‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विन्दा पाण्डेको पुस्तक ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ सार्वजनिक

काठमाडौँ । नेकपा एमालेका नेता विन्दा पाण्डेको पुस्तक ‘संसदीय राजनितिमा लैङ्गिक सहभागिता’सार्वजनिक भएको छ। 

काठमाडौँमा शुक्रबारआयोजित कार्यक्रममा लेखक पाण्डे, कांग्रेस नेता तथा पूर्वउपसभामुख पुष्पा भुसाल, एमाले सांसद रघुजी पन्त, नेकपा माओवादी केन्द्रका सांसद रेणु चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार,  कृषि विज्ञ ईन्द्रराज पाण्डे ( लेखिका पाण्डेका जेठो दाजु ) र लेखिकाले  संयुक्तरुपमा पुस्तकको बिमोचन गर्नुभयो। 

पुस्तकमा नेपालको संसदीय राजनीति र महिला सहभागिता, संविधानसभा गठनदेखि संविधान घोषणासम्मका सम्पूर्ण प्रक्रिया र काम तथा संघीय लोकतान्त्रिक गणतन्त्र र निर्वाचनजस्ता विषयमा गहिरो गरी लेखिएको छ। साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ।

पुस्तक सार्वजनिक गर्दै वक्ताहरूले यो पुस्तक संविधानसभा र संघिय संसद्को अभ्यासका विविध आयामका बारेमा एक ऐतिहासिक दस्तावेज भएको बताउनु भयो ।  उहाँहरुले राज्यका सबै निकायमा समावेशी सिद्धान्तका आधारमा समानुपातिक सहभागिताको हक हुने उल्लेख भए पनि यसको कार्यान्वयनको पक्ष झन् खस्किदै गएको भन्दै  चिन्तासमेत व्यक्त गर्नुभयो।

संसदीय राजनीतिमा लैङ्गिक सहभागिता पुस्तकमाथि समीक्षा गर्दै कांग्रेस नेता पुष्पा भुसालले हालको संवैधानिक व्यवस्था प्राप्तिका लागि आफूहरूले धेरै लडेको तर कार्यान्वयनमा नतिजा नदेखिएको बताउनुभयो।

‘संसदीय अभ्यास र संसदीय प्रक्रियामा अपनाउनुपर्ने सम्पूर्ण जानकारी, लैङ्गिताको सवाल र तथ्याङ्कहरूसमेत भएकाले यो पुस्तक एउटा ऐतिहासिक दस्ताबेज भएको छ,’ उनले भनिन्, ‘यसलाई संसद्को पाठ्यक्रमै रूपमा प्रस्तुत गर्न सकिन्छ।’

नेकपा एमालेका नेता रघुजी पन्तले नेपालमा मात्रै नभएर लैङ्गिक समानताको विषय विश्वभरि नै उत्तिकै पेचिलो रहेको बताउनुभयो। लैङ्गिक सहभागिताको सवालमा नेपालको संसद् र यसका लागि बनेका कानुनहरू उदार नै रहेको बताउँदै उहाँले कार्यान्वयनको पक्षमा भने अझै दबाब दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

संसदमा गुणात्मक सहभागिताको विषयलाई पनि मध्यनजर गर्नुपर्ने भएकाले सांसदहरू तथा राजनीतिमा रहेका महिलाहरूले अध्ययनलाई थप बढाउनुपर्नेमा उाहँको जोड थियो। यो पुस्तक संसदीय अभ्यासको कोशेढुङ्गा साबित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

यसैगरी नेकपा माओवादी केन्द्रका सांसद रेणु चन्दले २०६४ को संविधानसभामा देखिएको महिला सहभागिता र हालको संसदमा रहेको महिला सहभागिताको तुलना गर्दा कमजोर अवस्थामा रहनु चिन्ताको विषय रहेको धारणा राख्नुभयो । उहाँले महिलाहरूले आफ्नो सहभागिताका लागि आफ्नै दलका नेताहरूसँग पनि लड्नुपर्ने स्थिति रहेको बताउनुभयो । 

कार्यक्रममा  रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जसलाई आवश्यक हो उसले नै आवाज नउठाएसम्म उपलब्धि नहुने धारणा राख्नुभयो ।  यो पुस्तक संसदीय अभ्यासमा छिर्दै गरेका तथा राजनीतिमा चासो राख्ने हरेक व्यक्तिका लागि उपयोगी हुने उहाँको भनाइ थियो।

लेखक पाण्डेले महिला आन्दोलनकै सिलसिला स्वरूप यो पुस्तक प्रकाशनमा ल्याएको बताउनुभयो । आफू पहिलो संविधानसभामा रहेर महिला सहभागिताका लागि काम गर्दै गर्दा आफ्नै पार्टी र पार्टीका सांसदहरूसँगको लडाइँ सम्झिँदै उहाँले यस्तो परिस्थिति अझै अन्त्य हुन नसक्नु दुःखद भएको बताउनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १ : ३८ बजे