साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

प्रतिफल मात्रको महत्वाकांक्षा व्यक्तित्व विघटनको कारक

विश्वमा पुरानो भाषामध्येको एक संस्कृतमा सृजित ‘श्रीमद्भगवद्गीता’ हिन्दु धर्मको पवित्र ग्रन्थ मानिन्छ । एकथरीले ‘भगवानको गीत’ को रूपमा विश्वास गर्ने यस ग्रन्थका श्लोकहरू घनिभूतरूपमा छलफल मात्र हुँदैनन्, बरु कतिपय श्लोकहरू त बेजोडरूपमा प्रचलित र लोकप्रिय पनि छन् । कर्मयोग, ज्ञानयोग र भक्तियोगका विषयमा कृष्ण र अर्जुनका बीचमा कुरुक्षेत्रको युद्धमैदानमा भएको वार्तालापको परिणामस्वरूप जन्मिएको अठार अध्यायमा विभक्त ‘गीता दर्शन’ मा प्रवाहित सन्देशहरूका विषयमा मतैक्यता नहुन सक्छ तर ठूलो जनसंख्याले अहिले पनि यसलाई अपनाउने प्रयास गरिरहेको र अन्यलाई समेत यसतर्फ झुकाव बढाउन कोशिस भइरहेको स्पष्ट नै देखिन्छ । तिनै श्लोकहरूमध्ये एउटा त्यस्तो श्लोक पनि छ, जो पूर्वीय सभ्यतामा हजारौँ वर्षदेखि व्यापक रूपमा चर्चामा रहेको छ । त्यो हो—

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।। ४७ ।।
नेपालीमा यसको अनुवाद हुन्छ—

​​​​​​​तिम्रो अधिकार कर्म गर्नुमा नै छ, त्यसको फलमा कहिल्यै छैन । यसर्थ तिमी कर्मफल प्राप्तिका कारण नहोऊ र कर्म नगर्नुमा पनि तिम्रो आसक्ति नहोस् । 

आखिर उक्त दुई हरफका कवितामा के त्यस्तो शक्ति र सन्देश छ, जसले संसारकै ध्यान खिचिरहेको छ ? यो श्लोक विद्यालयदेखि विश्वविद्यालयसम्म र धार्मिक समारोहदेखि राजनीतिक सामाजिक कार्यक्रमसम्म उधृत गरेको सुनिन्छ र देखिन्छ । खासगरी मानिसहरूले उक्त उक्तिलाई त्यसबेला बढि चर्चा गर्दछन् जुनबेला मानिसले गर्ने कर्मलाई थप प्रभावकारी, निस्वार्थी र प्रतिष्ठित बनाउनु पर्ने प्रसंग आउँदछ । अनि जतिबेला सामाजिक राजनीतिक क्षेत्रमा समस्याहरू बल्झिन्छन् र त्यसको निराकरणका निम्ति प्रयासहरु भइरहेका हुन्छन् । त्यसकारण यस श्लोकले आत्मसात गरेको सन्देशका बारेमा चर्चा गर्नु सान्दर्भिक नै हुन जाने देखिन्छ ।    

संसारमा मूलरूपमा भौतिकवादी र अध्यात्मवादी दर्शन छन् भन्ने कुरा स्वीकार गर्ने हो भने ‘गीता’ अध्यात्मवादी दर्शन हो । ईश्वरले जीवन र जगतको सृष्टि गरेको कुरामा यसले प्रकाश पारेको छ । यस अर्थमा भौतिकवादीहरू त्यसका आदर्शवादी दृष्टिकोणहरूका विरुद्धमा हुनु स्वाभाविक हो । यस ग्रन्थले राज्य सञ्चालनका दृष्टिकोण, नेतृत्वपुञ्जको कर्तव्य तथा दायित्व, समाजिक अगुवाको नैतिकता र इमान्दारिता तथा परिवारमा व्यक्तिको भूमिका, आचार तथा व्यहारजस्ता कुराहरू औँल्याएको छ । त्यहि भएर यस ऐतिहासिक दस्तावेजका श्लोकहरूका बारेमा छिपछिपे जानकारी लिएर मात्र काम नचल्न सक्छ । त्यसै पनि परम्परागत मानव व्यवहारका सिलसिलामा आर्जित ज्ञानसम्पदाका बारेमा अन्तरक्रिया चलाउनु सान्दर्भिक नै हुन्छ ।  

