सुनको मूल्यमा नयाँ कीर्तिमान

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । 

जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उहाँले बताउनुभयो । 

बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो । 

सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ । 

पहिराले सयौँ सवारी साधन रोकिएका छन् । रासस
 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ८ : ०० बजे