विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जब पहिलोचोटी लिनुभयो माधवले  ओलीको नाम….

काठमाडौं। राजनीतिमा किनारमा पर्दै जान थालेपछि एसका  अध्यक्ष माधव नेपाल पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लचक बनेको देखियो । ओलीले नेपाललाई  राष्ट्रपतिको  उम्मेदवार बन्न आग्रह गर्दा समेत ‘ देखाइदिन्छु भन्दै समीकरण नै फेर्न असफल प्रयास गर्दै हिड्नुभएका  नेपाल आइतबार भने ओली प्रति निकै नरम देखिनु भयो।  ‘शायद अब सबै बाटा बन्द भएर ओलीसँग सहकार्य गर्नुको विकल्प छैन भन्ने लाग्यो होला, त्यही भएर  उहाँ यति नरम देखिनु भएको होला’  एक सांसदको टिप्पणी थियो। आइतबार सार्बजनिक रूपमा नै ओलीप्रति पहिलो पटक नामै लिएर सम्मान दर्साउँदै नेपालले  प्रधानमन्त्री बन्नुभएकोमा ओलीलाई बधाई दिनु भएको थियो। 

 प्रधानमन्त्री ओलीले संसदमा पेस गरेको विश्वासको मतको प्रस्तावमा बोल्दै उहाँले  प्रधानमन्त्री नियुक्ति भएको एक सातापछि बल्ल  बधाई दिनुभयो । यद्यपी उहाँको पार्टीले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान ग¥यो । 

उहाँले भन्नुभयो  ‘प्रधानमन्त्री नियुक्त हुनुभएकामा सम्माननीय केपी शर्मा ओलीज्यूलाई औपचारिक रूपमा बधाई ज्ञापन गर्दछु । तपाईँ जुन दिन सत्ताबाट बाहिरिनु भएको थियो, वर्ष फरक परे पनि त्यही दिन पारेर सत्तामा पुनः पुग्नुभएको छ । अर्थात् असार २८ गते नेपाली राजनीति र तपाईँको जिन्दगीमा पनि खास माने राख्दछ भन्ने लाग्दछ । अत्यन्त उत्साहित भएर, हौसिएर, अब त के के नै हुन्छ भनेर तपाईँलाई बधाई दिन हतारो गर्नुअघि विगतका केही घटनाक्रमहरू सम्झन जरुरी ठानेको छु ।’

२०७७ साल असार २८ गते माधव नेपालहरू शेरबहादुर देउवातिर लाग्दा  प्रधानमन्त्री ओलीले राजीनामा दिनु परेको थियो। नेपालले आइतबार त्यो दिनको तितो आफैले सकार्नुभयो ।  

नेपालले यसरी नरम भएर बधाई दिनुका पछाडि राजनीतिमा हराउँदै गएको आफ्नो ‘स्पेस’को खोजी गरेको लख काट्न सकिन्छ । 

कांग्रेस र एमाले सात बुँदे सहमतिका कारण लामो समयपछि सत्ता बाहिर बजारिन पुग्नु भएका नेकपा माओवादी केन्द्रका  अध्यक्ष प्रचण्ड र नेपाललाई  यर्थाथ स्वीकार गर्न अनेक बहाना खोज्नु परेको थियो ।  यो बहानामा उहाँहरू   संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार बनाउने निहुँमा प्रवेश गर्नु भयो । 

उहाँको त्यो प्रयास पार लागेन । त्यसपछि उहाँले कांग्रेस  र एमालेबीच सात बुँदे सहमति गोप्य रहेको भन्दै त्यसलाई सार्बजनिक गर्न माग गर्नुभयो। उहाँलाई लागेको थियो होला  अब यही सात बुँदे सहमतिलाई मुद्दा बनाएर  यो गठबन्धनमा  हमला गर्न सकिन्छ। तर  आइतबार दिनेको ३ नबज्दै उहाँको यो योजनामा धमिरा लाग्यो। जुन बेला प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभामा विश्वासको मत माग्दै सात बुँदे सहमति आफैले वाचन गरेर सार्बजनिक गर्नुभयो।  

 प्रधानमन्त्री ओलीले आइतबारको प्रतिनिधिसभाको बैठकमा सात बुँदे सहमति  घोषणा गर्नुभएपछि त्यो सार्बजनिक मात्र भएन त्यो अब संसद्को सम्पत्ति समेत बनेको छ। यो संसद्को सम्पत्ति भएसँगै नेपाली राजनीति बजारमा यसले धेरै  ‘साइड इफेक्ट’ छोडेर गएको छ । ओलीले दुई तिहाइभन्दा बढी मत पाए जस्तै यो सहमतिले पनि दुई तिहाइ बढी मत पाएको छ।   

