सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले कार्यदलको बैठक आजपनि बस्दै, त्यसपछि दुई शीर्ष नेता बसेर विवाद टुंगो लगाउने

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि आज पनि कार्यदलको बैठक बस्दैछ । दिउसो साढे ११ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो ।
कार्यदलमा संस्थापन पक्षका संयोजक सुवासचन्द्र नेम्वाङका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच हिजोको वार्तापछि विकसित अवस्थामा कार्यदलले थप गृहकार्य गर्नेछ । ‘कार्यदल आफ्नो काममा अविचलित ढंगले लागेको छ ’ नेम्वाङले भन्नुभयो ‘हिजोको विकसित घटनाक्रमलाई लिएर आज थप छलफल गर्छौं । सकेसम्म आज सबै कुरा टुंगोमा पुग्छौं ।’

हिजोको वार्ताका बिषयमा अनेका खालका टिप्पणी भए पनि सकारात्मक भएको नेम्वाङले बताउनुभयो । आज पनि दुई नेताको भेटघाट हुनसक्ने उहाँको भनाइ छ । पार्टी मिल्न नदिने समुहले नकारात्मक हल्ला फैलाएको उहाँले बताउनुभयो। आज साँझसम्ममा विवादका धेरै बिषय टुंगिएर अध्यक्ष ओली र नेता नेपालको संयुक्त विज्ञप्ती आउनसक्ने नेम्वाङले जानकारी दिनुभयो ।

हिजो राती अवेरसम्म दुई नेताबीच छलफल भएको थियो । बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले पनि वार्ता सकारात्मकपूर्णरुपमा अघि बढेको बताउनुभयो । उहाँले आज कार्यदलको बैठक बस्ने र त्यसपछि दुई शीर्ष नेता बसेर विवाद टुंगो लगाउने दाबी गर्नुभयो ।

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : ३४ बजे