रविलाई भोलि काठमाडौं ल्याइने

‘माझण्ड’ र ‘बहरहरूबीचको ध्रुवीकरणको अन्तर्य

पुरानाजति सबै खराब र नजान्ने हामी नयाँ असल र जान्ने भन्ने भ्रमपूर्ण भाष्यको जगमा राजनीतिक रूपमा उदाएकाहरू सत्ता सुखका लागि हिजो आफूले खराब देखेका र भनेका पात्रको नेतृत्वमा रमाएको हामीले देख्यौँ र भोग्यौँ। भलै तिनीहरू कोही स्वतन्त्रको त कोही पार्टीको आवरणमा देखिएका किन नहुन्।

हिजो प्रचण्डले प्रधानमन्त्रीको पद पाउन र सो पदमा टिकिरहन रूपमा एउटा कुरा गरिरहे अनि सारमा अर्कै व्यवहार गरेर कहिले नेकालाई त कहिले एमालेलाई झुक्क्याउँदै उपयोग गरेका थिए। तर विगतमा धेरै पटक झुक्किन पुगेका र धोका पाएका नेका र एमालेले नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्ड मोर्चा बनाउन कस्सिएका छन्। एकातिर उनले समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन खोजेका छन् भने अर्कातिर विपक्षी मोर्चामा रविलाई संलग्न गराएका छन्। 

हिजोआज प्रचण्डको बचाउमा रवि अनि रविको बचाउमा प्रचण्ड उभिन पुगेका छन्। जबकि रवि प्रचण्डको विरोध गर्दागर्दै राजनीतिमा आएका थिए। यसबाट हामीले बुझ्नुपर्छ, प्रचण्ड र रविहरू विचारको होइन, व्यक्तिगत स्वार्थ हेरेर राजनीति गरिरहेका छन्। तर जनताले समयमै प्रचण्ड र रविहरूको नियत बुझ्न नसक्दा नेपालको राजनीति प्रदूषित बनाउन उनीहरू सफल भए। यो सत्य जनतालाई बुझाउन सञ्चार माध्यम र सामाजिक सञ्जालहरूको यथोचित उपयोग गर्नुपर्ने भएको छ। प्रचण्डको उपयोगितावाद र रविको लोकरिझ्याईंवादबाट देशको राजनीतिलाई मुक्त बनाउन बौद्धिक वर्गले ठीकलाई ठिक र बेठीकलाई बेठीक भन्ने सामर्थ्य देखाउनु पर्छ। 

यति बेला हामीले बुझ्नुपर्छ, प्रचण्ड र रविहरूले देशको होइन बाह्य स्वार्थमा राजनीति गरिरहेका छन्। “दान अनुदानहरूले हाम्रा मौलिकता, मौलिक क्षमता र सम्भावनाहरूलाई कमजोर बनाइरहेको छ। हिजो प्रचण्डलाई हतियार बोकाएर कान्तिको नारा घोकाएर नेपाल कमजोर बनाउने पक्षले आज बहर ‘बालेन,हर्क,रवि’ हरूमार्फत आफ्ना मुद्दा बोकाएर नेपालको राजनीति अस्थिर र अराजक बनाउन माझण्ड ‘माधव,झलनाथ,प्रचण्डे’ हरूलाई पनि एउटै मोर्चा सामेल गराउँदै छ। त्यही लगानी र प्रयास स्वरूप अहिले माझण्ड र बहरहरूका बोली र व्यवहारहरू मिल्न थालेका छन्।

त्यसैले यतिखेर राजनीति बिग्रिएर देशको अवस्था बिग्रिएको हो कि शिक्षा तथा सामाजिक व्यवस्थाको चरित्र बिग्रिएर राजनीति र देशको अवस्था बिग्रिएको हो ? भन्ने प्रश्नमा घोत्लिनु पर्ने भएको छ। अहिले यो प्रश्नको उत्तर नखोजी हामीले देशमा देखिएका समस्याहरूको दिगो समाधान खोज्दै जनतालाई सरकार र राज्यप्रति आशावादी र सकारात्मक बनाउन सक्दैनौँ। सत्ता राजनीतिमा संलग्न नेतृत्वहरूले यो यथार्थ महसुस गरेर समस्याको दिगो समाधान गर्न आफ्ना क्षमताहरूको पूरा उपयोग गर्न सक्नुपर्छ।

