धरहराबाट उपत्यका नियाल्ने रहर

धरातल नटेकेको समृद्धि, सधैँ खतरा

अहिले नेपाल आर्थिक समृद्धिको कुरा गर्छ । सुखी नेपाली समृद्ध नेपालको कुरा गर्छ तर देशमा आर्थिक विचलन व्यापक छ । आर्थिक विचलनको बाटो हिँडेर आर्थिक समृद्धि प्राप्त हुँदैन भन्ने ज्ञान कहिले आउला भन्न सकिने अवस्था छैन । 

के हो आर्थिक समृद्धि ? आम मानिसले बुझेको आर्थिक समृद्धि भनेको धनको धनी हुनु हो । आफ्नो र परिवारको आधारभूत आवश्यकता पुरा गर्न धौधौ भएकालाई आफूसँग भएकोभन्दा धेरै धन हुनु हो । धेरै धन भएपछि जीवन चलाउन सहज हुन्छ भन्ने मान्यता व्याप्त छ । हुन पनि मानिसलाई जीवन चलाउन, परिवार चलाउन, स्वास्थ्य, शिक्षा, आवास, भोजन, मनोरञ्जन, सुविधायुक्त जीवनको लागि पैसा अपरिहार्य बस्तु हुन पुग्यो । मानिसलाई यसका अतिरिक्त मान सम्मान, इज्जत, पद, प्रतिष्ठा, शक्ति (पावर) पनि चाहिन्छ । त्यो पनि पैसासँगै गाँसिन पुग्यो । त्यसैले सबैलाई पैसा चाहियो । सामान्य मानिसलाई पैसा जीवन र परिवार चलाउन चाहियो । अत्यावश्यक बस्तुको जोहो गर्न पैसा चाहियो । तर पद, प्रतिष्ठा, मान, सम्मान र शक्तिका भोकालाई यी सबै प्राप्त गर्न जसरी हुन्छ पैसा चाहियो । 

काम, व्यवसाय, उद्योग, सेवा गर्नु र पैसा कमाउनु राम्रो हो । गर्नु यही पर्छ । तर हाम्रो समाजका कतिपय मानिस यो बाटोलाई त्यति उचित ठान्दैनन् । किनकि यो बाटोबाट पैसा त आउँछ तर समय धेरै र पैसा थोरै आउँछ भन्ने मान्यता राख्छन् । त्यसैले छोटो बाटोबाट चाडै धनी हुने बाटो खोज्ने गर्छन् । 

व्यक्ति व्यक्ति र परिवार परिवार समृद्ध नभई समाज समृद्ध हुँदैन । समाज समृद्ध नभई देश समृद्ध हुँदैन । आर्थिक समृद्ध हुनका लागि व्यक्ति, परिवार, समाज र देश धनी हुन आवश्यक छ । जनता धनी भए भने देश धनी हुने बाटो खुल्छ । त्यसैले सरकारको पहिलो काम जनतालाई धनी बनाउन पहल गर्ने हो । 

धनी हुन वा धनी बनाउन श्रम, उद्यम, व्यवसाय, सेवा अनिवार्य सर्त हो । तर हाम्रो समाजमा केही मानिसलाई भोगको तृष्णा यति विधि छ कि श्रम, उद्यम, व्यवसाय, सेवा आदिको बाटो भएर आउने धनको धैर्यता नै छैन । त्यसैले एकदमै जोखिम मोलेर चाडै र धेरै धन कमाई हुने बाटोले आकर्षण गरी हाल्छ । समाजका कतिपय मानिसको यो मनोविज्ञान बुझेका धूर्त ठगहरू चाडै कमाई हुने लोभ देखाएर मानिसलाई फसाई रहेका छन् । ठगी रहेका छन् । कमजोर बुझाई भएका र लोभी मानिस यस्ता धुर्तको पासोमा फसिरहेका छन् । वैदेशिक रोजगारीका नाममा हुने ठगी, सहकारी ठगी, बैङ्क ठगी, लागु औषधीको पासो, सेवा विनाको दलाली, मिटर व्याजी आदि यसैका उपज हुन् । व्यक्ति व्यक्ति चाडै धनी हुने यी उपायहरू खुब फस्टाएका छन् । तर यो धन्धाले थोरै मानिसको आर्थिक फाइदाका लागि धेरै मानिसलाई लुट्ने, ठग्ने, झुक्क्याउने, फसाउने, बिगार्ने काम गर्छन् । हेर्दा केही मानिसले चमत्कारिक फाइदा गरेको देखिन्छ । तर, त्यो चमत्कारिक उन्नतिमा धेरै मानिसको पीडा लुकाएको हुन्छ । यस्ता ठगहरू मध्येका केही कहिलेकाहीँ कानुनको आँखामा पर्छन् र कारबाही भोग्छन् । 

