दस वर्षे जनयुद्ध गरेर २०६३ सालमा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (ओवादी केन्द्र)का केही नेताको यति बेलासम्म आइपुग्दा राम्रैसँग बर्गोत्थान भएको त छ तर पार्टीको जनविश्वास गिरेको छ । २०६३ अघिको माओवादी पार्टी ‘चेन अफ कमाण्ड’मा थियो, अनुशासन थियो । अहिले चेन चुँडालिएको छ, कमाण्ड कमाण्डरबिनाको मोर्चा झैँ बनेको छ ।
तर अहिले पार्टी उँभो होइन, उँधो गतिमा छ । नेता तथा कार्यकर्ताहरू सहरभोगी, सुखभोगी, जागिरभोगी, गुटगत मानसिकताभोगी, दलाली, चाकरी, चाप्लुसीभोगी, नातावाद कृपावादभोगी, दलालभोगी, कमिसनभोगी, छलछाम,झुटभोगी, हुँदा यो पार्टी हिजो पञ्चायती शासनकालको भन्दा पनि डुङडुङती गनाउने भएको छ । साँच्चै भन्नुपर्दा माओवादी पार्टी माओको सिद्धान्तमा अव झिँगाको टाउको जति पनि बाँकी छैन भन्दा पनि हुन्छ । पार्टीको नाम माओवादी राख्दैमा ऊ राम्रो, जनमुखी हुने भए सबै बुद्धिबहादुरहरू बौद्धिक र वीरबहादुरहरू किन निडर हुँदैनन् ? यो त नाम एउटा र काम अर्के जस्तो भएको छ । जनतालाई झुक्क्याउने र सत्ताको खेलमा अर्काको वैशाखी टेकेर गोल हान्न खोज्ने तर त्यो भद्रगोलमा परिणत हुने देखिँदै गएको छ ।
माओवादी रूपान्तरण अभियान बारे:
गत वर्ष माओवादीले जनतासँग पार्टीको निकट सम्बन्ध स्थापना गर्ने, जनतासँग जोडिने भन्दै पार्टीका नेता र कार्यकर्ताहरूमा रूपान्तरण आवश्यकताको महसुस गर्दै चार महिने कार्यक्रम ‘माओवादी रूपान्तरण अभियान’ सञ्चालन ग¥यो । गते वर्ष प्रज्ञा भवनमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले यो कार्यक्रम तय गरेको थियो । सुबिधाभोगी सहर बजारमा बसेर, मिठो मसिनोमा भुलेर, शरीरमा बोसो भरिएका र महँगा जिम हलहरूमा ‘एक्सरसाइज’ गरेर बोसो पगाल्न थालेका केही थान माओवादी नेताहरू गाउँमा पुगे र जनताको काम, दैनिक सुख दुःख, समस्या, पिडा, श्रम आदिका बारेमा पुनः नजिकै पुगेर जानकारी लिने काम गरे । कतिपय ‘कामचोर’ नेताहरू त जिल्ला सदरमुकाम पुगेर होटेलमा बसेर, गफ छाँटेर, जनतासँगै श्रममा जोडिएको बहाना गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा रंग्याउँदै पार्टीका उपल्लो तहका नेताहरूलाई मक्ख पार्न समेत भ्याए । कतिपय पार्टीका बिचौलियाहरूले उक्त अभियानको प्रचारको जिम्मा लिएर केही उपकरणहरू (महँगा क्यामेरा, ल्यापटप, फेसबुक पेज बुस्टिङ, अनलाइन सञ्चालन, आईसीटी) खरिद गरेको फर्जी बिल पार्टीमा बुझाएर रकम पनि असुल्न भ्याए । अझै तिनैले माओवादी सिद्धान्तको बारेमा, सुशासनका बारेमा, भ्रष्टाचारविरुद्धका बारेमा गफ दिँदै हिँडेको र पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री प्रचण्ड र उनको सचिवालयका केही कर्मचारीहरूलाई गुमराहमा (भुलभुलैयामा) पार्ने काम पनि गरे । यसले गर्दा उक्त रूपान्तरण अभियान देखाउने दाँत मात्र भएको धेरै इमानदार र स्वाभिमानी कार्यकर्ताहरू अझैँ चिया–चौतारीमा गफ गरेको भेटिन्छ÷सुनिन्छ । उनीहरू अचेल भन्न थालेका छन्, ‘रूपान्तरण अभियानले पार्टी रूपान्तरण होइन, केही नेताको खल्ती रूपान्तरण गर्ने काम चाहिँ राम्रैसँग भएछ ।’
