सुनको मूल्यमा नयाँ कीर्तिमान

माओवादी केन्द्र अवैधानिक र भूमिगत शैलीमा चलिरहेकोछ : नेता टोपबहादुर रायमाझी

काठमाडौं ।  नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र भूमिगत शैलीले चलिरहेको बताउनुभएको छ । 

शुक्रबार नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै परेको निवेदनका विषयमा बुझ्न अन्य नेतासहित निर्वाचन आयोगमा पुग्नुभएका नेता रायमाझीले माओवादी केन्द्र संविधान, कानून र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत शैलीमा चलेको बताउनुभयो  ।

रायमाझीले २९ वर्षदेखि उक्त पार्टीको महाधिवेशन नभएको भए पनि २०६९ सालमा नाम मात्रैको महाधिवेशन भएको र त्यसपछि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको बताउनुभयो । । ‘माओवादी केन्द्र नेपालको संविधान, कानून र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भुमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘२८–२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि ९ वर्षसम्म अर्को महाधिवेशन गरेको छैन ।’

माओवादी केन्द्रका पूर्व नेता समेत रायमाझीले अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरेको बताउँदै उक्त कार्वाही अवैध भएको बताउनुभयो ।  ‘संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गरेको छ हामीमाथिको कार्वही अवैधानिक छ । ’ उहाँले भन्नुभयो ।

नेता रायमाझीसँगै माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु साह लगायत निर्वाचन आयोग पुग्नुभएको थियो ।  माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न माग गर्दै उहाँहरु आयोग पुग्नुभएको हो । 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ३ : ५० बजे