‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नयाँ पुस्ताले विगतको योगदानलाई बिर्सन हुँदैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्ताले विगतको योगदानलाई बिर्सन नमिल्ने बताउनुभएको छ ।

शनिबार एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूत पिसाचका कथा सङ्ग्रह लोकार्पण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा थुप्रे अग्रजहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएकाे हाे । राजनीतिक र समाज परिवर्तनको सन्दर्भमा उहाँहरूको योगदानले महत्त्वपूर्ण भूमिका खेलेको पोखरेलले प्रष्ट पार्नुभयो । ‘तर हामी अभावले यति छटपटिएका छौँ कि, विगतका योगदानहरूको सम्झना र त्यसको सम्मान गर्ने कुरा आजको नयाँ पुस्ताका लागि बडा कठिन भएको छ, हाम्रा अग्रजहरूले, पुराना पुस्ताले दुःख कष्ट गरेर आजको समाज निर्माण गरेको हो भन्ने कुराको अनुभूति गर्न सकिराखेको छैन, किनकि ऊ विगतको अभावबाट बाहिर छ ।’ महासचिव पोखरेलले भन्नुभयो ।

आजको नयाँ परिवेशबाट अझ अगाडि बढ्न खोज्दा खेरी नयाँ पुस्ताले नेपाल एक समय कस्तो थियो भन्ने कुराको परिकल्पना पनि गर्न नसकेको उहाँले बताउनुभयो । उसले नेपाल परिवर्तन गर्न नसकेको मात्र ठान्ने गरेको महासचिव पोखरेलको भनाइ छ ।

देश कति परिवर्तन भयो भन्ने कुरा पुरानो पुस्ताको भोगाइलाई पढ्दा थाहा हुने उहाँले बताउनुभयो । उहाँले यति बेला समाजलाई सही बाटो देखाउने अध्येताको खाँचो रहेको बताउनुभयो । अहिले नयाँ पुस्ता कस्तो सांस्कृतिक मान्यताबाट अघि बढ्ने भन्ने अन्यौलताको अवस्थामा रहेको उहाँले बताउनुभयो । नयाँ पुस्ता अहिले जटिल मोडमा उभिएको महासचिव पोखरेलको धारणा छ ।

अहिले समाज सामाजिक अराजकता तर्फ प्रवेश गरेको बताउँदै उहाँले यो देशको लागि सबैभन्दा चुनौतीको विषय रहेको बताउनुभयो । सामाजिक अराजकता तर्फ प्रवेश गरेको समाजलाई विचार, साहित्य र सिर्जनाको माध्यमबाट मात्रै सही दिशामा ल्याउन सकिने उहाँको धारणा छ ।

आजको नयाँ पुस्तालाई प्रचारवादले प्रभाव पारेको बताउँदै महासचिव पोखरेलले समाजलाई स्वच्छन्दता तर्फ लैजान लागेको धारणा राख्नुभयो । यसले मौलिक सांस्कृतिक मूल्य मान्यतालाई विगठन गरी मनलाग्दी गर्ने अवस्था बन्ने पोखरेलले बताउनुभयो । यसबाट समाजलाई जोगाउने दायित्व पुरानो पुस्ताका सामाजिक अगुवाको भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ५ : ११ बजे