‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गुरुपूर्णिमा :  आमा हुन् सर्वश्रेष्ठ गुरु !  

शिक्षा र गौरवका दृष्टिले मनुस्मृतिमा त आमालाई सबैभन्दा श्रेष्ठ मानिएको छ भन्ने कुरा यो श्लोकबाट स्पष्ट हुन्छ : ‘उपाध्यायन् दशाचार्यं आचार्याणां शतं पिता । सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते अर्थात् उपाध्यायभन्दा दसगुणा श्रेष्ठ आचार्य, आचार्यभन्दा सयगुणा श्रेष्ठ पिता र पिताभन्दा हजार गुणा श्रेष्ठ आमा गौरवले युक्त हुन्छिन् ।’ यस अर्थमा आमा सर्वोपरि गुरु हुन् । उपाध्याय र अध्यापक भनेका वेद पढाउने शिक्षकलाई भनिएको हो ।  

गुरुपूर्णिमा पर्व गुरुहरूको सम्मानका लागि निर्धारित गरिएको विशेष दिन हो । यो दिन महर्षि व्यासको जन्म दिन पनि हो । हरेक असार शुक्ल पूर्णिमाका दिन यो दिन पर्वमय ढंगले मनाउने गरिन्छ । यद्यपि ज्ञान, बुद्धि, विवेक, सीप, कला, कौशलको महत्व सदैव हुन्छ, तथापि, अन्य दिनहरू उपयोगका दिन हुन् भने यो दिन ज्ञान, बुद्धि, विवेक, सीप, कला, कौशल प्रदान गर्ने गुरुको सम्मान गरिरहने प्रतिबद्धता दोहो¥याउने दिन हो । 

व्यास शब्दको अर्थबारे बढी चर्चा आवश्यक नहोला । सामान्यतः व्यास भनेको एउटा त्यस्तो परिकल्पित रेखा हो, जसले बाहिरी परिधिलाई केन्द्रविन्दुसँग जोड्दछ । यसलाई अंग्रेजीमा Diameter भनिन्छ । यस परिभाषा र प्रयोगसँग पनि व्यासलाई जोडेर हेर्न र बुझ्न सकिन्छ । कुनै पनि वस्तुको विस्तारलाई पनि व्यास भनिन्छ । व्यास परिधिलाई केन्द्रविन्दुसँग जोड्ने रेखा हो भनिएबाट व्यास समाजमा यत्रतत्र छरिएर रहेका विषयलाई आन्तरिकीकरण गर्ने प्रक्रियात्मक शक्ति हो भन्ने बुझ्न सकिन्छ । अर्को, व्यास भनेका ती महान् व्यक्ति हुन्, जसले चारै वेद र अट्ठारै पुराणलाई लिपिबद्ध, उचित विभाजन र व्यवस्थापन गरे । कथा–पुराण भन्ने मानिसलाई पनि व्यास भनिन्छ । 

व्यास कथावाचक हुन् । कथाको माध्यमबाट सृष्टिको विषयमा, समाजको पूर्वावस्था, वर्तमान अवस्था र भविष्यको विषयमा जानकारी गराउने व्यक्तित्व हुन् । ज्ञान, भक्ति र योगको माध्यमबाट समाजलाई जागृत पार्ने कथाकार हुन् । सुन्दर कथावाचनको माध्यमबाट जीवनलाई उपयोगी बनाउन प्रेरणा दिने महान् व्यक्ति हुन् । 

व्यास एउटा यस्तो परम्परा हो, ज्ञान, भक्ति र योगलाई अविच्छिन्न बनाइराख्न योग्य व्यक्तिको छनोट हुन्छ र उनले त्यो काम दत्तचित्त भएर सम्पादन गर्दछन् । यसरी हेर्दा यो प्राचीन प्रवन्धको ज्ञान प्रसारणको जिम्मेवारी विभाजनको उदाहरण हो । व्यास त्यस्तो पद वा पीठ हो, जसले ज्ञान, भक्ति र योगसम्बद्ध कार्य गर्दछ । यही काम पीठासीन नभई परिभ्रमणबाट गर्न सप्तर्षिको व्यवस्था रहेको देखिन्छ । व्यास परम्परा प्राचीन प्रवन्धको अत्यन्त महत्वपूर्ण व्यवस्था थियो । 

