सुनको मूल्यमा नयाँ कीर्तिमान

क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका स्थानको अनुगमन गर्न प्रधानमन्त्री ओली आज मेलम्ची जानुहुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बाढीले क्षति भएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न बस्तीको निरीक्षण गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ । 

प्रधानमन्त्री ओली आज बिहान १०ः३० बजे हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको नेकपा एमाले केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नुहुनेछ ।

त्यस्तै हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा जनप्रतिनिधि, दलका नेताहरु, बाढी पहिरो पीडितसँग प्रधानमन्त्रीले केहीबेर अन्तर्क्रिया गर्ने कार्यक्रम रहको छ ।

त्यसपछि  प्रधानमन्त्री  मेलम्ची बजारमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुुहनेछ । त्यहाँ प्रमुख जिल्ला अधिकारीले सिन्धुपाल्चोकमा भएको क्षतिको विवरण प्रधानमन्त्रीलाई जानकारी गराउनुहुनेछ । त्यसैगरी मेलम्ची खानेपानी आयोजनाका प्रमुखले मेलम्चीको अवस्था जानकारी गराउने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मेलम्ची बजारका बाढीपिडितहरुसँग प्रधानमन्त्रीले केहीबेर अन्तर्क्रिया गर्ने कार्यक्रम छ । सचिवालयले दिएको जानकारी अनुसार बाढी पिडित र भौतिक क्षतिको अवस्था बुझेपछि प्रधानमन्त्रीले राहतको र पुनर्निर्माणका प्याकेज घोषणा गर्ने तयारी छ ।

असार एक गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा ४ जनाको शव भेटिएको छ भने करिब २५ जना बेपत्ता छन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : ३३ बजे