सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले कार्यदलको बैठक सकियो, अर्को बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एमाले कार्यदलको आजको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा हिजोभन्दा केही प्रगति भएको बताइएको छ । 

दोस्रो चरणको दोस्रो दिन बसेको बैठकमा पार्टीभित्रको विवादबारे विषयगत छलफल भएको बताइएको छ । बैठक सकारात्मक ढंगले अघि बढेको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो ।

‘बैठक सकारात्मक ढंगले अघि बढेको छ । पार्टीभित्र देखिएका विवादका सन्दर्भमा केन्द्रीत रहेर छलफलको सुरुवात भएको हो’, विष्टले भन्नुभयो, ‘आजको बैठकमा सदस्यहरूले आ–आफ्ना धारणा राखेर छलफलको सुरुवात गर्नुभयो । यो छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।’ गएको शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार  साँझसम्मको ‘अल्टिमेटम’ दिएको थियो । तर, वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन । अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्युँताएर पार्टी विवाद हल गर्न छलफल सुरु भएको छ ।

कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : २६ बजे