साफ यू–१७ च्याम्पियनसिप आजदेखि

 नेप्से उकालो लागेको लाग्यै , शेयर बजारमा हरियाली 

काठमाडौं । यो साता ७३ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नयाँ सरकार गठन हुन अघिदेखि बढेको सेयर बजारमा औषत दैनिक १५ करोड रुपैयाँबराबरको कारोबार हुने गरेको  छ । 
नेपाल स्टक एक्सचेन्जले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साताको अन्तिम कारोबार दिन बिहीबार १५ अर्ब ४७ करोड  रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । त्यसपछि खुलेको बजारमा आइतबार १५ अर्ब १० करोडको कारोबार भएको थियो । सोमबार भने कारोबार रकममा केही करेक्सन आएको थियो । उक्त दिन १३ अर्ब ८३ करोडको सेयर कारोबार भएको थियो । 
साताको मंगलबार १४ अर्ब ५ लाखको कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर १६ अर्ब १२ करोड पुगेको थियो । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा केही संकुचन आएको कारण  कारोबार रकम घट्न पुग्यो । उक्त १४ अर्ब १३ करोडको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । गत बिहीबार ३८ खर्ब ४६ अर्ब ६९ करोड रुपैयाँ रहेको सेयर बजार पुँजीकरण यो बिहीबारसम्ममा ४० खर्ब ७४ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । 
सेयर बजारमा कारोबार रकम वृद्धिसँगै नेप्से परिसुचक पनि बढेको छ । गत साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३३ विन्दुमा पुगेको थियो । यो साताको अन्तिम दिन बिहीबार परिसूचक २५६८.१३ बिन्दुमा पुगेको छ । एक सातामा परिसूचक १४३.८ अंकले बढेको छ ।
साताको पहिलो दिने नेप्से ६१.६१ अंक अर्थात् २.५४ प्रतिशत, दोस्रो दिन २.१५ अंक, तेस्रो दिन ३.०२ प्रतिशत अर्थात् ७५.३३ अंक, चौथो दिन २७.३२ अंकले घट्यो भने साताको अन्तिम दिन नेप्से १.२६ प्रतिशत अर्थात् ३२.०२ अंकले बढेर २५६८.१३ विन्दुमा पुगेको हो । 
यसपटकको मौद्रिक नीति पछि बजारको भविष्य निर्धारण हुने भएको अपेक्षा गरिएको छ । मौद्रिक नीति विगतको तुलनामा लचिलो तथा सेयर बजारमैत्री हुने अपेक्षाका कारण पनि लगानीकर्ता उत्साहित बनेका हुन् । इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले अहिले विदेशमा पनि सेयर बजारलाई अर्थतन्त्रको मेरुदण्ड मानिएको हुँदा नेपाल सरकारले पनि अर्थतन्त्रको ऐनाको रुपमा हेर्ने बताएको कारण बजारमा उत्साह छाएको बताए । 

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : १० बजे