‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 माधवको हठले ज्वाइँदेखि पीएसम्म बर्खास्त

काठमाडौं। नेकपा एसका अध्यक्ष माधव नेपालको हठले  उहाँ मात्रै होइन आफन्तसमेत  सत्ताबाट सडकमा थचारिनु पर्ने अवस्था देखिएको छ  । यसरी थचारिनेमा नेकपा एसका कार्यकर्ता मात्र नभएर नेपालका ज्वाँई र पिएसम्म परेका छन् । केही  साता अघिसम्म ‘आफू प्रधानमन्त्री हुने भएकोले कसैलाई भतभती  पोलेको’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रति ब्यङ्ग गर्ने नेपाल अहिले आफै तासको खेलमा चिडको दुक्का जस्तो भएको महसुस  गरेको   उहाँ निकटले जानकारी दिएका छन् । नेकपा एसले नयाँ सरकारलाई असहयोग गर्दै विश्वासको मत नदिएका कारण पनि यस्तो अवस्था आएको स्रोतले बतायो  

स्रोतका अनुसार सरकारले नेकपा एस र माओवादी कोटाबाट राजनीतिक नियुक्ति पाएका सबैलाई हटाउन सुरु गरेको  छ। कतिपय ठाउँमा कानुनी रूपमा हटाउन नमिल्ने भएपछि त्यसका लागि कानुनी बाटो समेत खोजी भइरहेको बताइएको छ। 

सोमबार बसेको मन्त्री परिषद्को बैठकले नेकपा एसका अध्यक्ष माधव नेपालका ज्वाइँ कैलाश पोखरेल सहित पाँच देशका राजदूतलाई फिर्ता बोलाएको छ। 

अस्ट्रेलियाका कैलाशराज पोखरेल,चीनका राजदूत विष्णु पुकार श्रेष्ठ,रुसका मिलन तुलाधर, श्रीलङ्काका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पोखरेल  एसका अध्यक्ष माधव नेपालका सहोदर बहिनी ज्वाँई हुन् । त्यसै गरी फिर्ता बोलाइएका मध्ये तुलाधर र तामाङ  पनि नेकपा एसका कोटाबाट राजदूत बनाइएका थिए। बाँकी भने माओवादी कोटाबाट राजदूत बनेका थिए। 

तर यस अघि कांग्रेस कोटाबाट  भारतका राजदूत बनेका शङ्कर शर्मालाई भने  निरन्तरता दिने सरकारले निर्णय गरेको छ। 

बैठकले नेकपा एसका कोटाबाट प्रदेश प्रमुख बनेका यादव शर्मा सहित तीनलाई हटाएको छ । शर्मा लामो समय  नेपालका स्वकीय सचिव रहनुभएको थियो। 

 सरकारले तीन प्रदेश प्रमुख हेरफेर गरेको छ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त  गर्ने निर्णय गरेको हो ।  

मन्त्रिपरिषद् बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ती मगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ। 

बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई हटाएर उहाँहरूलाई नियुक्ति गरिएको हो ।  शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश प्रमुख बन्नुभएको थियो। 

सोमबारको बैठकले अमेरिकामा पूर्वमुख्य सचिव लोक दर्शन रेग्मी र बेलायतमा पूर्व सचिव चन्द्र घिमिरेलाई सिफारिस गरेको छ। त्यस्तै दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फे र मलेसियामा नेत्र तिम्सिनालाई सिफारिस गर्ने निर्णय गरेको छ भने चीनमा कृष्णप्रसाद ओली र जर्मनीमा शैल रुपाखेती सिफारिस हुनुभएको छ। त्यसै गरी पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सिफारिस हुनुभएको  छ । 

स्पेनमा सनिल नेपाल र साउदी अरबमा नरेश विक्रम ढकाल सिफारिस हुनुभएको छ । 

इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेललाई  सिफारिस गर्ने  निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ।  

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १० : ३७ बजे