यसरी गैर कानुनी बाटोबाट चाडै धनी हुन चाहनेका लागि  अवरोधको रूपमा कानुन हुन्छ । त्यसैले कानुन बनाउने र कानुन खेलाउनेहरूसँग यस्ता मानिस सम्पर्क विस्तार गर्छन् । सके आफै शक्तिमा पुग्ने र नसके आफूलाई सहयोग गर्नेलाई शक्तिमा पुर्‍याउने खेल खेल्छन् । त्यसका लागि ठुलै रकम खर्च वा लगानी गर्न तयार हुन्छन् । 

यी बाहेक नेपालमा केही उचन्तिका व्यवसाय फस्टाए । जस्तै घरजग्गाको व्यापार, सार्वजनिक निर्माण (ठेक्कापट्टा), अनुदान केन्द्रित व्यवसाय, नदीजन्य उत्खनन अर्थात् क्रसर उद्योग, म्यानपावर व्यवसाय, कन्सल्टेन्सी व्यवसाय आदि आदि । यस्ता उचन्तिका व्यवसाय ठगी त थिएनन् तर यस्ता व्यवसायको धरातल कमजोर थियो । यी व्यवसायको पारदर्शिता छदैछैन भने हुन्छ । पारदर्शी हिसाबले यी व्यवसाय गर्न खोज्नेले अहिले यी र यस्ता व्यवसाय टिकाउनै सकस छ । 

‘भ्रष्टाचार’ नवधनाढ्यहरुका लागि आफ्नो समृद्धिको राम्रो आधार बनेको छ । कानुन छलेर व्यवसाय गर्नेहरूका लागि भ्रष्ट नेता र भ्रष्ट कर्मचारी आवश्यक पर्छ । छोटो समयमा कानुन छलेर, ठगी गर्ने र उचन्तिको व्यवसाय गर्ने नवधनाढ्यहरुलाई कानुन बनाउने र कानुन खेलाउनेको सहयोग र सहकार्य आवश्यक हुन्छ । यस्ताको सहकार्यले ती दुवै वर्गको सेवा गर्छ र दुवै वर्गलाई नवधनाढ्य बनाउने काम गर्छ । 

देशमा बढेको आर्थिक मन्दीको प्रभावले ‘फियर‘ व्यवसाय गर्नेहरूका लागि समस्या थपिएको छ । कानुन बनाउने र कानुन खेलाउनेहरूलाई कुनै प्रभाव परेको छैन । म्यानपावर कम्पनी र कन्सलट्यान्सहरुको व्यवसाय फस्टाएकै छ । घरजग्गाका कारोबारी, सहकारीको रकम अपचलन गर्नेहरू, बैङ्क सहकारी र वित्तीय संस्थाबाट कर्जा लिएर दुरुपयोग गर्नेहरू बढी समस्यामा छन् । केही उचन्तीका व्यवसायीको कारोबार घटेको छ । आर्थिक मन्दीको बाछिटा लगभग सबै व्यवसायमा परेको छ । एक हिसाबले भन्दा यो आर्थिक मन्दीको कारणले हाम्रो समृद्धिको धरातल कस्तो छ त्यो देखाई दिएको छ । 

ठेक्कापट्टा, खरिदबिक्री, लेनदेन, नियुक्ति, अनुमति पत्र सबैतिर कमिसनको कमाई फस्टाउनु अप्राकृतिक समृद्धिको सूचक हो । यसले थोरै मानिसको समृद्धिका लागि धेरै मानिसको समृद्धिको बाटो छेकेका हुन्छन् ।  

 सरकारको राजश्व खुम्चिएको छ, वैदेशिक ऋणको भार बढेको छ । विकास खर्च थोरै त छ नै त्यो पनि लक्ष अनुरूप खर्च हुँदैन र खर्च गर्न असार पर्खिने चलन छदै छ । किनकि असारमा हतार हतार विकास खर्च गर्दा नै कानुन बनाउने, खेलाउने र उचन्तिका व्यवसाय गर्नेलाई फाइदा पुग्छ । 

माथि वर्णन गरिएको हाम्रो वर्तमान अवस्थाले हामीलाई समृद्धि तिर हिँडाउँदैन । यसले सत्तासँग दोस्ती गर्ने भुईँफुट्टा वर्ग जन्माउँछ । यस्तो पद्धति र यो वर्गले हजारौँको भागबाट खोसेर केहीलाई धनी बनाउँछ । यो  पुँजीवाद र सामन्तवादको विकृत अवशेष हो । यसलाई निर्ममतापूर्वक निषेध नगरेसम्म राष्ट्रिय पुँजी र स्वाभिमानी पूँजिपती वर्गको विकास हुँदैन । 

देशलाई समृद्धिको बाटोमा हिँडाउन ‘फियर’ व्यवसायी (राष्ट्रिय पुँजीपति वर्ग), पेसा प्रति इमानदार एवं व्यवसायीक कर्मचारी र दुरदृष्टि भएका इमानदार एवं प्रतिबद्ध राजनीतिक नेताको खाँचो पर्दछ । यो शतप्रतिशत हुनु एकदमै राम्रो कुरा हो तर यस्तो हुन लगभग सम्भव छैन । त्यसैले समृद्धी चाहनेहरू एक ठाउँमा हुन र एकले अर्कोलाई सहयोग गर्दै अनुकूल वातावरण बनाउन आवश्यक छ । फियर व्यवसायीको पक्षमा राज्य (कर्मचारी प्रशासन, अनुकूल नीति, मित्रवत् राजनीतिज्ञ) हुनुपर्छ । जब फियर व्यवसाय गर्नेहरूको उत्साह बढ्छ, काम हुन्छ तब देशमा रोजगारी बढ्छ, उत्पादन बढ्छ, राजश्वमा वृद्धि हुन्छ । यो नै समृद्धिको बाटो हो ।

