साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गम्भीर लापरवाहीको नमूना, सौर्य एयर दुर्घटना (भिडियो)

काठमाडौँ । २०८१ साल साउन ९ गते । नेपाली हवाइक्षेत्रको लागि अर्को एउटा कालो दिन ।

यस दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पेप्सीकोला र गोठाटारतिरको रनवेबाट पूर्वतिरको भागमा सौर्य एयरको जहाज दुर्घटना हुँदा चालक मनीषरत्न शाक्य मात्र बाँच्न सफल हुनु भयो भने १८ जनाको ज्यान गयो ।

यो दु:खद् घटनाले  सारा मुलुक शोकाकुल छ । यसअघि पोखरामा भएको यती एयरको जहाज दुर्घटनाको कहालीलाग्दो दृश्य भुल्न नपाउँदै भएको यो घटनाले अनेक प्रश्नहरू सृजना समेत गरेको छ ।

नेपाली वायु क्षेत्रमा पृथक पहिचान बनाएको सौर्य एयरको जहाज नियमित रूपमा गरिनुपर्ने पूर्ण परीक्षणको लागि पोखरा जान लागेको थियो । यसका लागि अनुमति पनि लिइएको थियो । तर मर्मतका लागि जान लागेको जहाजमा उडान टोलीबाहेकका मानिसहरू समावेश भएको बारे यतिबाले आम चासो बढेको हो ।

आफ्नै कर्मचारी र प्राविधिक-इन्जिनियर बोकेर मर्मतका लागि पोखरा उडेको  ९ एन एएमआई कलसाइन भएको सो विमानमा अधिकांश सौर्य एयरकै प्राविधिक कर्मचारी थिए । चालक मनिष शाक्य र सहचालक एस कटुवाल बाहेक सो यात्रामा अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विनकुमार निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडा थिए । रेडा यमनका नागरिक हुन् ।

यहाँ सबैभन्दा बढी चिन्ताको विषय भनेको कुनै अवरोध विना विमान दुर्घटनामा पर्नु हो । विमानले टेकअफ लिएर उडेको २० देखि २२ सेकेन्डमा आकाशमा ढलपल–ढलपल गर्दै दाहिनेतर्फ मोडिएर भुइँमा बजारिन पुग्यो । भुइँमा बजारिएर दुई टुक्रा भएको सो विमानमा आगलागी भएको थियो । आगो निभाउन २५ मिनेट लाग्यो । यो अवधिमा दुर्घटनामा परेकाहरूको जलेरै मृत्यु भयो । विमानको अघिल्लो भाग र पछिल्लो भाग छुट्टिएका कारण चालक शाक्यको ज्यान जोगिएको हो । दुर्घटनास्थलमा विमानस्थलका सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली उद्धारका लागि खटिएर हरसम्भव प्रयास गरे ।

सफा मौसम, अन्य कुनै अवरोध नभएको, विमान पनि बिग्रिएको नभई नियमित परीक्षण गर्नको लागि पोखरा जान लागेको अवस्थामा समेत भएको दुर्घटनाले कहीँ कतै गम्भीर लापरवाही भएकै हो भन्ने देखिन्छ । त्रिभुवन विमानस्थलमा रहेको एयर ट्राफिक कन्ट्रोलले पनि विमानमा कुनै समयस्या नभएको जनाएको छ । यसको वास्तविकता विस्तारै खुल्दै जाला ।

नेपाली हवाइ क्षेत्र यसै पनि युरोपियन युनियनको कालो सूचीमा छ । सो निकायले नेपाली आकाश सुरक्षित नभएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण लापरवाह रहेको उद्घोष गरिसकेको छ । त्यसो हुनुमा यसअघिका दुर्घटनाहरू सिधा जोडिन्छन् ।

