‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेमा अधिवेशन नगराउने ११ इन्चार्ज र अध्यक्ष निगरानीमा

काठमाडौँ । नेकपा एमालेमा निर्धारित समयभित्र जिल्ला अधिवेशन हुन नसकेका ११ जिल्लाका अध्यक्ष तथा इन्चार्जहरूको निगरानी सुरु भएको छ । 

पार्टीले तोकेको समयभित्र जिल्ला अधिवेशन हुन नसकेका जिल्ला कमिटीहरूमा कोसी प्रदेशको तेह्रथुम, मोरङ र इलाम, मधेस प्रदेशको सिराहा, सप्तरी र धनुषा,  गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको डोटी, अछाम र बझाङ जिल्ला रहेका छन् । 

अन्य ६६ जिल्लाका अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा ११ जिल्ला कमिटीले अधिवेशन गर्न नसकेको विषय अहिले पार्टीका लागि समेत टाउको दुखाई बनेको छ । 

सोही कारण गत असार २६ गते बसेको सचिवालय बैठकले त्यस्ता निर्वाचन गराउन नसक्ने ती ११ जिल्ला कमिटीलाई कारबाही स्वरूप सङ्गठित कमिटीको रूपमा रूपान्तरण गरिसकेको छ । सङ्गठन विभागका सदस्यका अनुसार यो भनेको ‘पार्टीको आन्तरिक प्रणालीमा एक किसिमको ठुलै कारबाही हो ।’ एमालेमा यसरी जिल्ला कमिटीलाई कारबाही गरिएको पहिलो घटना भएको बताइएको छ । 

समयमा पार्टीको जिल्ला अधिवेशन गराउन नसकेपछि ती जिल्लाहरूमा इन्चार्जको रूपमा खटिएका नेताहरूकोसमेत आलोचना भइरहेको छ । यसरी आलोचना खेप्नेमा महिला नेतृ डा‍. शिवमाया तुम्बाहाम्फेदेखि कोसी प्रदेशका मुख्यमन्त्री हिम्मत बहादुर कार्की समेत पर्नु भएको छ । पूर्व उपसभामुख तथा कानुनमन्त्रीसमेत रहनु भएकी डा. तुम्बाहाम्फे अहिले पार्टीको इलाम इन्चार्ज हुनुहुन्छ । नेपाली राजनीतिमा राम्रै सम्भावना बोक्नु भएकी उहाँले हालै इलाममा सम्पन्न उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई जिताउने कमाण्ड समाल्नु भएको थियो । 

इलाम जिल्लाका पार्टी अध्यक्ष गएको सङ्घीय निर्वाचनमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्ने सामर्थ्य राख्नु भएका महेश बस्नेत हुनुहुन्छ । 

यस्तै कोसी प्रदेशको राजधानी समेत रहेको मोरङमा पनि एमाले अधिवेशन हुन सकेको छैन । मोरङको इन्चार्जमा एमालेमा उदयमान नेता कोसी प्रदेशका  मुख्यमन्त्री हिम्मतकुमार कार्की इन्चार्ज हुनुहुन्छ । मोरङ एमालेका अर्का सशक्त नेता तथा जनसङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको  गृहजिल्ला पनि हो । मोरङको अध्यक्षमा सांसद समेत रहनु भएका ऋषिकेश पोखरेल हुनुहुन्छ । संसद्को शक्तिशाली सार्वजनिक लेखा समितिको सभापति समेत रहनु भएका पोखरेलको गृह जिल्लामा पार्टी अधिवेशन नहुनु विडम्बना हो ।  

अहिले एमालेमा निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बा हुनुहुन्छ । उहाँको गृहजिल्ला तेह्रथुम हो । उहाँकै गृह जिल्लामा समेत अधिवेशन हुन सकेको छैन । तेहथुमको जिल्लाका इन्चार्ज टंक आङबुहाङ र अध्यक्ष तेजमान कन्दङवा हुनुहुन्छ । 

अव सप्तकोसी तरेर मधेस प्रदेशमा प्रवेश गर्दा सिराहा, सप्तरी र धनुषाको जिल्लाको अधिवेशन हुन सकेको छैन ।  

