‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बालेनमाथि रैथाने राजेनको विश्लेषण

नेपालकै सबैभन्दा चर्चित र आशा गरिएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह गएको डेढ महिनामा दोस्रोपल्ट नयाँ सडक साँघुरो पारेर फुटपाथ चौँडा पार्ने आफ्नो एकलौटी महत्त्वाकाङ्क्षी योजनाबाट पछि हट्नु परेको सुन्दा दुःख लागेको छ । 

नेपालकै सबैभन्दा पुरानो सबैभन्दा चौँडा सडक नयाँ सडकको आफ्नै इतिहास छ । यो अहिले पनि नेपालकै सबैभन्दा ठुलो बजार क्षेत्र हो भन्दा फरक नपर्ला । यो स्थानीय निवासीको खाने बस्ने सुत्ने र व्यापार गर्ने ठाउँ हो भने विभिन्न जिल्लाबाट आएका हजारौँ मानिसहरूको व्यापार गरेर वा नोकरी गरेर खाने ठाउँ पनि हो । यो कुनै डिज्नेवर्ल्ड वा म्युजियम हैन ।
देशको विकास नै केन्द्रीकृत खालको भएकाले विभिन्न जिल्लाबाट सजिलो जीवनको लागि यहाँ बसाइ सरेर आउने क्रम बढ्दै छ । त्यसैले नगरपालिका क्षेत्र भरी नयाँ नयाँ बस्तीहरू बढिरहेका छन् । तर त्यहाँ शहरी जीवनको लागि चाहिने सबै सुविधाहरू तयार भइसकेका छैनन् । तैपनि सिङ्गो महानगरपालिकाको नेतृत्व र अभिभावकत्व दिनु पर्ने मेयर ढिपी कसेर न्यूरोड साँघुरो पार्ने र यति गरेपछि आफ्नो कार्यकालै सफल हुन्छ भनेर लाग्नुको रहस्य बुझिनसक्नु छ । 

मेयरले कल्पना गर्न त सक्नुहुन्छ तर कुनै योजना कार्यान्वयन गर्दा क यथेष्ट अध्ययन गर्नुपर्छ ख स्थानीय जनप्रतिनिधि तथा जनतासँग संवाद गरेर सहमति लिनु पर्छ । न्यूरोडको हकमा दुइटै गरिएन । महानगरपालिकाका ३२ वडामा ३२ सय गर्नु पर्ने काम छन् । तर यहाँ अपारदर्शी ढङ्गले टेन्डर गरियो । कुनै तानाशाहले जस्तो आफ्नो कल्पना पुरै गर्नै पर्छ भनेर नगर प्रहरी र प्रहरी तैनाथ गरेर न्युरोड पेल्न थाले ।  नगर सभामा आफैले गरेको सहमतिसमेत पालना गरिएन । यसले स्थानीय जनता भड्किनु स्वाभाविक हो । 

यता पहिले सडक विभागले यो काम नगरपालिकाले गर्न नपाइने भनेर रोकिदियो । स्थानीय जनताको कुरा सुन्नु भन्दा अदालतको सहयोग मागियो । अहिलेसम्मको कानुनी लडाइमा उच्च अदालतबाट कामपालाई  अवरोध नगर्न  भनेर अन्तरिम आदेश दिएको थियो र अहिले सोही अन्तरिम आदेशको बलमा पुनः कामपाले फुटपाथ बढाउने काम अघि बढाउन थालेको देखियो । यस सम्बन्धी निर्णयको पूर्ण पाठ समेत आएको छैन ।

वडा नं २२का वडा अध्यक्ष चिनीकाजी महर्जनले सामाजिक सञ्जालमा अपरिचितहरूको गाली खाएरै पनि जनताको आवाज सुनाएरै छाड्ने आन्दोलनकै नेतृत्व गरेपछि केही दिन असामान्य स्थिति बनेपछि निर्माण कार्य तत्कालको लागि रोकिएको छ । 
अहिले महानगरपालिका र न्युरोड क्षेत्रका बासिन्दाबिच मङ्सिर २ गतेसम्म न्युरोड क्षत्रेमा कुनै निर्माण सम्बन्धी काम सहमति भएको छ। र अब न्युरोड क्षेत्रमा आवश्यक निर्माण कार्य गर्न एक अध्ययन समिति बनाउने र त्यो समितिले दिएको प्रतिवेदनका आधारमा अघि बढ्ने निर्णय भएको छ। यसमा मेयर स्थानीय जनप्रतिनिधि तथा स्थानीय जनता सबै जितेका छन् ।

देशभरिका मेयर जनता बालेन साहालाई देशकै एक सफल नेताको रूपमा हेर्न चाहन्छन् । सामाजिक सञ्जालमा उनको अकल्पनीय प्रचार भयो । त्यसकारण कुरा बुझेर वा नबुझेरै अथवा आफ्नो राजनीतिक स्वार्थका लागि काठमाडौँमा बस्ने, मोफसलमा बस्ने तथा विदेशमा बस्ने समेत धेरैले उनको एकतमासले समर्थन गरेका थिए । अनि उनको कामलाई सफल बनाउन स्थानीय बासिन्दालाई सबैतिरबाट सामाजिक सञ्जालमा गाली गर्ने काम पनि भयो । तर सबैले चाहेको जस्तो सबै नेता हुन सक्दैन रहेछ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : ४३ बजे