सीता एयर, टर्किस एयर, यूएस बंगला विमान दुर्घटना यही विमानस्थलमा भएको हो । नेपाली आकाशमा भएको यो १०८औं दुर्घटना हो । यस्तो दुर्घटनामा अहिलेसम्म ९ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् । बुधबारको दुर्घटना आन्तरिक उडानको ५४औं दुर्घटना हो ।

क्यानेडियन कम्पनी बम्बार्डियरको सीआरजे २०० जहाज नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा परेको छ।

एभिएसन सेफ्टी नेटवर्कको रेकर्डअनुसार सन् २०१८ र २०१९ मा सीआरजे २०० सामान्य दुर्घटनामा परे पनि मानवीय क्षति नै हुने गरी भएको बुधबार नै पहिलोपटक हो।

प्राधिकरण उड्डयन क्षेत्रको नियामक निकाय हो । यसले इमान्दारिता देखाउँदै विमान कम्पनीलाई नियमको परिधिमा बाँधे मात्रै नेपाली आकाश सुरक्षित हुन सक्छ । तर, मर्मतका लागि पोखरा जान लागेको जहाजमा यति धेरै मानिस किन? आम नागरिक समेत यही प्रश्न गरिरहेका छन् । तर जवाफ दिने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण अन्य बेला जस्तै दोष जम्मै कसको टाउकोमा हाल्ने भन्नेमै केन्द्रित छ ।

अब यसको लागि छानबिन टोली गठन हुनेछ । महिनौ लगायर प्रतिवेदन तयार पारिनेछ र गोलमटोल शैली र तथ्य लुकाएर अन्तत: यो विषय हराउँदै जानेछ । यही नियति दोहोरिइरहेको छ हरेक दुर्घटनापछि । होइन भने संसारको सबैभन्दा सुरक्षित हुने हवाई क्षेत्र नेपालमा भने किन यति असुरक्षित ?

उडानका बेला पूरा गर्नुपर्ने मापदण्डमा हुने लापरवाही र नियामक निकायको निकम्मापनको असर समग्र नेपाली उडान क्षेत्रमा परेको घाम झैँ छर्लङ्ग छ । यो दुर्घटनाको खबर अन्तर्राष्ट्रिय मिडियामा हावासरी फैलिइ नकारात्मक प्रचार भएको छ । फेरि एकपटक नेपाली आकाश असुरक्षित रहेको चर्चा ह्वात्तै बढ्नुको अर्थ यसको असर लामो समयसम्म परिरहनु हो ।

त्यसो त अहिले पुरानो जहाज भएको कारण दुर्घटनामा परेको हो कि भन्ने चर्चा समेत व्यापक छ । तर, हवाइजहाजको आयुले उडान योग्य हो वा होइन छुट्याउन सक्दैन भन्नेमा विज्ञहरू एकमत छन् । त्यसो हुँदो हो त यति एयरको पोखरामा दुर्घटनामा परेको जहाज त्यसो नहुनु पर्ने हो । यो तर्क बलियो छैन ।

यतिमात्रै होइन, अब दुर्घटनामा परेकाहरूको क्षतिपूर्तिमा गम्भीर सवाल उठ्ने खतरा कायम छ । नियमित उडान भए यस्तो दुर्घटनामा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर क्षतिपूर्ति पाउने व्यवस्था छ । तर यो नियमित उडान होइन, यसमा केही अप्ठेरो परे पीडामा रहेकाहरूलाई थप पीडा हुनेछ । यी सबको जवाफ पद ओगटेर बस्नेहरूसँग लिन सक्नुपर्छ ।

सरकारले पनि नियामक निकायलाई यसबारे जवाफदेही बनाउनै पर्छ । दोष सबै पाइलटको टाउकोमा हालेर पानी माथिको ओभानो बन्नेहरूलाई ठाउँको ठाउँ पदबाट बर्खास्त गरेर योग्य सक्षम मान्छे नियामक निकायमा नआएसम्म यस्ता पीडादायी घटनाहरू कम हुने छैनन् भन्ने उदाहरण समेत बनेको छ यो दुर्घटना ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ५ : २१ बजे