‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रपतिको सम्बोधनमाथि विश्वविद्यालयमा विमर्श

काठमाडौं । देशको सबैभन्दा जेठो र ठुलो त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सीनास) ले आफ्नो ५३ औँ वार्षिकोत्सव यही श्रावण महिनाको एक गते आफ्नै भवनको ‘जनककक्ष’मा आयोजना ग¥यो । हाम्रो गौरवको रूपमा रहेको जनक सभ्यताका प्रवर्तक राजर्शी जनकको नाममा समर्पित सभाहलमा प्राज्ञिक समुदायका बीच गणतन्त्र नेपालको दोस्रो र मुलुकको प्रथम महिला राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले राष्ट्रप्रमुख हुँदा गर्नुभएको सम्बोधनहरू सङ्ग्रह गरेर सीनासले दुई भागमा प्रकाशित गरेका ग्रन्थहरू उक्त अवसरमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले विमोचन गरे । 

गर्भावस्थामा आफ्नै पिताद्वारा ‘श्रापित’ भई शरीरको आठ ठाउँमा बाङ्गो भएका अष्टावक्र ऋषिको ज्ञानबाट मुग्ध बनेका राजा जनकले हजारौँ हजार विद्वानहरू जनकनगरीमा भेला गराई शास्त्रार्थ गराएका थिए । तिनै विदेह नरेश जनकको सम्मानमा सीनासले कक्षको नाम ‘जनककक्ष’ राख्नु र ‘हिमवत संवाद’ नियमित गर्ने अठोटका साथ पूर्व राष्ट्रप्रमुख श्रीमती भण्डारीबाट उद्घाटन गराउनु सराहनीय कार्य हो । अन्तरक्रिया, छलफल र विमर्शलाई आत्मसात् गरी सत्य उद्घाटित गर्न अग्रसर हुने पूर्वीय सभ्यताको मर्मलाई एकताका एसियाकै उत्कृष्ट मध्ये कहलिएको तथा अहिले ओझेलमा परेको अनुसन्धान संस्था सीनासले बदलिएको परिस्थितिमा कसरी आफ्नो आकाङ्क्षा साकार पार्ने हो त्यो भने भविष्यले नै बताउनेछ । 

अनुसन्धानलाई ‘सभ्यताको माटो’ को संज्ञा दिने ३१ आँै (सन् १९२९–३३) अमेरिकी राष्ट्रपति हर्बट हुभरजस्ता अनुसन्धानको महत्वमा जोड दिने व्यक्तित्वहरूको दृष्टिकोणलाई हामीले आत्मसात् गर्न सक्नु पर्दछ । अनि शान्ति, सहिष्णुता र ज्ञान आर्जनबारेको हाम्रो मौलिक ‘पूर्वीय सभ्यता’ थप उजागर गरी त्यसको प्रवर्द्धन गर्न सीनासले प्रेरणा लिनु पर्दछ । अब राज्यका सम्पूर्ण अङ्ग र निकायहरूले अनुसन्धान र  नवप्रवर्तनको बहुआयामिक महत्वलाई आत्मसात् गर्न दृढ सङ्कल्प गर्नै पर्दछ । अनुसन्धान र विकासका क्षेत्रमा लगानी गर्न सरकार हच्किनु हुँदै हुँदैन । सोध, विशिष्ट व्यक्तित्वका खारिएका सम्बोधन तथा दृष्टिकोणहरूलाई  आम चासोको विषय बनाएर विमर्श चलाउनु पर्दछ । यस्ता रचनात्मक कार्यबाट नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा सङ्कल्प साकार पार्न विश्वविद्यालयहरूले टेवा पु¥याउन सक्दछन् । 

सम्बोधन वा भाषण भन्नाले कुनै विषयमा विचार, दृष्टिकोण तथा धारणा अभिव्यक्त गर्ने माध्यमलाई बुझाउँछ । सम्बोधन लिखित वा मौखिक जस्तो पनि हुन सक्छ । संवादका निम्ति उत्प्रेरित गर्ने, विश्वास दिलाउने, दबाब सिर्जना गर्ने, जागरण पैदा गर्ने र नीति तथा योजनालाई कार्यान्वयन गर्न निर्देशन दिने उद्देश्यले नै गरिन्छ सम्बोधन । यसर्थ सामाजिक तथा सांस्कृतिक जीवनमा सम्बोधनको ठुलो महत्त्व हुने गर्दछ । त्यसमा पनि राष्ट्रको सर्वोच्च ओहदामा पुगेको राष्ट्रपतिले आफ्नो जिम्मेवारी बहन गर्ने शिलशिलामा गरेका सम्बोधनका आयामहरू धेरै नै हुन्छन् । यही पक्षलाई आत्मसात् गरेर नै होला सीनासले तत्कालीन राष्ट्रपतिद्वारा गरिएका सम्बोधनहरूलाई सङ्कलन गरेर पुस्तकाकारमा प्रकाशन गरेको । 

