एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

ऐतिहासिक ‘हलो क्रान्ति’ का सन्देशहरू

श्रमप्रति सम्मान, जातिय समभाव र कृषिमा लगाव दर्शाउन तथा जहानियाँ सामन्ती निरंकुश शासनलाई चुनौती दिन ब्राम्हणहरूले खेतमा हलो जोतेर गरेको विद्रोह ‘हलो क्रान्ति’ का नामले इतिहासमा अंकित छ । लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं.–४ दुराडाँडा अर्चल्यानीमा २००६ साल श्रावण ११ गते आजकै दिन यो प्रगतिशील विद्रोह भएको थियो । यस विद्रोहको सम्झनामा लमजुङको बाटेगरासहित विभिन्न जिल्लामा वर्षेनी ‘हलो क्रान्ति’ दिवश मनाइन्छ । विद्रोहीहरूले सामाजिक तथा आर्थिक जीवनमा छाडेका छापहरू पहिल्याउने कोशिस गरिन्छ र त्यसले पारेका सकारात्मक असरका बारेमा चर्चा गर्ने गरिन्छ । अनि विगतबाट शिक्षा लिएर बदलिएको परिवेशमा कृषिलाई कसरी अगाडि लैजानु पर्दछ भन्ने चिन्तन मनन गरिएको पाइन्छ । 

कृषि प्रणालीको विकास भएसँगै मानिसले काठ, ढुङ्गा वा धातुको चुच्चो परेको भाग जमिनमा खोस्रेर बालीनाली लाउन सुरु गरे । खाद्यान्नको माग बढेपछि धेरै जमिनमा खेती गर्नुपर्ने भयो र यसमा मिहिनेत बढी नै गर्नुपर्ने भयो । अनि मानिसले घोडा, राँगा, गोरु आदिको काँधमा जुवा राखेर हलोको प्रयोग गर्न थाले । हलोको आकार प्रकारमा समेत परिवर्तन हुँदै गयो । नेपालमा आम रूपमा राँगा र गोरुको प्रयोग गरेर हलो जोतिन्छ । पहाडि जिल्ला लमजुङमा भएको ‘हलो क्रान्ति’ मा सायद गोरु नै प्रयोग गरेर हलो जोतियो । औद्योगिक क्रान्तिले अहिले यान्त्रीकीकरण तीब्र बनेको छ । त्यसैले ट्याक्टर आदि प्रयोग गरेर खेत बारी जोत्ने प्रवृत्ति बढ्दो छ र नेपालमा समेत यसको विकास भएको छ । यो वैज्ञानिक पद्धति नै हो । 

आज भन्दा ७५ वर्ष अघि तत्कालिन समाजमा घटेको उक्त घटनाको प्रभाव नेपालका पूर्व पश्चिम सम्पूर्ण क्षेत्रमा पर्न थाल्यो । दुराडाँडाबाट सुरु भएको ‘हलो क्रान्ति’को प्रभाव तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा, स्याङ्जा जिल्लामा विशेष रूपमा प¥यो । विस्तारै सबै जातिका मानिसले हलो जोत्न हुन्छ, खेतबारी बाँझो राख्न हुन्न, जातिय छुवाछुतलाई धर्मशास्त्र  र वेदले मान्यता दिएको छैन र निहित स्वार्थपूर्तिका निम्ति श्रम विभाजन गरी जातिय विभेद लाद्ने शासकहरूको चालबाजीमा पर्न हुँदैन भन्ने सन्देश प्रवाह भयो । यसले मुलुककै कृषि प्रणालीलाई हेर्ने सकारात्मक दृष्टिकोण अभिवृद्धि गर्न, जातिय सहिष्णुता थप प्रगाढ बनाउन तथा न्याय र समानताका पक्षमा आवाज बुलन्द पार्न मद्दत पु¥याएको थियो । बिकट गाउँका किसानहरूले थालेको यस अभियानको महत्व हिजोका दिनमा त छँदै थियो, कृषिका क्षेत्रमा ठूलो फड्को मार्न नसकेको अनि समाजबाट जातिय असमानता र लैङ्गिकसहित अनेकाँै किसिमका विभेद अझै उन्मुलन हुन नसकेको परिवेशमा अहिले पनि यथावत छ ।  

अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक त्यस बखतको सामाजिक–आर्थिक अवस्थाकोे समयमा ब्राह्मणवाद, जातीय भेदभाव, हलीप्रथाको समाप्तीका लागि बाहुनको हँुकार चानचुने विषय थिएन । समाजमा जकडिएको सामन्ती चिन्तन र मुलुकमा लादिएको परिवारिक शासनले दमित चेतनाका झिल्काहरूलाई विचार र व्यवहारका माध्यमबाट प्रष्फुठित गर्नु ज्यानलाई नै जोखिममा राख्नु थियो । तर नवीन ज्ञान र जागरण बढ्दै गएको दुराडाँडाका जागरुक ब्राम्हणहरूको सामाजिक अभियानलाई ढोंगी रुढीबादी सोचले रोक्न सकेन । जस्तोसुकै पारिवारिक संकट र व्यक्तिगत समस्या झेल्न पनि उनीहरू तयार भए । अनि हलोको अनौ समाएर फालिले खेतबारीका डल्ला पल्टाए, फसल लगाए, अन्न फलाए र जीवनको गाडि अगाडि बढाए । सबै मानिस एकै हुन् र हलो जोत्दा कोही बिटुलो हुँदैन भन्ने सन्देश प्रवाह गर्न सफल भए । यो अत्यन्त सही कदम थियो । 

समाजमा कहलिएका दुरदर्शी र साहसी पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना चेतनाका संवाहक अगुवा बाहुनहरूले देशमै पहिलोपटक हलो जोते । यसरी हलो जोतेको अभियोगमा तत्कालीन राणाशाही सरकारले उनीहरूलाई गिरफ्तार गरी जेल हालेको हाल्यो । हलो जोत्ने बाहुन र हलो जोतेको हेर्न जानेलाई अछुत झैं व्यवहार गरियो । सामाजिक सुधारकहरूलाई हतोत्साहित पार्न, उल्याउन र होच्याउन यथास्थितिका पक्षपातीहरूले ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोती बिग्रे’ भन्ने गीत कथे र यस गीतलाई खुवै गाए । हलो जोत्नेलाई भात र खानेकुरा बारियो । माइत आएका छोरीचेली घर जान पाएनन् भने घर गएका बुहारी माइत आउन रोक लगाइयो । उमेर पुगेका युवायुवतीको बिहे नै रोकियो । तर हलो जोतेको त्यस परिवारलाई दिइएको सास्ती विरोधीहरूले धेरै लम्ब्याउन सकेनन् । तीन चार वर्षमै अवस्था सामान्य बन्दै गयो । मक्किइसकेको अवैज्ञानिक चिन्तनलाई यथावत राखेर शोषणको जाँतो पिस्ने सामन्ती परम्पराका मूल्य मान्यताहरू दीर्घजीवि हुन सक्ने कुरै थिएन, त्यसैले सही व्यवहार कायम हुँदै समाज अगाडि बढ्यो । 

‘हलो क्रान्ति’ हुँदाका बखतको राष्ट्रिय राजनीतिक गतिविधि र परिस्थिति के कसरी अगाडि बढिरहेको थियो भन्ने बारेमा केही चर्चा गरौँ । यो घटना हुँदा हाम्रो देशमा सामन्तवाद–साम्राज्यवाद समाप्त पारेर नयाँ जनवादी शासन व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्ने बाटो लिएको नेपाल कम्युनिष्ट पार्टी गठन भएको केही महिना बितेको थियो भने लोकतान्त्रिक समाजवादको लक्ष्य लिएको नेपाली कांग्रेस विजारोपण भएको दुई वर्षजति भएको थियो । नेपालमा आएको सामाजिक राजनीतिक जागरणले उक्त किसान विद्रोहलाई प्रेरणा दिएको थियो भने राणाशाही विरोधी आन्दोलनमा समेत उक्त किसान विद्रोहले आन्दोलनकारीहरूमा उत्साह भरेको थियो । यही पृष्ठभूमिमा मुलुकमा १०४ वर्षसम्म लादिएको जहाँनीयाँ राणा शासन जसलाई कम्युनिष्ट–कांग्रेसले ऐतिहासिक जन–आन्दोलन गरेर वि.सं. २००७ सालमा समाप्त पारे र लेख्ने–बोल्ने–सभा–संगठन गर्ने स्वतन्त्रतासहितको प्रजातन्त्र स्थापना गरे । 