सिराहाको अध्यक्षमा चण्डेश्वर मण्डल र  इन्चार्जमा सुमनराज प्याकुरेल हुनुहुन्छ । इन्चार्ज प्याकुरेलले सिराहा अधिवेशन गर्न कुनै समस्या नभएको र प्राविधिक कारणले मात्र रोकिएको बताउनुभयो । उहाँले अहिलेको जिल्ला अध्यक्ष चण्डेश्वर मण्डल पार्टीको प्रदेश अध्यक्ष हुनुभयो । उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष  सिराहा नगरपालिकाको मेयर हुनुभयो । सचिव पनि अर्को गाउँपालिकाको अध्यक्ष र दुईवटै उपसचिव नगरपालिकाको मेयर हुनुभयो” उहाँले भन्नुभयो, “त्यसले गर्दा उहाँहरूको असार मसान्तभित्र नभ्याउने भए पनि अधिवेशन गर्न नसकिएको हो ।”

उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर सिराहा र सप्तरीको अधिवेशन गर्न एक दिनको फरक गर्ने योजना भए पनि सप्तरीले अधिवेशन गर्न नसक्दा सिराहाको पनि रोकिएको बताउनुभयो ।  

मधेस बुझेका सप्तरीवासी नेता प्याकुरेललेसमेत छिमेकी जिल्ला सिराहामा एमाले मिलाउन मेसो भेट्नु भएको छैन ।  सिराहा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चुनावमा लडेका नेता लिलानाथ श्रेष्ठको गृहजिल्ला हो । पूर्व कानुनमन्त्रीसमेत रहनु भएका श्रेष्ठ अहिले छिमेकी जिल्ला धनुषाको इन्चार्ज हुनुहुन्छ । 

एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको गृह जिल्लामा पनि अधिवेशन हुन सकेको छैन । धनुषामा राजकिशोर यादव अध्यक्ष हुनुहुन्छ । 

चुनाव हुन नसकेको सप्तरीको इन्चार्जमा सर्लाहीवासी नेता दिवाकर देवकोटा र अध्यक्ष ताराकान्त चौधरी हुनुहुन्छ । 

 हिमालपारिको जिल्ला मनाङमा पनि अधिवेशन हुन सकेको छैन । गण्डकी प्रदेशकै गुल्मी निवासी बालसिंह काउछामगर हिमालपारि पुग्न नभ्याएर हो कि किन हो ? त्यहाँ पनि अधिवेशन हुन सकेको छैन । मनाङको जिल्ला इन्चार्ज कप्ली गुरुङ हुनुहुन्छ । इन्चार्ज काउछामगरले जेठ २४ गते निर्वाचन गर्ने समय तय भए पनि बाढी पहिरोले गर्दा रोकिएको बताउनुभयो । तर जेठ २४ गते मुलुकमा बाढी पहिरो आएको थिएन ।   

भर्खरै मात्र यातायात पुगेको कर्णाली प्रदेशको डोल्पा जिल्लामा पनि अधिवेशन हुन सकेको छैन । डोल्पामा पार्टीले इन्चार्जको रूपमा प्रेमबहादुर सिंह खटाएको छ भने अध्यक्ष शेरवहादुर बुढा हुनुहुन्छ । 

सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल इन्चार्ज रहेको बझाङमा समेत निर्वाचन हुन सकेको छैन । त्यहाँ अधिवेशन हुन नसके पनि हालै  सम्पन्न उपनिर्वाचनमा बझाङ (ख) मा दमन भण्डारी सूर्य ध्वजा फहराउनु भएको छ । बझाङ अखिलका पूर्व अध्यक्ष ऐन महरको गृहजिल्ला पनि हो । गएको सङ्घीय निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा (एस)का गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग हजारभन्दा कम मतान्तरले मात्र महरले पराजय भोग्नु भएको थियो । त्यहाँको अध्यक्ष प्रदेश सभा सदस्य दमन भण्डारी हुनुहुन्छ । 

यस्तै  लिलाकुमारी भण्डारी र लालवहादुर थापाले पनि आफ्नो इन्चार्जसिपमा रहेको डोटी र अछाममा अधिवेशन गराउन सक्नु भएको छैन । डोटीमा चक्रवहादुर मल्ल र अछाममा चन्द्रबहादुर वोहरा जिल्ला अध्यक्ष हुनुहुन्छ । एमालेले जिल्ला अधिवेशन नगर्दा कारवाहीमा परेका ११ कमिटीलाई  कात्तिक मसान्तभित्र अधिवेशन गर्न निर्देशन दिएको छ । 

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ३ : ३८ बजे