नेका र नेकपा एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री केपी ओलीले सांसदबाट विश्वासको मत पनि लिइसकेका छन्। प्रधानमन्त्री ओलीलाई दुई तिहाइ अर्थात् १८८ सांसदहरूको समर्थन मिलेको छ। प्रधानमन्त्री ओलीले आफूले औँल्याएका तीन बुँदाहरू जनतामा देखिएको चरम निराशा चिर्ने, लगानीको वातावरण बनाउने र विकास निर्माणका काममा देखिएको ढिलासुस्ती र समस्याहरूको कसरी सम्बोधन गर्ने भन्ने कुरामा जुन मार्गचित्र प्रस्तुत गरेका छन्, त्यसमा खरो उत्रनु पर्नेछ। अन्यथा राजनीति र राजनैतिक व्यवस्थाका विरुद्ध प्रतिगमनकारीहरू सक्रिय हुन थाल्नेछन्। 

नयाँ सत्ता समीकरणलाई लिएर कुलचन्द्र न्यौपानेले कान्तिपुरमा लेखेका छन्, “दुई ठुला दलहरूको गठबन्धन असफल भए जनतामा झन् ठुलो निराशा र आक्रोश बढ्ने जोखिम छ।” जनतामा देखिएको निराशा र बढ्दो आक्रोशलाई घटाएर आशा जगाउनु पर्ने चुनौतीलाई अवसरमा बदल्ने मौका प्रधानमन्त्री केपी ओलीसमक्ष आएको छ। विपक्षमा देखिएको राजनीति र नेतृत्वलाई सहकार्यमा आउन बाध्य पार्ने ढङ्गले सरकार चलाउनु पर्छ। तर यसो गर्न भनिएजस्तो त्यति सहज हुनेछैन किनभने माझण्ड र रविहरू पहिलो दिनबाट नै नकारात्मक मनोविज्ञानबाट निर्देशित भएर अघि बढ्ने सङ्कल्प गरेका छन्। उनीहरूको बोलीमा सत्ता शक्तिबाट टाढा हुनुपरेको पिडा झल्किएको छ। यसका साथै भूराजनीतिको दबाब र प्रभाव बेग्लै ढङ्गले झेल्नु पर्नेछ।

हिजोसम्म नेका र एमालेबीचको सहमति लुकाइयो भन्नेहरू प्रधानमन्त्रीले दुई तिहाइ विश्वासको मत पाएपछि अब अर्को मुद्दाको खोजीमा छन्। उनीहरूलाई मुद्दाविहीन बनाउन प्रधानमन्त्रीले आफ्नो मन्त्रीमण्डललाई अनुशासित र जिम्मेवार बनाएर सक्रिय बनाइराख्नु पर्छ। सुशासनमा केन्द्रित भएर सत्ता शक्तिलाई प्रयोग गर्नुपर्छ। हिजोका कमजोरीहरूलाई सुधार्दै नयाँ सत्ता समीकरणप्रति जनताको विश्वास र सहयोग बढाउनु पर्छ। जति प्रश्नहरूको घेरामा सरकार छ, त्यति नै आशा पनि। त्यसैले उठेका सबै प्रश्नहरूमाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनु पर्छ। खराबलाई दण्डित र असललाई पुरस्कृत गर्ने प्रणाली स्थापित गर्नुपर्छ।

यति बेला राजनीतिमा बिग्रिएको के हो ? त्यो पत्ता लगाउनु र जनतालाई बुझाएर उनीहरूको मनस्थिति सकारात्मक बनाउनु पर्छ। आजको वास्तविकता र आवश्यकता बुझाउनु पर्छ। समस्या हाम्रो मनस्थितिमा छ, तर हामी देशको परिस्थिति बिग्रियो भन्दैछौं। देशको अवस्था बदल्ने नै हो भने हाम्रो र हाम्रो शिक्षा तथा सामाजिक व्यवस्थाको चरित्र बदल्दै प्रशासनिक, न्यायिक र आर्थिक संरचनाहरूमा संरचनात्मक परिवर्तन गर्नुपर्छ। यो आजको अनिवार्य आवश्यकता हो भन्ने कुरा मूल नेतृत्वले बुझ्नुपर्छ।

