसमेत आग्रह गर्नुभएको छ । ‘कसैलाई राहत दिन मन लागे ल्याएर स्थानीय तहलाई जिम्मा दिनुहोस्,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘कसलाई कति राहत आवश्यक छ भनेर जनप्रतिनिधिले जान्नुहुन्छ । उहाँहरूले त्यसैअनुसार वितरण गर्नुहुन्छ ।’

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची पुग्नुभएका प्रधानमन्त्री ओलीले विस्थापितहरूसँग भेटघाट गर्दै बाढी प्रभावितहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्थायी बसोबासका लागि थप पाँच लाख उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनुभयो । 

प्रधानमन्त्रीले आजै बाढी प्रभावित हेलम्बु गाउँपालिकालाई २ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २ करोड र मेलम्ची नगरपालिकालाई रु १ करोड ६५ लाखको चेक हस्तान्तरण गर्नुभयो । 
गत असार एक गते सिन्धुपाल्चोकमा आएको बाढीले हेलम्बू, मेलम्ची, थाङपाललगायतका ठाउँमा बाढीपहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । साथै, अर्बौंको भौतिक संरचना नष्ट भएको छ ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : १० बजे