मूलतः संविधान र कानुन बमोजिम कार्य सम्पादन गर्ने, नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने तथा संविधानको पालना र संरक्षण गर्ने दायित्व राष्ट्रपतिलाई छ । यसर्थ राष्ट्रपति व्यक्ति मात्र नभएर एउटा संस्था हो । संवैधानिक राष्ट्रपतिले यी गहन जिम्मेवारीहरू बहन गर्ने शिलशिलामा औपचारिक तथा अनौपचारिक भेटघाट गर्नुपर्ने हुन्छ र त्यस अवसरमा निर्देशन र सुझावहरू समेत दिनुपर्ने हुन्छ । यस सन्दर्भमा राष्ट्राध्यक्षले देश र जनताको भलाइका निम्ति गहन विचार, दृष्टिकोण र धारणा प्रस्तुत गर्ने अवस्था आउँछ । यस्ता प्रसङ्गहरूमा राष्ट्राध्यक्षबाट व्यक्त भनाइहरू कतिपय सार्वजनिक हुन्छन् भने कतिपय हुँदैनन् । राष्ट्रपतिबाट अभिव्यक्त हुने ती दृष्टिकोणहरूलाई समेत एक अर्थमा सम्बोधनको रूपमा लिन सकिन्छ । त्यसलाई विचार प्रवाहको प्रक्रियाको रूपमा आत्मसात् गर्नुपर्ने हुन्छ । यसरी समग्रमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा राष्ट्राध्यक्षको मूल्याङ्कन तथा विश्लेषणका आधारमा राष्ट्रपति संस्थाले प्रत्यक्ष तथा परोक्ष रूपमा राष्ट्रलाई मार्गदर्शन गरिरहेको हुन्छ र अभिव्यक्त त्यस्ता दृष्किोणका आधारमा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध व्यक्ति, बौद्धिक समुदाय एवं आम नागरिकले राष्ट्राध्यक्षको मूल्याङ्कन गरिरहेका हुन्छन् । साथै, राष्ट्रपतिबाट अभिव्यक्त हुने अवधारणाबाट अन्तर्राष्ट्रिय समुदायले समेत देश कुन दिशातर्फ गइरहेको छ भन्ने आङ्कलन गर्दछ । यस अर्थमा पनि राष्ट्रपतिका दृष्टिकोण तथा सम्बोधन अत्यन्तै संवेदनशील, महत्त्वपूर्ण र दूरगामी महत्वका हुन्छन् । 

ग्रन्थ लोकार्पण कार्यक्रममा केही विद्वानहरूले राष्ट्रपतिका सम्बोधनमा अभिव्यक्त दृष्टिकोणमाथि विभिन्न कोणबाट संक्षिप्तमा मूल्याङ्कन तथा विश्लेषण गरेका थिए । 

तत्कालीन राष्ट्रपति भण्डारीको सम्बोधनमा तीज, जीतिया र गौरा पर्वलाई नेपालीको महान् चाड भनिएकोमा सम्पूर्ण जातजातिको राष्ट्रिय पहिचान अभिवृद्धि गर्न मद्दत पुगेको र समतामूलक समाज निर्माणमा मार्गदर्शन गर्न सफल भएको पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापनरत पुकार चौधरीले धारणा व्यक्त गरे । हेर्दा र सुन्दा राष्ट्रपतिको उक्त वक्तव्य सामान्य जस्तो लाग्न सक्छ तर त्यसको महत्ता, आयाम र सन्देश कति व्यापक हुँदोरहेछ चौधरीको भनाइबाट स्पष्ट हुन्छ । नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो र यहाँको सहिष्णुतायुक्त सांस्कृतिक पहिचान राष्ट्राध्यक्षको सम्बोधनमा परेकोमा जनता कति खुसी हुँदो रहेछ भन्ने कुरा समेत छर्लङ्ग हुन्छ । 