नेका र एमालेबीचको सत्ता सहकार्यले राजनैतिक स्थिरता र संवैधानिक गतिशीलतासँगै सुशासन सुनिश्चित गरेर देशको अवस्था र जनताको मनोविज्ञानमा सकारात्मक परिवर्तन गर्न सक्नुपर्छ। यदि तर गर्ने कुनै छुट छैन। फेरि उपयोगितावाद र लोकरिझ्याईंवाद मिलेर सिर्जना गर्ने भ्रमपूर्ण भाष्य, अराजकता र स्वछन्दताबाट देशलाई जोगाउनु पर्छ। अरूलाई दोष देखाएर आफ्नो कमजोरी लुकाएर राजनीतिमा लोकप्रिय हुन खोज्ने पात्र र प्रवृत्तिहरूको तथ्य र तर्कहरूले भण्डाफोर गरेर जनतालाई सत्य, न्याय र प्रगतिका पक्षमा उभिने बनाउनु पर्छ। जनतालाई लोकतान्त्रिक गणतन्त्रमा आफ्नो कर्तव्य र अधिकार के हो, बुझाउनु पर्छ। आयातित मुद्दा र भ्रमित भाष्यहरूबाट देश र जनतालाई मुक्त बनाउन पनि राज्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।

आज जनताको विवेकले राजनीतिको सङ्केत र नेतृत्वको नियत चिन्न सकिरहेको छैन। जसले गर्दा राजनीति सधैँ विवादमा अनि देश अस्वाभाविक रूपमा राजनीतिक सङ्क्रमण र सङ्कटमा परिरहेको छ। आयातित मुद्दा बोकेर आएका खराब विचार, चरित्र, पात्र र प्रवृत्तिहरूको पछि लागेर गन्तव्यमा पुग्न सकिन्न भन्ने चेत हामीमा विकास हुनुपर्छ। राजनीतिको भिजन हेरेर हामीले राजनीतिक पार्टी र नेतृत्व चिन्न र चुन्न पनि सक्नुपर्छ। 

देश समृद्ध बनाउन जनतामा सपनासँगै कर्तव्यको बोध गराउनु पर्छ। भ्रमहरूबाट मुक्त भएर जनताले गतिविधिहरू गर्न सक्ने क्षमता देखाउने बनाउनु पर्छ। यसका साथै जनतालाई विवेकसम्मत निर्णय गरेर निष्कर्षमा पुग्ने पनि बनाउनु पर्छ। यसका लागि गुणस्तरीय औपचारिक तथा अनौपचारिक शिक्षाबाट जनताले प्रशिक्षित हुने अवसरहरू पाइरहनु पर्छ। राज्य सञ्चालनको नेतृत्वमा रहेको दल र नेताहरूले जनताको मनस्थिति र देशको परिस्थितिको सही विश्लेषण गरेर नीति र कार्यक्रमहरू बनाउँदै कार्यान्वयनमा लैजाने क्षमता पनि देखाउनु पर्छ। हामीले बुझ्नु र बुझाउनु पर्छ, इतिहासका भारी बोकेर सुन्दर भविष्य निर्माण गर्न सकिन्न तर इतिहासबाट सिक्न भने सक्नुपर्छ। अनि मात्रै शान्त, सुन्दर र समृद्ध भविष्य सुनिश्चित गर्न सकिन्छ। 

भ्रमपूर्ण भाष्यको धरातलमा उभिएको राजनीति भ्रम सकिएको पलमा समाप्त हुन्छ। तैपनि आज माझण्ड र बहरहरू अघोषित मोर्चा बनाएर जनतालाई भ्रमित बनाउँदै अराजक बन्न बनाउन खोजिरहेका छन्। फेरि माझण्ड र बहरहरूबिच ध्रविकरण हुन पनि बाह्य शक्तिहरूले सहयोग गरिरहेको सजिलै अनुमान गर्न सकिन्छ। आज उनीहरू नेपालमा बाह्य स्वार्थ स्थापित गर्ने राजनीतिका लागि जनतालाई भ्रमित बनाउने गतिविधिहरू गरिरहेका छन्। त्यसैले यो यथार्थ जनतालाई बुझाउनु पनि नयाँ सत्ता समीकरणको मुख्य जिम्मेवारी बनेको छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १२ : ५० बजे