‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्‍वान

​​​​​​​काठमाडौँ । रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्षको लागि सरकारले दरखास्त आह्वान गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै १५ दिनभित्र योग्यता पुगेको व्यक्तिले आवेदन गर्न सकिने व्यहोरासहित सूचना जारी भएको हो । 

यसअघि अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदमा हुनुहुन्थ्यो । दुईवर्षे कार्यकाल सकिएपछि बिहीबार नै उहाँको बिदाई भइसकेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ अध्यक्ष चयनका लागि सूचना जारी गरेर प्रक्रिया अघि बढाएको हो । अबको डेढ महिनाभित्र नयाँ अध्यक्ष चयन गर्ने गरी काम गर्न लागेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

चलचित्र  (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ तथा यसै ऐनअन्तर्गत बनेको नियमावलीमा बोर्ड अध्यक्षको योग्यता तोकिएको छैन। तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ मा भने चलचित्र विकास बोर्डका अध्यक्ष बन्नका लागि केही मापदण्ड राखिएका छन् ।

सोही अनुरूपका मापदण्ड तोकेर मन्त्रालयले सूचना जारी गरेको हो । सो पदका लागि नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।  आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको योग्यता तोकेको छ ।

त्यस्तै प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता मन्त्रालयले तोकेको छ ।

साथै प्रचलित कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

हाल चलचित्र विकास बोर्डको अध्यक्षको आकांक्षीको रूपमा फिल्म निर्देशक दिनेश डीसी, अभिनेत्री करिष्मा मानन्धर, निर्देशक दयाराम दाहाल, निर्माता अर्जुनकुमार डंगोल, निर्माता तथा हल सञ्चालक नरेन्द्र महर्जनको नाम चर्चामा छ। 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ९ : २५ बजे