माथि चर्चा गरिएको ज्ञान, भक्ति र योगका विषयमा पनि मानिसहरूमा केही अलमल देखिन्छ । यसलाई सापेक्ष रूपमा बुझ्न नसक्दा यस्तो हुनु स्वाभाविक हो । ज्ञान भनेको जीवन र जगतको विषयमा व्यवहारसम्मत जानकारी हो । गर्न हुने—नहुने, खान हुने—नहुने, के किन हुने—किन नहुने आदिबारे जानकारी हो । ज्ञान बहुआयामिक विषय हो । भक्ति भनेको ईश्वर वा देवभक्ति मात्र होइन भन्ने कुरा कसलाई थाहा नहोला र ? राष्ट्रभक्ति, मातृभक्ति, पितृभक्ति, बन्धुभक्ति, मित्रभक्ति आदि पनि हो । भक्ति भनेको त्याग, निष्ठा, समर्पण पनि हो । भक्तिको अर्थ र व्यवहार सही र सापेक्ष हुनुपर्दछ । त्यस्तै, योग भनेको जोड या जोड्नु हो । योग आत्मालाई परमात्मासँग जोड्नु मात्र होइन । मन वा चित्तलाई कर्मसँग जोड्नु हो । विचारलाई व्यवहारसँग जोड्नु योग हो । विचार र व्यवहारको योग नमिल्दा भइरहेको र हुने क्षतिबारे कसलाई थाहा छैन र ? 

यी यावत् विषय व्यास परम्पराबाट अघि बढाइँदै आएका विषय हुन् ।  ‘नारायणं नमस्कृत्य नरञ्चैव नरोत्तमम् । देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् अर्थात् नारायण, नरोत्तम, सरस्वतीदेवी र व्यासलाई नमस्कार गर्दै जयकार भन्नुपर्दछ, अर्थात् जय भनौँ’ भनिएको छ । यहाँ नारायण र नरोत्तम अर्थात् भगवान र श्रेष्ठ व्यक्ति, सरस्वतीदेवी र व्यास अर्थात् ज्ञानकी अधिष्ठात्री र ज्ञानका प्रसारक—विस्तारकलाई समान रूपमा ग्रहण गरिएको छ । 

के यी सबै काम व्यास नामका कुनै एक जना मानिसले गरे त ? यो प्रश्न महत्वपूर्ण छ । धेरै मानिसहरूको अलमल पनि यसै विषयमा छ । समर्थन गर्नेमध्ये धेरैले होइन भन्न नसकेको र विरोध गर्नेहरूले पनि तथ्य केलाउन नसकेको विषय छ । यसलाई बुझ्न आवश्यक छ । नबुझी गरिने समर्थन होस् वा विरोध दुवैले भ्रम र अन्धविश्वास नै बढाउने हो । प्रागैतिहासिक विषय भएकोले ठ्याक्कै तथ्य फेला पार्न सकिँदैन । कथ्य परम्पराबाट आएको हुनाले यसमा मान्यता र आस्थाले पनि काम गरेको हुन्छ । अतः यसलाई पनि शब्द, मान्यता, परम्परामा आधारित रहेर यस बारेमा गरिने छलफलबाट सही वा हितकर निष्कर्षमा पुग्न सकिन्छ । 

माथि गरिएका विमर्शबाट व्यास एकजना व्यक्ति मात्र होइनन् भन्ने कुरा स्पष्ट हुन्छ । व्यक्तिका रूपमा भन्ने हो भने व्यास भनेको धेरैतिरका बारेमा जान्ने मानिस हो । यसो भएकोले व्यास एउटा उपाधि पनि बन्यो, जसलाई अहिले एक मात्र व्यास हुन् भन्ने गरिएका वेदव्यास कृष्णद्वैपायन व्यास हुन् र व्यासमध्येका २८औं व्यास हुन् । कुनै पनि विषयको भरपर्दो स्रोत जुन् परम्परा हो, त्यसको भर पर्दा मात्र सही जानकारी प्राप्त हुन्छ । विष्णुपराणका अनुसार व्यास २८ जना भएका छन् । यिनीभन्दा अघिका २७ व्यास पद वहन गरेकाहरूको नामावलि यस प्रकार रहेको छ : १.ब्रह्मा २.प्रजापति ३.शुक्राचार्य ४.वृहस्पति ५.सूर्य ६.मृत्यु (यमराज ?) ७.इन्द्र ८.वसिष्ट ९.सारस्वत १०.त्रिधामा ११.त्रिशिख १२.भरद्वाज १३.अन्तरिक्ष १४.वर्णी १५.त्रयारूण १६.धनञ्जय १७.क्रतुञ्जय १८.जय १९.भरद्वाज २०.गौतम २१.हर्यात्मा २२.वाजश्रवा २३.तृणविन्दु २४.ऋक्ष/वाल्मीकि २५.शक्ति २६.पराशर २७.जातुकर्ण हुन् भने अब हुने भनिएका व्यास अश्वत्थामा हुन् । यीमध्ये कतिपय व्यास हाम्रै नेपालमा जन्मेका थिए भन्ने देखिन्छ । तर, हामीले ‘प्रगतिशील अन्धविश्वास’का कारण यसतर्फ ध्यान दिएनौँ । 