समग्रमा ‘गीता’ एउटा प्राचीन युद्धको कथा हो । यो कर्म गर्न जागृत गर्ने वा उराल्ने तर फल प्राप्तिको दिशामा प्रायः निष्पृह रहन शिक्षा दिने ग्रन्थ हो । भनिन्छ, दाजु धृतराष्ट्रका दूर्योधनसहितका सन्ततीहरू कौरवपक्ष र भाई पाण्डुका अर्जुनसहितका सन्ततीहरू पाँच पाण्डवपक्षका बीच राज्यसत्ता प्राप्तिको विषयलाई लिएर आजभन्दा ५ हजार वर्ष पहिले महाभारतकालमा उक्त युद्ध १८ दिन चलेको थियो । भन्न सकिन्छ, यस ग्रन्थको जन्म लडाइँका निम्ति नै भएको थियो । 

त्यसो त यो एउटा वास्तविक युद्धसम्बन्धी घटना नभई उत्पन्न हुने वा हुनसक्ने मानसिक परिवेशको परिकल्पना गरेर ज्ञान प्रवाहको निम्ति सिर्जना गरिएको हो । यस ग्रन्थमा वर्णित वचनहरू मूलतः आफ्नै नाताकुटुम्बका विरुद्ध युद्धमैदानमा लड्न हिच्किचाइरहेका वा द्विविधामा परेका अर्जुनलाई कृष्णले युद्ध कर्मबाट पछाडि नहट्न दिएका उपदेशहरू हुन् । कृष्णले परिणाम होइन कर्मप्रति अर्जुनलाई सचेत गराएका हुन् । अन्यायका विरुद्ध भन्दै भौतिक रूपमै लडाई गर्नका लागि कृष्णले अर्जुनलाई उत्पे्ररित गरेको विषय त्यति शान्तिप्रिय होइन कि भन्ने पनि लाग्न सक्छ तर लोकतन्त्र र मानव अधिकारका अवधारणाहरू विकसित भइनसकेका र गणराज्यहरू बन्ने र भत्किने क्रम तीब्ररूपमा चलिरहेको त्यसबेलाको परिवेशमा हिंसाजन्य कार्य स्वाभाविक पनि थियो कि ?  

गुरु तथा घनिष्ट मित्रहरू विपक्षी सैनिकका पक्षमा लामबद्ध भएर लडाइँको मैदान देखेपछि शोक र करुणाले विव्हल भइ आफ्नो शक्ति गुमाएका अर्जुनलाई युद्धकार्यका निम्ति संकल्प गर्न सक्षम तुल्याउने प्रवचन नै ‘गीता’ हो । यो नेतृत्वकर्मका निम्ति सु¥याउने एउटा अद्भूत कविता हो । कृष्ण र अर्जुनका बीचको यो वार्तालाप मानव इतिहासको एउटा दार्शनिक अन्तरक्रिया हो । 

सचेत प्राणीको कार्य उद्देश्यमूलक वा लक्ष्यमूलक हुन्छ नै । यस अर्थमा अरु प्राणीको भन्दा नितान्त फरक ढङ्गको सक्रियता मानवको हुन्छ । मानसिक अवस्था स्वस्थ्य भएको मानिसले कार्यको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन परिणाम के कस्तो आउँछ अनुमान गर्न सक्दछ । प्राणी, चराचुरुङ्गी र कीटपतङ्ग जस्तो कि भेडा, हाँस तथा माहुरीले समेत अगुवाइ गरेर आफू सुरक्षित रहन र खानेकुरा जम्मा गर्न प्रयासहरू गरिरहेका हुन्छन् । मानिस बाहेक अरु जीवका यस्ता गतिविधिलाई भने प्रकृतिको संयोगको रूपमा लिने गरिएको छ । मानिसको चिन्तन गर्नसक्ने विशिष्ट क्षमता भएकाले नै सही के हो र गलत के हो छुट्याएर मात्र कार्य गर्नुपर्ने हुन्छ । क्षणिक आवेग, उत्तेजना र व्यक्तिगत फाइदाको बसमा परेर गरेको कार्य कदापि दिगो हुँदैन । यस अर्थमा समाजोपयोगी गतिशिलताका निम्ति उक्त ग्रन्थले मानिसलाई सही प्रथप्रर्दशन गर्न सक्दछ भन्ने भनाई रहेको छ । 

यस धर्तीमा जन्म लिएपछि सामाजिक जीवनका विविध क्रियाकलापमा सहभागी हुन पाउनु मानिसको अधिकार हो । यस्तो नैसर्गिक हकको उपभोग गर्दा अरुको हकको अतिक्रमण भने गर्नु हुँदैन । मानवलाई प्राप्त भएको कर्म गर्ने अधिकारको सदुपयोग सामाजिक मूल्य–मान्यता एवं आचारको परिधिभित्र रहेरै गर्नु पर्दछ । यस सत्कर्ममा लिन हुँदा व्यक्तिलाई स्वतः प्रतिफल प्राप्त हुन्छ भन्ने कुरा सचेत प्राणीले बुझेको हुनु पर्दछ । प्रतिफलप्रति ¥याल मात्र काढिरहने हो भने न त गरिने कर्म प्रभावकारी हुन्छ न त उपलब्धीको उपयोगिता विस्तारित र सार्थक हुनसक्छ । 

