‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पूर्वराज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकले गरेको प्रहरी निष्कर्ष !

विधि विज्ञान प्रयोगशालाको रिपोर्टबाट थप खुल्ने 

सर्लाही ।  प्रहरीले चन्द्रनगर गाउँपालिका १ रतनपुरका पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको निष्कर्षनिकालेको छ।

रायको घरमा काम गर्ने कबिलासी नगरपालिका–३ का २१ वर्षीय रामउजैन रायलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो। पूर्वराज्यमन्त्री रायको साउन ६ गते राति रतनपुरस्थित आफ्नै घरमा भएको थियो। 

राति घरमा उनीहरु दुईजना मात्रै थिए। रामचन्द्रको हत्या भएको भन्दै प्रहरीलाई राति रामउजैनले नै खबर गरेका थिए। प्रहरीलाई उनले सुरुमा राति ९ बजेतिर तीनजना व्यक्ति जग्गाको विवाद मिलाउन भन्दै आएको र आफूलाई सुत्न पठाएको बताएका थिए। 

तर राति १ बजे उठेर हेर्दा रामचन्द्रको हत्या भएको आफूले थाहा पाएको र खबर गरेको सुरुवातमा बताएका थिए। तर अहिलेसम्मको छानबिनबाट हत्यामा उनको मात्रै संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुकाे निष्कर्ष छ । 

हत्याको अनुसन्धानका लागि सीआईबीको टोली  अहिले सर्लाहीमा खटिएको छ। अनुसन्धान टोलीले घटनामा प्रयोग भएको चक्कु त्यतिबेलै फेला पारेको थियो। यस्तै रामउजैनले हत्या गर्दा लगाएका कपडा रगतसहित घर नजिकै लुकाएको अवस्थामा फेला पारेको छ। ती सबै सामान परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जानकारी दिएको छ।  

घटना हुँदा केही थाहा नपाएको बताएका रामउजैनले नै प्रहरीलाई राति १ बजेतिर खबर गरेका थिए। ८० वर्षीय  पूर्वराज्यमन्त्री राय  धान रोप्नका लागि घर गएका थिए। 

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ९ : १२ बजे