माओवादीको गिर्दो शाखः
गत शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत पाउन सकेनन् । उनको सरकार ढलेर संसद्मा सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चौथो पटक यो देशको प्रधानमन्त्री बनेका छन् । विश्वासको मतका लागि भएको मत विभाजनमा प्रचण्डले ६३ मत मात्रै पाए । ०७९ पुस १० गते प्रचण्ड पहिलो पटक नेकपा (एमाले)सहितको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए । उनले ०७९ पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यति बेला उपस्थित २७० सांसदमध्ये प्रचण्डले २६८ मत प्राप्त गरेका थिए ।
त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरू परिवर्तन गरे । सत्ता सहयात्री दलहरू फेरबदल भएपछि प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ०७९ चैत ६ गते विश्वासको मत लिए । त्यति बेला उनले १७२ सांसदको समर्थन पाएका थिए । त्यसपछि उनले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिए ।त्यति बेला प्रधानमन्त्री प्रचण्डले १५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।
चौथो पटक प्रधानमन्त्री प्रचण्डले २०८१ चैत ७ गते विश्वासको मत लिए । त्यति बेला उपस्थित सांसदमध्ये १५८ जना सांसद मतदान प्रक्रियामा सरिक भए । जसमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत परेको थियो ।
माओवादीका लागि कहिल्यै बिर्सनै नसक्ने अङ्क ६३
माओवादीका लागि कहिल्यै बिर्सनै नसक्ने अङ्क ६३ रह्यो । शान्ति प्रक्रियामा आउँदा ०६३ मा माओवादी भुइँमान्छेको सपना थियो, आदर्श थियो । माओवादी सडकको बाघ थियो । यस पटक संसद्मा ६३ मत दिएर माओवादीका प्रधानमन्त्रीलाई दहे झापड दिए । केही महिनाअघि १५७ मत ल्याएकालाई ६३ मा नै खुम्च्याइ दिए । वि.सं २०६३ मा माओवादीसँग बहुसङ्ख्यक जनता थिए । सुदृढ पार्टी थियो । त्यति वेला राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा स्थापित नेताहरू, जसले पुष्पकमल दाहाललाई (प्रचण्ड) बनाउन वैचारिक, राजनीतिक, सङ्गठन र सङ्घर्षबाट विशिष्ट योगदान दिएका थिए, मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, सीपी गजुरेलसहितका हजारौँ नेता तथा कार्यकर्ता एउटै पार्टीमा थिए । सुनकाण्डसहित कुनै घोटालामा माओवादी नेता नमुछिएकाले नैतिक शक्ति थियो । तिनले अपिल गर्दा हजारौँ, लाखौँ सडकमा उत्रिन्थे । आज ६३ बाट सांसदबाट माओवादी लखेटिँदा अपमान र पराजयको, निराशा र उपेक्षाको नम्बर भएको छ । त्यति बेला माओवादीसँग कोही प्रधानमन्त्री भएका व्यक्ति त थिएनन् र मन्त्री पनि थिएनन् । अहिले भूपू प्रम, मन्त्रीको भीड छ तर तिनका अपिलले जनता सडकमा आउँदैनन् । त्यो बलवान ०६३ बाट यो अपमानको ६३ सम्म आउँदा धेरै नेता तथा कार्यकर्ताको वर्गाेत्थान भएको छ तर जनविश्वास गुमेको छ । सबैभन्दा चिन्ताको कुरा भुइँमान्छेको भरोसा धरमराएको छ ।
प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार २ : ५० बजे
प्रतिक्रिया