उक्त श्लोकले प्रवाह गर्न चाहेको एउटा अर्को सन्देश असल कार्य गर्न संकल्प गर्नुपर्दछ भन्ने हो । फलप्रतिको आशक्तिले मानिसमा चरम महत्वाकांक्षा जन्माउँछ र त्यस्तो मनोदशाबाट गरिएको कार्य पनि सफल हुन सक्दैन र समाजमा पनि त्यसले ऊप्रति आक्रोश नै पैदा गर्दछ । फलस्वरूप समाजमा अशान्ति र अराजकता मौलाउँछ । फल प्राप्तिको इच्छा र चाहनालाई जोड दिने हो भने कार्यमा लगनशीलता रहँदैन । अन्ततः व्यक्तित्वको विघटन नै हुन पुग्दछ ।  सक्रियताले अस्तित्वको निर्धारण गर्दछ भन्ने भौतिकवादी दृष्टिलाई मनन गर्ने हो भने पनि उक्त श्लोकको सन्देशले बोकेको सारलाई केहीहदसम्म आत्मसात गरेको पाइन्छ । 

‘गीता’ ले कर्ममयोगको दर्शनलाई आत्मसात गर्दै मानवीय सक्रियताको भावना जागृत गर्दछ । धर्तीको हरेक मानिसमा यो संभावना हुन्छ कि, ऊ कर्म गर्न सफल नै हुन्छ । मानवीय चेतनाद्वारा गरिने यस्तो सक्रियताले अन्ततः प्रतिफल नै उपलब्ध गराउँछ । अर्थात् उक्त श्लोकले नेतृत्व लिन चाहनेले प्रतिक्षा गर्न सिक्नु पर्दछ भन्ने पनि सन्देश प्रवाह गरिरहेको छ । गरेको कर्मको फलप्रति घमण्डले फुल्ने होइन गर्वले ओतप्रोत हुनुपर्दछ । यसबाट समाजमा शान्ति, सहिष्णुता र सद्भावपूर्वक रहन एक किसिमको व्यवस्थापन गर्न सिकाउँछ । 

कर्तव्यप्रति लगाव राखेर कार्य गर्दा अवश्य नै प्रतिफल प्राप्त हुन्छ ।  त्यसो त गरेको कार्यले सधैँ फल नै दिन्छ भन्ने पनि हुँदैन । कहिलेकाहिँ असफलताले पाठ मात्र पनि सिकाउँछ । यो पनि एक किसिमको उपलब्धी नै हो । प्रतिफलप्रतिको तीब्र लालसाले सक्रियतामा आलश्य निम्त्याउँछ । त्यसो त कर्म गर्नु मानिसको प्रकृति हो । त्यसैले आफ्नो पेशा, व्यावसाय र समाजसेवाका क्षेत्रमा गर्नुपर्ने कर्ममा लिन भएर लाग्नुपर्दछ । 

उक्त उक्तिको अर्को महत्वपूर्ण सन्देश कुनै कामप्रति निष्क्रिता नजनाउनु भन्ने पनि हो । काममा अप्ठ्यारो, अलमल र बाधाले निष्क्रिय हुने होइन बरु समाधानका उपायहरू खोज्नु पर्दछ । असल कर्मप्रति निरासा जनाउने र पर हट्ने होइन बरु समाधान खोज्ने भन्ने नै हो । युद्ध मैदानमा लड्न दुबै पक्ष तम्तयार भएर तनावको परिवेश सिर्जना भइरहेको अवस्थामा समेत शान्त एवं सौम्य किसिमले जीवन र जगतका विषयमा उठेका सवालका जवाफहरू खोज्ने ‘गीता’ को यो सन्देश सान्दर्भिक छ ।

माथि उल्लेख गरिएको श्लोकको उचित ज्ञान र बुझाइले मानव जीवनमा उत्पन्न समस्या समाधान गर्न, निस्वार्थभावका साथ कार्य गर्दै प्रगति र समुन्नति हासिल गर्न, सक्रियता नत्याग्न महत्वपूर्ण सन्देश प्रवाह गरिरहेका छन् । यी अमर सन्देशहरूलाई आत्मसात गर्दै कर्तव्यपथमा कर्म गर्न लागिपर्ने अगुवा र नेतृत्वले नै समाजको रूपान्तरण गर्न सफल हुनेछ । नीतिहरूमा सबैभन्दा जेठो नीतिको रूपमा ठानिएको राजनीति गरिरहेका नेता र राजनेताहरूले त झनै उक्त श्लोकको मर्मलाई गम्भीरतापूर्वक आत्मसात गदै अघि बढेको खण्डमा श्लोकको मर्म चरितार्थ हुनेछ । 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ११ : २० बजे