सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

राप्ती नगरपालिकामा कफ्र्यु आदेश जारी

चितवन – सुजाता भण्डारी मृत्यु प्रकरणमा स्थानीयसँग झडप हुँदा आठ प्रहरी घाइते भएका छन् भने प्रशासनले उक्त क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । पूर्वी चितवनको राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग र आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो ।
 
    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५०० मिटरभित्र पर्ने सबै क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो ।
 
    भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिले राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुङ्गामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलदङ्गा गरी सार्वजनिक शान्ति भङ्ग गर्न सक्ने अवस्था देखिएकाले कफ्र्यु आदेश जारी गरिएको जनाइएको छ ।
 
    राजमार्गमा लामो दूरीका सवारीसाधन सञ्चालन बाहेक कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क (१) बमोजिम कफ्र्यु आदेश जारी गरिएको हो । आदेश अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने जारी आदेशमा उल्लेख छ ।
 
    यसैबीच, प्रदर्शनकारी र प्रहरीबीच आज साँझ झडप हुँदा आठ प्रहरी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले दिनुभएको जानकारी अनुसार सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षकसहित चार जना र नेपाल प्रहरीका चार जना घाइते भएका छन् ।  घाइतेको उपचारको लागि भरतपुर ल्याइएको छ ।
 
    असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिताको शव आइतबार साँझ घरबाट करिब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो । उनको शव आज नै परीक्षणका लागि काठमाडौँ पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रासस

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १० : ०१ बजे