समृद्धिको बाटोमा लाग्न युवालाई आशा जगाउने काम गर्नुपर्छ । युवामा मैले मेहनत गरे भने मैले गरेको काममा सफल हुन्छु भन्ने विश्वास जगाउन सक्नु नै आशा जगाउने काम हो । अहिले अवस्था कस्तो छ भने मैले जतिसुकै राम्रो गरे पनि मलाई चिनेर कसैले सहयोग गर्ने अवस्था छैन बरु चिनेको, पहुँच बनाउन सक्ने व्यक्ति मभन्दा निकै कमजोर भएर पनि उसले नै सहयोग पाउने, अवसर पाउने अवस्था छ । मेरो कोही पनि सहयोगी छैनन् । निष्पक्ष हुदैहुदैन । त्यसैले मैले यहाँ बसेर मेहनत गरेर के गर्नु बरु विदेश जान्छु । जे होला, होला ! भन्ने मानसिकता धेरै छ । त्यसैले सृजनशील र ऊर्जाशील व्यक्ति देशमा भविष्य खोज्न चाहँदैनन् । यहाँ हेपिएको, दलनमा परेको, अवसर पाउने कुनै सम्भावना नदेखेको मानिस कुनै तवरले विदेश पुगेछ भने उसको मेहनत र सृजनशीलताले उसैले नसोचेको सफलता पनि पाउन सक्छ । यो के कारणले हुन्छ ? यति कुरा बुझ्न र समाधान गर्न सके देशमा युवामा आशा जगाउन सकिन्छ । त्यो भनेको ‘युवा तिमी काम गर, मेहनत गर, सिक, सम्भावनाको खोजी गर तिमीलाई सरकारले सकेको सहयोग गर्छ । सहयोग गर्न सकेन भने पनि अन्याय गर्दैन, अन्याय हुन दिँदैन’ । यति वातावरण बनाउने हो मात्रै भने पनि युवामा आशा जगाउन सकिन्छ । यहाँ त पहुँच हुनेको मात्रै देश भयो । फियर भएर काम गर्न चाहनेका लागि अनेक अवरोध छन् । 

सबै प्रकारका ठगहरूलाई निर्ममतापूर्वक कारबाही गरेर जनता र देशलाई अन्याय हुनबाट जोगाउने काम गरौँ । बिना उद्यम, बिना श्रम, बिना सेवा अरूको लुटेर, सरकार ठगेर, अरूलाई छलेर आर्थिक समृद्धि हासिल गर्न चाहने जमातलाई तिमीले सोचेको र गरेको गलत छ भनेर अनुभूति गराउने र युवालाई समृद्धिको अभियानका लागि उद्यम, श्रम र सेवा नै एक मात्र बाटो हो भनेर सम्झाउन एवं बुझाउन सके देशले समृद्धिको यात्रा सुरु गर्छ । 

अहिले देखिएको केही मान्छेको समृद्धि सुन्निएको समृद्धि हो । यो जग नभएको घर जस्तै हो, कमजोर जरा भएको रुख जस्तै हो । यो कुनै पनि धक्काले ढल्न सक्छ । कोभिड पछिको आर्थिक मन्दीले यो थलिएको छ,  यसले धक्का खाएको छ । अझै यसलाई नसच्याउने हो भने भविष्यमा अझै ठुलो धक्का खान तयार हुनुपर्छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा प्रधानमन्त्री भएको पालामा आएको नारा हो ‘सुखी नेपाली समृद्ध नेपाल’ । अहिले फेरी बलियो जनमत सहित प्रधानमन्त्री बन्ने अवसर पाउनु भएको छ । देश बनाउने, देशको विकास गर्ने हुटहुटी समकालीन नेताहरूमा सबैभन्दा बढी वहाँलाई नै छ । अनुभवी हुनुहुन्छ, अध्ययनशील हुनुहुन्छ । युवाहरूमा आशा जगाउने काम गर्नु भएको छ, त्यो क्षमता राख्नु हुन्छ । यो पटक अब सुशासन र निष्पक्षतालाई व्यवहारमा प्रयोग गरेर युवाहरूमा आशा र भरोसा जगाउने काम हुन्छ नै । मेरै पालामा, मैले नै गरेर देश बन्छ, मेरो भविष्य मेरै देशमा खोज्ने छु भनेर श्रम, व्यवसाय, पेसा र कर्ममा लाग्नेहरूको सम्मान, विश्वास एवं भरोसा गरेर दिगो समृद्धिको आधार खडा गरौँ ।    

 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  २ : १९ बजे