सुनको मूल्यमा नयाँ कीर्तिमान

वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर दार्चुलाको नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बिहीबार नौगाड गाउँपालिका–३ खार नजिकै चौखुट्टेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जना र पहिरोमा परेर एक जनाको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्न र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्न र सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

यसैगरी पहिरोले नौगाड गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजनाका सबै संरचना बगाएको उहाँले बताउनुभयो । साथै बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीन वटा निर्माणधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि बगाएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनुभयो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  २ : ५१ बजे