७ बुँदेले छोडेको सबैभन्दा ठुलो  ‘साइड इफेक्ट’ हो  साना पार्टीको ठुलो स्वर ,  बार्गेनिङ, धम्की, चेतावनीको समाप्ति । अब  साना पार्टीहरू ठुलो स्वरले सिंहदरबार छिर्ने छैनन् । उनीहरू दयालु भाकामा ‘दे दे’ भगवनाका नाममा भन्दै त्यहाँ जाने छन् । अब उनीहरूले बल्ल लामो समयपछि आफ्नो यर्थाथ धरातल देख्ने छन् , जो यस अघि देखेका छैनन् ।

बिशेषगरि कांग्रेस र एमालेबिचमा बसेर ‘जादुमय’ अङ्कगणित देखाउँछु भन्ने माओवादी अध्यक्ष प्रचण्डले पनि आफने यर्थाथ धरातल थाह पाउनु हुने छ।  अझै उहाँहरूले असली धरातल भने  ८४ सालको चुनावमा देख्नुहुने छ। 

माओवादीले २०७४  सालमा एमालेको काँधमा टेकेर चुनाव लड्यो भने २०७९ मा काँग्रेसको काँधमा चढेर । अब  उसले बल्ल आफ्नो असली धरातल देख्ने छ जब एक्ला एक्लै चुनाव लड्नु पर्ने बेला आउँछ। 

एमाले काँग्रेसले सहकार्य गरेर पनि एक्ला एक्लै चुनाव लडेको विगतको उदाहरण काफी छ। ०५६ सालमा कांग्रेस एमालेको संयुक्त सरकारले चुनाव गरायो । तर उनीहरू एक्ला एक्लै लडे। काँग्रेसले बहुमत ल्यायो , एमाले प्रमुख प्रतिपक्ष बन्यो। अबको चुनावमा पनि यही अवस्था दोहोरिने सङ्केत देखा परेको छ।  अब एक्ला एक्लै एमाले कांग्रेस चुनाव लड्दा माओवादीको वास्तविक धरातल त्यसै बेला देखिने छ। 

प्रचण्ड नेतृत्वको गठबन्धनमा रहेको माधव नेपालको  नेकपा एस र त्यस पार्टीका अध्यक्ष  माधव नेपालको  भने साँच्चै आफ्नो धरातल देखिने छ। एमालेबाट चोइटिएर नेकपा एस  पार्टी गठन गरेर त्यसको अध्यक्ष रहँदै आउनु भएका उहाँको आफ्नै राजनीति भविष्य समेत धरापमा परेको छ।  

२०७९ सालको निर्वाचनमा माओवादी र काँग्रेससँग गठबन्धन गरेर चुनाव लड्दा देशै भरी प्राप्त गरेको समानुपातिक  मतलाई आधार मान्दा एसले  एउटा निर्वाचन क्षेत्र बाहेक सबैतिर जमानत जफत भएको तथ्यले बताउँछ । अब कसंसंग गठबन्धन नगरी चुनाव लड्दा नेकपा एस र त्यो पार्टीका अध्यक्ष माधव नेपालको यर्थाथ धरातल देखिने छ। 

एस सत्तामा भइरहँदा पनि त्यो पार्टी छोडेर एमालेमा फर्किनेको ताँती ठुलो छ। अब सो पार्टीका  ७ भन्दा बढी सांसद एमाले प्रवेश गरे भने त्यस दिन अचम्म मान्नु पर्ने अवस्था छैन।किन कि अब त्यो पार्टी न सत्तामा छ न प्रतिपक्ष बेन्चमा देखिने गरि बस्न सक्छ।  त्यसैले एमालेबाट फुट्दै  सत्ताको प्वाँख चढेर फुर्ति लगाएको त्यो पार्टी अहिले पखेटा काटिएको चरा  जस्तो भएको छ। सँगै सहयात्री बनेका माओवादीका अध्यक्ष प्रचण्ड त विपक्षी दलको नेता बन्ने छन् । तर प्रचण्डले पनि टाउकोमा राखेर एमालेविरुद्ध प्रयोग गरेका माधव नेपाल संसद्मा कुर्सी हराएको नेतामा पर्न थालेका छन् जुन आइतबार संसद्मा राजेन्द्र लिङ्देननपछि उहाँको बोल्ने पालो  आएबाट प्रस्टै हुन्छ । अब उहाँको खोजी कमै समय बेला हुने छ। धेरैले अब नेपाललाई शुभकामना दिने छन्  –तासको ‘कल ब्रेक’ खेलमा चिडको दुक्की जस्तै  नहुन् 

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ११ : ३७ बजे