व्यास गुरु हुन् । गुरुलाई आचार्य, उपाध्याय पनि भनिन्छ । गुरु भनेको गह्रौँ वा गहकिलो हो । जसमा गुरुत्व हुन्छ, उसैलाई गुरु भनिन्छ । पृथ्वीको आकर्षण सारशक्ति गुरुत्व हो । शास्त्रमा लेखिएको छ : ‘उपाध्यायः पिता माता ज्येष्ठो भ्राता महीपतिः । मातुलः श्वशुरश्चैव मातामहपितामहौ । वर्णज्येष्ठः पितृव्यश्च सर्वे ते गुरवः स्मृताः अर्थात् उपाध्याय पिता, दाजु, राजा, मामा, आमा, ससुरा, मावलका हजुरबा—हजुरआमा, वर्णमा श्रेष्ठ, काका आदि पनि गुरु हुन् ।’ पढाउने, सिकाउने, बुझाउने आदि सबै गुरु नै हुन् । अहिले राजाका स्थानमा राज्यको नेतृत्व गर्ने नेताहरू हुनुहुन्छ । हामी वहाँहरूप्रति सम्मानशील हुनुपर्दछ । यसको अर्को पाटो स्पष्ट छ कि हामीले सम्मान गर्नेहरू सम्मानयोग्य होऊन् । हामी पनि कसै न कसैका माथि भनिएका सम्बन्धमा पर्दछौँ । यो विषय हामी सबैले सदैव ध्यान राख्नुपर्दछ । आफू सम्मान खोज्नेले अरुप्रति सम्मान गर्न सक्नुपर्दछ । यो गुरुपर्वको महत्वपूर्ण सन्देश हो । 

हामीले समाजका मानिसहरूबाट धेरै कुरा सिकेका छौँ । प्रकृति र प्रकृतिका पशु—पक्षीहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ र सिकिएको छ । गुरुपूर्णिमा पर्वले हाम्रो ज्ञान र प्रेरणाका सबै स्रोतहरूप्रति सम्मान गर्न अभिप्रेरित गर्दछ । यसबाट हामी सबैप्रति विनम्र हुने संस्कृति विकास गर्न सकिन्छ । अहिलेको सामाजिक अवस्था हेर्दा जताततै सम्मानको कमी भइरहेको देखिन्छ । सितिमिति कोही, कसैप्रति कृतज्ञ नहुने अवस्था बढ्दो छ । यसबाट हामीले शिक्षा लिने भनेको हामी अरुप्रति कृतज्ञ हुनुपर्छ । यसो हुँदा हामीप्रति पनि अरु कृतज्ञ हुनेछन् । यसरी कृतज्ञताको संस्कृतिको विकास हुनेछ । यसतर्फ गुरुपूर्णिमाले हामी सबैलाई अभिप्रेरित गर्न सकोस् । 
नीतिशास्त्रमा भनिएको छ : ‘सिंहादेकं वकादेकं शिक्षेच्चत्वारी कुक्कुटात् । वायसात्पञ्च शिक्षेच्च षट् शूनस्त्रीणि गर्दभात् अर्थात्, सिंहबाट एक, बकुल्लाबाट एक, कुखुराबाट चार, कागबाट पाँच, कुकुरबाट छ, गधाबाट तीन शिक्षा लिनू ।’ यसको तात्पर्य हो, यीप्रति कृतज्ञ हुनुपर्दछ । 

यसरी व्यास परम्परामा व्यासको ठूलो महत्व रहेको छ । शिक्षा क्षेत्रमा आचार्यभन्दा उपाध्यायको महत्व रहेको छ । यसमा आमाको भूमिका सर्वोपरि रहेको विषय यहाँ लेखिएको श्लोकले स्पष्ट पारेको छ । हामीले व्यास, सरस्वती, पिता, गुरुको सम्झना र सम्मान गर्दा आमाको सर्वोपरिता बिर्सनु हुँदैन । शास्त्रका यी स्पष्ट प्रावधानका बावजुद, राजनीतिक, आर्थिक, सामाजिक दृष्टिले नारीशक्तिलाई कमजोर बनाउने गरी कायम रहेको अवस्थाबाट माथि उठ्नपर्छ । हजारगुणा श्रेष्ठ र गौरवशाली भनिएको मातृशक्ति प्रतिको सम्मान र कृतज्ञता समेतको महत्व रहेको गुरुपर्व व्यास जयन्ती र गुरुपूर्णिमाको अन्तर्वस्तु बुझौँ र अवलम्बन गरौँ ।   

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : ५९ बजे