‘हलो क्रान्ति’ भएको वर्ष नै उत्तरतर्फको छिमेकी देश चीनमा कृषि क्रान्ति निर्णायक तहमा पुगेर जनवादी गणतन्त्र स्थापना भएको थियो भने दक्षिणको छिमेकी मुलुक भारत बेलायती उपनिवेशबाट मुक्त हुन स्वतन्त्रता संग्रामको उत्कर्षमा थियो । एक वर्षपछि भारत पनि स्वतन्त्र भइछाड्यो । 

आज हामी ‘हलो क्रान्ति’ को पचहत्तरौँ वार्षिक उत्सव मनाइरहेका छौँ । हामीले सर्वप्रथम प्रजातन्त्र ल्याएको, चीनमा क्रान्ति भएको र भारत स्वतन्त्र भएको समय लगभग उस्तै हो । अहिले चीन विश्वकै ठूलो अर्थतन्त्र हुन कोशिस गरिरहेको छ भने भारतले सामाजिक आर्थिक विकासमा फड्को नै मारेको छ । बितेका पौने एकसय वर्षमा वि.सं.२०१७ सालदेखि ३० वर्षसम्म राजाले लादेको निरंकुश निर्दलीय पञ्चायती व्यवस्थासँग जुधेर २०४६ मा बहुदलीय व्यवस्था पुनःस्थापना गरियो र २०६२–०६३ को शान्तिपूर्ण जनआन्दोलन पछि मुलुक गणतन्त्रात्मक भएको छ । तर हामी ‘हलो क्रान्ति’ का सन्देशहरू अझै पनि निकै सघन ढङ्गले कार्यान्वयन गर्नुपर्ने अवस्थामा छाँै । राजनीतिक परिवर्तनका क्षेत्रमा हाम्रो देशले ठूलो उपलब्धी हासिल गरेपनि सामाजिक आर्थिक विकासमा चाहेजति गर्न सकेको छैन । यो विडम्बनाको विषय हो । 

अहिलेको नेपाली समाजमा कसैले हलो जोतेकै आधारमा अछुतको व्यवहार झेल्नुपर्ने, गिरफ्तार हुनुपर्ने, जेल पर्नुपर्ने अवस्था भने छैन । तर अझै पनि पुजापाठ, श्राद्ध, काजक्रिया गर्ने पुरेत–पण्डित हलो नजोतेकै खोज्ने र समाजको यस्तो मनोविज्ञान बुझेर पुरेत–पण्डित पनि हलो जोत्न नपाए हुन्थ्यो भन्ने प्रवृत्ति भने बाँकी नै छ । साथै, वर्तमान संविधान र कानूनले जातिय छुवाछुतलाई दण्डनीय करार गरिसक्दा समेत समाजमा अनगिन्ती छुवाछुत र विभेदका घटनाहरू घटिरहेका छन् । जातिय आधारमा धारा, इनार, पँधेरामा पानी भर्न छेक्ने, भोजभतेरमा सहभोज गर्न नदिने, मठमन्दिरमा पुजाआजा गर्न रोक्ने र सार्वजनिक होटल तथा चमेना गृहमा कथित तल्लो जातिका नाममा प्रवेश गर्न रोक लगाउने प्रवृत्तिहरू देखिएकै छन् । 

अब एउटा ऐतिहासिक कालखण्डमा सामाजिक जागरणमा महत्वपूर्ण योगदान पु¥याएको ‘हलो क्रान्ति’ का सन्देशहरूलाई बदलिएको परिवेशमा ‘कृषि क्रान्ति’ मा आत्मसात गर्न सक्नु पर्दछ । भूमिसुधार गर्दै कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्नु पर्दछ । स्वाधीन र सबल अर्थतन्त्र निर्माण गर्न टेवा पु¥याउने कृषि प्रणालीको विकास गर्नै पर्दछ । व्यापक मात्रामा उत्पादन र उत्पादकत्व बढाएर नागरिकको दिगो खाद्य सुरक्षाको अधिकार प्रदान गर्न अग्रसर बन्नु पर्दछ । श्रमप्रति सम्मान गर्ने समाजको विकास गर्नु पर्दछ । मान्छेबीच विभेद होइन समभावको वातावरण निर्माण गर्नुपर्दछ । यसो गर्न सक्दा नै ‘हलो क्रान्ति’ को सन्देशलाई साकार पार्न सकेको ठहरिनेछ । 

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ४४ बजे