साफ यू–१७ च्याम्पियनसिप आजदेखि

घनश्यामका समर्थकबाट योगेशमाथि साइबर आक्रमण

काठमाडौं । यतिबेला नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि सामाजिक सञ्जालमा केही नकारात्मक टिप्पणीहरू देखिएका छन् । 

काठमाडौंको पशुपति क्षेत्रमा चलिरहेको कोटी होमका अवसरमा योगेश भट्टराईको सहभागिताको तस्वीर प्रयोग गर्दै नेता योगेशमाथि नियोजित हमला भएको हो । यसरी योगेशलाई गलत देखाउन लागि पर्ने झुण्ड भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एसका नेता कार्यकर्ता रहेको प्रस्टै देखिन्छ । 

पाशुपत क्षेत्रमा विगत एक महिनादेखि चलिरहेको कोटी होमलाई उत्सवकारुपमा लिँदै भारत र नेपालका प्रसिद्ध सनातनी विद्वानहरु सहभागी भइरहेका छन् । प्रसिद्ध शास्त्र वाचिका पवित्रा देवीदेखि राधिका दासीसम्मले प्रवचन दिइरहेको कोटी होममा दैनिक हजारौँ श्रद्धालु भक्तजनहरू पुगिरहेका छन् । 

सोही धार्मिक कार्यक्रम राजनीतिक, सामाजिक क्षेत्रका अगुवाहरूसमेत सहभागी भइरहनु भइरहेको छ । त्यहाँ योगेशको सहभागितामाथि यति साह्रो टिप्पणीको वास्तविकता भने राजनीतिसँग जोडिएको छ । 

अहिले योगेशमाथि यस्तो टिप्पणी गर्नेको सूचीमा देखिनुभएका दिनेश रायमाझी एसका नेता घनश्याम भुसाल निकटस्थ हुनुहुन्छ । रायमाझीको पोस्टमा टिप्पणी गर्ने नन्दराम बन्जाडे हुनुहुन्छ।  बञ्जाडे नेकपा एसका महासचिव घनश्याम भुसालका साढु दाइ हुनुहुन्छ ।  पूर्व प्रशासक बन्जाडे अहिले एसका केन्द्रीय सदस्य हुनुभएको छ । यसरी आलोचना गर्नेहरू अधिकांश नेकपा एसका कार्यकर्ता नै हुन् । 

अचम्म लाग्दो कुरा त के छ भने, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पटकपटक यस्ता धार्मिक कार्यक्रममा सहभागी हुँदा भने यो खालको नकारात्मक टिप्पणी आउने गरेको थिएन । योगेशलाई धार्मिक कार्यक्रममा सहभागी भएकै कारण 'नक्कली समाजवादी' को बिल्ला भिराउनेले माधव नेपालले गेरू वस्त्र धारण गर्दै धार्मिक धार्मिक कार्यक्रममा सहभागी हुँदा चुइँक्क बोल्न सकेका थिएनन् । 

यो दोहोरो शैलीको सिधा अर्थ हो, योगेशमाथिको प्रतिशोध साँध्‍ने मौकाको खोजी । यस्तो हुनुको मुलकारण भने एसका महासचिव घनश्याम भुसालसँग जोडिन्छ । 

निर्वाचनका बेला टिकट नपाएपछि पार्टी छोडेर हिँड्नुभएका घनश्यामका समर्थकहरू पछिल्लो समय योगेशविरूद्ध नियोजित शैलीमा लागिरहेका छन् । कुनै समय योगेश र घनश्यामसँग सहकार्य गरेका एक जना एसका केन्द्रीय सदस्य भन्छन् ‘त्यही भएर अहिले योगेशमाथि आक्रोश पोखिएको हो । घनश्यामले एमाले छोड्दा योगेशले साथ नदिएकोमा घनश्याम समर्थकहरू विक्षिप्त छन् । ’ 

हुन पनि पछिल्लो समय घनश्यामहरूको राजनीतिक अवस्था टिठ लाग्दो बन्दै गइरहेको छ । काठमाडौंमा पूर्व प्रधानमन्त्रीको हैसियतमा  माधवकुमार नेपालको ‘तरङमरङ’ देखिए पनि जिल्ला जिल्लामा एसका कार्यकर्ता विचलित भइरहेका छन् । ‘कतिपय कार्यकर्ताहरू योगेशकै पहलमा एमालेमा फर्किरहेका छन्, त्यही आक्रोश पोख्न अहिले घनश्याम समर्थकले स्याल हुइयाँ मच्चाएका हुन्', योगेश र घनश्याम दुबैसँग सहकार्य गरेका  एक नेता भन्छन्- 'हेर्दै जानुहोस् अब एसमा छिट्टै ठूलै पहिरो जाँदैछ । त्यो बेला घनश्यामले चलाउने भनेको पार्टी हैन एस नामको क्लब मात्रै हो ।’ 

त्यसो त कतिपयले नेकपा एसलाई पश्चिमाहरूको स्वार्थ सिद्ध गर्नका लागि खुलेको पार्टीका रुपमासमेत विश्लेषण गर्ने गर्छन् । अहिले सोही विश्लेषणलाई पुष्टि गर्ने गरी सार्वजनिकरुपमा भइरहेको सनातनीहरूको कार्यक्रममा योगेश पुगेको विषयलाई त्यससँग जोडेर आक्रमण गरेकाले एसको असली नियतसमेत खुल्दै गएको कतिपयको बुझाई छ ।

‘गेरुवस्त्र धारण गर्दैमा कम्युनिस्ट आन्दोलनबाटै विचलित भएको अर्थ लगाउन कहाँ मिल्छ ? फेरि आफ्नै अध्यक्षले त्यही काम गर्दा मौनधारण गरेर पनि बस्ने अनि कम्युनिष्ट आन्दोलनको ठेक्का नै लिएको झैँ गरी  सनातनीका कार्यक्रममाथि आक्रमण जारी राख्ने एस पार्टीको मिसन बुझ्न कठिन छैन', कोटिहोममा सहभागी एक धार्मिक गुरुले आक्रोश पोख्दै प्रतिक्रिया दिनुभयो- 'यी पश्चिमाहरूका दूत हुन्, उनीहरूलाई इतिहासले माफ गर्ने छैन ।'

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ३ : ३२ बजे