अष्ट्रेलिया आएको पनि यो महिना १७ वर्ष भयो । हरेक वर्ष हिउँद आउँछ, जान्छ । जाने बित्तिक्कै उखपात जाडो भएको बिर्सिंदो रहेँछु । कस्तो गर्मी हो भन्न थालिहाल्छु । केही वर्ष अगाडिसम्म चुनौती (आफूलाई असहज लाग्ने हरेक परिस्थिति चुनौती लाग्ने रहेछ ) सामना गर्ने तरिका फरक थियो । फेरि बुझेँ चुनौती त हरेक मोडमा हुने रहेछ । घाँटी दुख्दा पकाएर दिएको दुधमाम निल्न पनि चुनौती नै लाग्ने ! अब बिस्तारै बुझ्दै छु चुनौती त हुने नै रहेछन्, त्यो सहज हुन्छ कि असहज आफूले लिने तरिकामा भर पर्दो रहेछ ।
जब भोग्नैपर्छ भने किन दुखी हुने, हेरुम् न अझै कति यस्ता चुनौती आउने रहेछन् भन्ने सोचेर जब मैले चुनौतीलाई हेरेँ अनि सबै चुनौती अवसरमा परिणत हुन थाले । यो भन्नुको मतलव मलाई पिर नपर्ने, चित्त नदुख्ने, गाह्रो नहुने, यो संसारबाट भागेर अन्तै जान पाए पनि हुने, गाडी चलाउँदै गर्दा हाइवे एक्जिट गरेर घर आउन सट्टा गाडी चलाउँदै अनन्तमा विलीन हुँ जस्तो नलाग्ने हैन, लाग्छ । कहिलेकाहीँ गाडी साइडमा रोकेर धित मरिन्जेल रुन्छु पनि । सबै विषम परिस्थिति टर्ने रहेछन्, टरेको भोगेको पनि छु। This too shall pass . इमान्दारी, धैर्य, परिश्रमी, कर्तव्यपरायण र आफ्नो भूमिका के हो बुझ्यो भने अरू सबै कुरा आफैँ मिल्ने रहेछन् ।
भगौडा भएको फिटिक्कै चित्त बुझेको छैन । हरेक क्षण मलाई नेपाल मिस हुन्छ । नेपालको स्थिति बिग्रनुमा मेरो भगौडा पुस्ता केही हदसम्म जिम्मेवार छ । त्यो पनि बुझेको छु, गर्न भने केही सक्ने हैन । यति बेला बुवाआमा अष्ट्रेलियामा हुनुहुन्छ । उहाँहरूको हरेक गतिविधि म नजिकबाट नियालिरहेको छु । जिन्दगीमा केही कुरामा मलाई गुनासो छैन । छोरीहरूप्रतिको जिम्मेवारी निभाउँदै गर्दा बुवा आमाप्रतिको कर्तव्य राम्रोसँग निभाउन नसकेको महसुस हुन्छ । जिन्दगीमा आफूप्रतिको मेरो गुनासो यही एउटा छ ।
यी १७ वर्षमा थुप्रै कुरा सिकेको छु, सिक्न धेरै बाँकी छ भने कुराको गहिरो बोध छ । यो यात्रामा मलाई साथ दिनुहुनेहरू हृदयको कुनामा हुनुहुन्छ र हरेक दिन बिहान उठ्ने बित्तिक्कै मेरो शिर उहाँहरूको गोडामा पुग्छ ।
बुवाआमा सँगै हुँदा दिदीबहिनी र भाइको अझै धेरै याद आएको छ । बुवाआमाहरूको बारेमा केही लेख्न मेरा शब्दले भ्याउँदैनन् । हजुरहरूको आशीर्वाद नै मेरो सबैभन्दा बलियो र भरपर्दो सारथि हो ।
हजुरहरूको दिन शुभ रहोस् !
प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार ४ : ४८ बजे
प्रतिक्रिया