समाजशास्त्री प्रा.डा. युवराज लुइँटेले आफ्नो दृष्टिकोण यसरी व्यक्त गर्नुभयो— पुस्तकमा पौने तीन सय सम्बोधन समेटिएकोमा ४० भन्दा बढी शिक्षा सम्बन्धी भएकाले शिक्षाका बारेमा राष्ट्रपतिको कति अभिरुचि रहेछ स्पष्ट छ । उहाँले थप्नुभयो— वर्तमान विश्वमा जलवायु परिवर्तनको असर र परिणामबारे सम्बोधनमा व्यक्त विचारले त राष्ट्रपतिज्यू त्यसको विज्ञ नै भएजस्तो लाग्छ । बालागुरु षडानन्दले शिक्षाका क्षेत्रमा पु¥याएको योगदान र राणाकालमा जलसमाधी लिएर महिला जागरणमा अतुलनीय भूमिका निर्वाह गरेकी योगमायाको बारेमा श्रीमती भण्डारीले आफ्ना सम्बोधनहरूमा चर्चा गरेर उनीहरूको ऐतिहासिक योगदान उजिल्याएकोमा प्रा.डा. भोला थापाले श्रीमती भण्डारीको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । 

विद्यालय अध्ययन गर्दादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय पूर्व राष्ट्रपति श्रीमती भण्डारीले समाजमा वैज्ञानिक र जनमुखी शिक्षाको उपादेयता र महत्त्व गहिरोसँग बुझ्नु भएकाले पनि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दा पूर्व प्राथमिकदेखि उच्च तहसम्मको शिक्षाको गुणस्तरका निम्ति उहाँले सरकारको ध्यान गम्भीर रूपमा आकर्षण गराउन सफल हुनुभएको हो । उहाँको पालामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम नै मुलुकमा लागू गरियो । 

राष्ट्रपति हुनु पूर्व वातावरण मन्त्रीसमेत बनिसक्नुभएको श्रीमती भण्डारीले राष्ट्रपतिको भूमिकामा रहेको बेला सन् २०१८ मा पोल्याण्डमा भएको कोप—२४ शिखर सम्मेलनमा गर्नुभएको सम्बोधनले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको थियो । नेपालले जलवायु परिवर्तनमा खासै भूमिका नै खेलेको छैन तर पनि त्यसको मारमा हामी पर्नुपरेको छ, हाम्रा हिमाल पग्लिएका छन्, बाढी पहिरोको प्रकोप बढेको छ, हामी अन्यायमा परेका छाैँ, बिगार्ने विकसित देशहरू अन्यायमा हामी पर्नुपर्ने भन्दै संसारभरका राष्ट्राध्यक्ष, सरकार प्रमुख, नीति निर्माता र वातावरणविद्हरूको ध्यानाकर्षण गर्न राष्ट्रपतिको सम्बोधन सफल भएको थियो । 

प्रा.डा. खड्ग केसीले भन्नुभयो— राजतन्त्र कालमा राजाको भनाइलाई महानबाणी भनिन्थ्यो र उनी नै सर्वेसर्वा हुनाले ती विषयहरू मुलुकका नीतिहरूमा समेत प्रतिविम्बित हुन्थे र कार्यान्वयनमा जान्थे । मुलुक गणतन्त्रमा प्रवेश गरेको छ र हामीले राष्ट्राध्यक्षको रूपमा राष्ट्रपति पाएका छौँ । अब राष्ट्रपतिका सम्बोधन तथा दृष्टिकोणहरूमा पाइने अन्तर्राष्ट्रिय मामिला, राष्ट्रियता र विकास निर्माण सम्बन्धी विषयका निष्कर्षहरूलाई कुन रूपमा लैजाने हो गम्भीर बन्नु पर्दछ । 

कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहँदै प्राज्ञिक समुदायका बीच तीन घण्टाभन्दा बढी बिताउनु भएको श्रीमती भण्डारीले आफूले गहिरोसँग चिन्तन मनन गरेर नै देश र जनताको भलाइका निम्ति सही र उपयुक्त सम्बोधन गर्ने गरेको बताउनु भयो । उहाँले थप्नु भयो— उच्च ओहोदामा पुगेका व्यक्तिले बोलेको र सम्बोधन गरेको विषयमा सामान्यतः सराहना मात्र गर्ने चलन यहाँ छ तर सधैँ र सबै त्यो कुरा सही नहुन पनि सक्छ यदि त्यस्तो छ भने स्वस्थ ढङ्गले फरक विचार अभिव्यक्त गर्न बौद्धिक जगतसहित सम्बद्ध सबैले ध्यान दिनु पर्दछ । अनि मात्र सही कुरा स्थापित हुनसक्छ । 

सीनासका कार्यकारी निर्देश डा. मृगेन्द्र बहादुर कार्कीले ग्रन्थ महत्त्वपूर्ण भएकाले यसलाई विश्वविद्यालय र अनुसन्धानरत संस्थाहरूले विभिन्न कोणबाट शोधकर्ता र विज्ञहरूलाई अनुसन्धान गराउन अग्रसर हुनुपर्ने बताउनुभयो । यस विषयले कति प्राथमिकता पाउनेछ त्यो त भविष्यले नै बताउनेछ । 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १ : २० बजे